Shittalpati
औपचारिकतामै सिमित नहोस् सूचनामा पहुँच दिवस

कुनै पनि सूचना पाउने हक नागरिकको मौलिक अधिकार हो । त्यो नेपालको संविधानले नै व्यवस्था गरेको छ । सबै नागरिकको पुहँचमा सुुचना पुुर्‍याउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २८ मा अन्तर्राष्ट्रिय सूचनामा पहुँच दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर यो दिवस मनाइँदै छ । वास्तवमा यो दिवस सुरुमा युनेस्कोले सूचनामा पहँुच दिवसका रूपमा मनाउन थालेको हो । सन् २०१५ को नोभेम्बरमा भएको युनेस्कोको साधारणसभाले यसलाई अङ्गीकार गर्‍यो र सन् २०१६ सेप्टेम्बर २८ बाट यसलाई त्यही रूपमा मनाउन थालियो । त्यसो त २००२ देखि थाहा पाउने अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको थियो । विश्वमा सूचनाका अधिकारसम्बन्धी कानुन बन्दै जाँदा यी अन्तर्राष्ट्रिय दिवसका नाममा पनि परिवर्तन हुँदै आएका छन् । सूचनामा नागरिकको पहुँच बढाउन प्रेरित गरिने दिवसका रूपमा मात्र नभई, सूचना भनेको विश्वव्यापी अधिकार हो भन्ने सन्देश दिनका लागि यो दिवसलाई मान्यता दिइएको हो ।

आजको युग सूचनाको युग हो । ‘ज्ञान नै शक्ति हो’ भन्ने भनाइ ‘सूचना नै शक्ति हो’ भन्नेमा परिवर्तित भइसकेको छ । विश्वले सूचनालाई नै ज्ञानको रूपमा आत्मसात् गरेको छ । धेरै राष्ट्रले सूचनाको हकलाई अभिव्यक्ति स्वतन्त्रताको हकसँगै अगाडि बढाएको पाइन्छ । मानव अधिकारको विश्वव्यापी घोषणाले समेत सूचनाको हकलाई नैसर्गिक मानव अधिकारको रूपमा परिभाषित गरेको छ तर, सूचनाको हकको प्रयोग अपेक्षाकृत व्यापक र व्यवस्थित रूपमा भने हुन सकिरहेको छैन । सूचनाको हकसम्बन्धी ऐनको उद्देश्य साकार बनाउन राज्य संवेदनशील हुनैपर्दछ । यसो भएमा नै लोकतन्त्रको सुदृढीकरण र जिम्मेवार राज्य व्यवस्थाको निर्माण हुन्छ । सूचना माग्नु र पाउनु व्यक्तिको हक हो भने सूचनाको व्यवस्थापन गर्दै सो कुराको जानकारी सर्वसाधारणमा प्रवाह गर्नु सार्वजनिक निकायको दायित्व र कर्तव्य हो । तसर्थ सूचनाको हक सम्बन्धी व्यवस्थालाई पूर्णरूपमा कार्यान्वयन गर्न सके सार्वजनिक निकायको पारदर्शिता र उत्तरदायित्व संस्थागत भई सुशासन प्रवद्र्धनमा सहयोग पुग्नेछ । तसर्थ सबै नागरिकमा सहज रुपमा सूचनाको पहुँज पुर्‍याउन सकियो भने मात्र सूचनामा पहुँच दिवस मनाउनुको सार्थकता रहन्छ । अन्यथा दिवस औपचारिकतामै सिमित नहोला भन्न सकिदैन ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update