Shittalpati
नजिकिँदो चाडपर्व र बढ्दो महँगी

नेपालीहरूका घर आँगनमा  महान चाडपर्वहरू आउँनै लागेका छन् । महिलाको महान् पर्व तिज, पञ्चमी, विश्वकर्मा पूजा जस्ता पर्व मनाई सकिएको छ भने दसैं, तिहार र छठ पर्व नजिकिँदो छ । विदेशिएका परिवारका सदस्य पनि चाडपर्व मान्नैका लागि जहाँ भएपनि घर फर्कने गर्छन् । पारिवारिक भेटघाट जमघटका लागि यो सुनौलो अवसर पनि हो । यसैगरी मानिसहरू खाइनखाइ बनिबुतो गरेरै भएपनि पर्वका लागि जोहो गरेर राख्छन् । चाडपर्वमा जीवनमा जति दुःखकष्ट भोगे पनि त्यसलाई बिर्सेर सुखको अनुभूति गर्ने प्रयास गरिन्छ, तर पर्वहरु नजिकिन थालेसँगै बजारमा महँगीले उपभोक्तालाई थप सकस बनाएको छ । नयाँ लुगा लगाउने, मीठो खाने चाडका रूपमा समेत परिचित दसैं, तिहार व्यापार व्यवसाय गर्नेहरूका लागि सबैभन्दा ठूलो सिजन हो । त्यस कारण पनि व्यापारीहरुले मनलाग्दी खाद्यान्नको मूूल्य बढाउने गर्दछन् । व्यापारीले मनपरी मूल्य वृद्धि गर्दासम्म सरकारले यसतर्फ ध्यान दिएको छैन ।

दसैं–तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य दिनहुँजसो उकालो लागिरहेको छ । अहिले चिनीको मूल्य अध्याधिक बढाइसकिएको छ । प्रतिकिलो १ सय रुपैयाँ हाराहारीमा बिक्री भइरहेको चिनी अहिले नै १ सय ३० रुपैयाँसम्म पुगेको छ । चिनी सबैभन्दा बढी खपत तिहारमा हुने गर्छ । चिनीपछि अहिले हरियो तरकारीको मूल्य बढाइएको छ । तरकारीमा सबैभन्दा सस्तो मानिने बन्दा र मुलाको मूल्य पनि छोइनसक्नु छ । अहिले बन्दाको थोक मूल्य नै ६५/७० रुपैयाँ पुगेको छ । गत वर्ष यतिबेला बन्दा प्रतिकिलो १२/१५ रुपैयाँमा पाइन्थ्यो । यस्तै गत वर्ष ४० रुपैयाँ भएको लोकल मुला बजारमा १ सय ५० देखि २ सयसम्ममा बेचिएको छ । यी दुई मात्र होइन, अन्य सबै तरकारीको मूल्य पनि अकासिएको छ । गोलभेंडा, आलु, प्याज, काउली, फर्सी, घिरौंला, काँक्रो लगायत सबैको मूल्य बढाइएको छ । मौसम सुरु नभएको बहानामा हरियो सागको मूल्य पनि उच्च छ । खासमा अहिले तरकारीको मूल्य बढ्नुपर्ने कारण केही देखिँदैन । चाडपर्व सुरु भइनसकेको अवस्थामा यसको माग पनि बढिसकेको छैन । तैपनि विभिन्न बहाना पारेर महँगो बनाउने खेल रोकिएको छैन । यसरी मूल्य बढाइनुले मुलुकमा सरकार छैन भन्ने सन्देश गएको छ । विगतमा पनि उद्योगी–व्यापारीहरूले चाडपर्वका बेला खाद्यन्नको मूल्य बढाउँदै आएका थिए । त्यसलाई अहिले पनि निरन्तरता दिएका छन् । यसलाई नियन्त्रण गर्ने विषयमा सरकार बेखबर जस्तै भएको छ । सरकारले चाहे यस्तो मौसमी महँगी नियन्त्रण गर्न सजिलो छ तर विडम्बना, बजार अनुगमन गर्ने सरकारी संयन्त्र नै व्यापारीसँग मिलेको छ । जसले गर्दा आमनागरिक महँगीको मार खेप्न बाध्य भएका छन् । यस विषयमा सरकारले गम्भीर भएर सोच्न जरुरी छ । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update