धर्मशास्त्र तथा शास्त्रीय मान्यतामा चन्द्रमानको पात्रोअनुसार वर्षमा २४ पक्ष हुन्छन् । आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । जुन आजदेखि सुरु भएको छ । यसमा दिवंगत सबै पितृहरूको कल्याण उद्देश्य राखेर पिण्डदान गरिन्छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अन्तर्गत पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आजदेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । १६ दिनको यो पितृपक्षमा पितृको मृत्यु तिथीमा श्राद्ध गरेर बिदाई गरेपछि बल्ल दशैंको रौनकको औपचारिक रुपमा शुरुवात हुने गर्दछ । सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ ।
सूर्य कन्या राशीमा प्रवेश गर्दा यो पर्व हुन्छ भने कन्या राशीमा सूर्य सरेको बखत दिवंगत पितृहरूलाई पिण्डदान नगर्ने पुत्रहरू पापी हुन्, कृतध्न हुन् भनेर बताइएको छ । गृहस्थी भएर आश्विनको पितृपक्षमा श्राद्ध नगर्नेका लागि उसका धन र सम्पत्ति, बैभव एवं उसका सन्तति निरर्थक हुन्छन्, पितृहरूको श्वास–प्रश्वास रोकेर उनीहरूलाई हुने पीडाले परिवारको भरण पोषणमात्र खोज्नु राम्रो हँुदैन । यो १५ दिनको पक्षभित्र जहिले श्राद्ध गरे पनि हुन्छ किन्तु वावुको या नसके वाजेको तिथिमा लिइनु राम्रो मानिन्छ । सुतक, जुठो वा असर्धो समय परे एकादशी या औंंसीमा गरिनुपर्छ । रोकिएकाले नगर्ने भन्ने होइन, यो १५ दिन नै रोकिएमा लक्ष्मीपूजाको औंसीमा गर्न पनि सकिन्छ । जुन पिता माताबाट हामीलाई यो शरीर मिल्यो, लालन पालन भयो मरेपछि उनीहरूका लागि कुनै विशेष सत्कार गर्न सकेनौं भने त्योभन्दा ठूलो कृतघ्नता अरू केही हुन सक्दैन । मातापिताको ऋण सय वर्ष भोग्न सयौं जन्मसम्म पनि तिर्न सकिँदैन । यसर्थ उनीहरूको नाममा दान गर्दा पितृहरुको आत्मा तृप्त हुने मान्यता रहेको छ ।