लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको जोखिम कायमै छ । असोज महिनाको पहिलो हप्ता वितिसक्दा समेत डेंगुका विरामीहरुको अस्पतालमा चाप देखिन्छ । डेंगु संक्रमणको जोखिम जुलाईदेखि सेप्टेम्बरसम्म उच्च हुने भनिएको छ । डेंगु रोग एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगु ज्वरो भएका बिरामीलाई एडिस जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मान्छेलाई टोक्दा डेंगु रोग सर्छ । दिउँसो सक्रिय हुने र शरीरमा सेतो छिरबिरे धर्काहरू हुने लामखुट्टे एडिस जातको लामखुट्टे हो । यो लामखुट्टे सामान्यतया एक महिनासम्म बाँच्छ । लार्भा एक सातामा लामखुट्टे बनेर थप फैलन्छन् । एक महिनासम्म बाँच्ने लामखुट्टेले अरुलाई पनि टोक्ने संभावना रहन्छ । डेंगुले महामारीको रुप नल्याओस् भन्नका लागि बेलैमा खोज र नष्ट गर अभियान सञ्चालन गर्नु पर्ने हो तर यतातिर ध्यान दिएको पाईदैन । सरकारी संयन्त्रहरूको अक्षमता र नागरिक स्वजागरणको अभावका कारण अवस्था जटिल बन्दै गएको छ । त्यसैले यस्ता लार्भा, प्यूपा हुनसक्ने सम्भावित ठाउँ खोजेर नष्ट गर्नुको विकल्प छैन ।
देशमा तीन तहको सरकार छ तर, डेंगुले भयावह रूप लिँदा पनि तीनै तहका सरकार मौन छन् । कोरोना कहरका बेला संघीय, प्रदेश तथा स्थानीयलगायत तीनै तहका सरकारले पहिलो चरणमा नै हेलचेक्रयाइँ गरेका कारण मृत्युदर बढेको स्मरण गरेर पनि डेंगु नियन्त्रणमा सरकारहरू चनाखो हुनुपर्ने हो तर उनीहरुका लागि महामारीभन्दा राजनीति प्यारो छ । लोकप्रियतावादको सिकार भएका तीनै तहका सरकार नागरिक डेंगु संक्रमणबाट ग्रसित हुँदा समेत ठोस कदम चाल्न नसक्नु विडम्वनाको कुरा हो । डेंगु नियन्त्रणका लागि केही ठाउँहरुमा अभियान चलाइए पनि फिक्का बनेका छन् । बेलैमा आवश्यक सावधानी नअपनाउने र नियन्त्रणको प्रभावकारी पहल नगर्ने हो भने यसले अझ भयावह रूप लिन धेरै समय लाग्दैन । तसर्थ अझै पनि डेंगु संक्रमणको जोखिम कायमै रहेकाले त्यसबाट बच्न बेवास्ता होइन सर्तकता अपनाऔं ।