नेपाली राजनीतिक चरित्रको कुरा गर्दा पुराना दलहरु प्रतिको वितृष्णा अहिले दिन प्रति बढ्दै गएको छ । मुलुकको आर्थिक अवस्था कमजोर हुँदै जादा राजनीतिक दलहरु त्यसतर्फ गम्भीर बन्नुपर्नेमा सत्ता र शक्तिको मोहमा तछाडमछाड गर्न व्यस्त छन् । समस्याको पहिचान गर्नेतर्फ ठूूलादलका नेताहरुको ध्यान जुन रुपमा जानुपर्ने हो त्यो रुपमा नगएको अवस्थाप्रति आम नागरिक चिन्तित छन् । अहिलेको अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको छ । यसले अबको मुलुक हरेक किसिमका समस्याबाट उन्मुक्त नभएको आभास गराएको छ । अहिलेको अवस्थामा सरकार चलाउँने प्रक्रिया र प्रतिपक्षको भूमिका कुनै पनि रुपमा प्रभावकारी देदिखैनन् । सरकार जनता र जनताका समस्या समाधान र पहिचान समेत गर्न चाहेको देखिदैन । यो अत्यन्त दुखको कुरा हो । विभिन्न खालका समस्याहरुको समाधानका लागि सरकारले दिनुपर्ने ध्यान कहि कतैबाट पनि हुन नसके पछि दिन प्रति दिन नेपाल र नेपालीहरु पुरानादलहरुसँग निराश भएका छन् ।
लोकतन्त्रका न्यूनतम मूल्य र मान्यताका स्वरुपलाई सरकार र प्रतिपक्ष कसैले पनि जनता प्रति उत्तरदायित्वबोध गरेको देखिदैन । गरीबी र अशिक्षाको पहाडलाई सम्याउँने नाममा ठूूलावडा र सम्पन्न व्यक्ति अनि परिवारको मात्रै पहुँचलाई प्राथमिकता दिदै जानु आफैमा दुःखद् अवस्था हो । सरकारले आफै घोषणा गरेका आफ्ना नीति र कार्यक्रमप्रति फर्केर पुर्नविचार गरी कार्यान्वयन भए नभएको हेर्ने र त्यसको समीक्षा गर्ने बानीको विकास भएको छैन । त्यस कारण पनि समस्याहरु झन् भन्दा झन् थपिएका हुन् । सरकारमा सधैँ बसी रहनुपर्ने अनि जनताका समस्याहरु प्रति वास्तै नगर्नु गलत हो । नेता र दल आर्थिकरुपमा बलिया हुँदै जाने र देश कमजोर हुने अवस्थाको अन्त्यका लागि नयाँ सोंचका साथ दलहरु अगाडि बढेनन् भने देशले फेरि पनि अस्थिरता बाहेक केही पाउँन सक्दैन । तसर्थ जनताको समस्याप्रति संवदेनशील र राजनीतिक स्थिरताका लागि राजनीतिक दलहरु सुुधारिएर जान जरुरी छ ।