Shittalpati
मुटु स्वस्थ राख्ने प्रण गरौं

हरेक बर्ष सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसको रुपमा मनाइन्छ । आज पनि यो दिवस मनाइँदै छ । यसको प्रमुख उद्देश्य भनेको मुटुरोगबाट जनचेतना जागृत गराउने हो । संसारभर मुटुरोगीको संख्या बढिरहेको अहिलेको अवस्थामा आफ्नो स्वास्थ्य र जीवनशैली सम्बन्धी ज्ञानले मुटुरोगबाट बच्न या सावधान हुन सकिन्छ । मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरदेखि बुकलेट, पम्प्लेट तथा सञ्चार माध्यबाट आमजनताको जनचेतना अभिवृद्धि, मुटु रोग विशेषज्ञहरुको विभिन्न तहमा छलफल, गोष्ठी तथा सेमिनार सञ्चालन लगायत नयाँ रणनीति तय गर्ने कार्य पनि यसै समयमा प्राथमिकतामा पर्छन् । मुटु दिवस मनाउनुको उद्देश्य केवल शिविर, गोष्ठी वा सेमिनार गर्नु होइन, मुटुरोगबाट कोही गुज्रनु नपरोस् भन्ने हो, तर पछिल्लो समय खानापान र अस्तव्यस्त जीवन शैलीका कारण मुटु रोगीका विरामीहरु बढ्दै गएका छन् ।

सहरियामा बढी देखिने गरेको मुटुरोग अहिले गाउँमा  समेत भित्रिएको छ । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँ–गाउँमा देखिन थालेको हो । मुटु रोग लाग्न नदिन कस्तो खाने कुरा खाने र के कस्ता विषयमा ध्यान दिने भन्ने ज्ञान नभएका कारण पनि अहिले मुटु रोगको प्रकोप बढ्दै गएको छ । यो रोगबाट बच्न कुनै ठूलो काम गर्नु पर्दैन । जीवन शैलीमा साधारण परिवर्तन ल्याएर मात्रै पनि यसको जोखिम घटाउन सकिन्छ । चुरोट खान छाड्नुपर्छ । चिल्लो, गुलियो नखाएर सादा खाना, हरियो परियो तरकारी, फलफूल सेवन गर्नुपर्छ । कम्तीमा ३० मिनेट व्यायाम गर्नुपर्छ । आफ्नो वजन ठीक राख्नुपर्छ । रक्तचाप र मधुमेह छ भने त्यसलाई नियन्त्रणमा राख्नुपर्छ । अनावश्यक चिन्ता गर्नु हुँदैन, आफूसित जे छ त्यसैमा रमाएर हाँसीखुसी बाँच्न सिक्नुपर्छ । घरपरिवार र समाजमा एउटाले अर्कोलाई सहयोग पु¥याउने, मद्दत गर्ने, आफ्नो भन्ने भावना जगाउने गर्नुपर्छ । रोगको निदान र उपचार पद्धति महँगो भएपनि यसबाट बच्ने उपाय अपनाउन एक पैसा पर्दैन, खाली आफूले प्रण गरे पुग्छ । यसर्थ मुटु दिवसका दिन मुटु स्वस्थ राख्ने प्रण गरौं । यसो गर्न सकियो भने दिवसले सार्थकता मात्र पाउँदैन मानिस धेरै हदसम्म मुटु रोग हुनबाट बच्न सक्छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update