गुल्मी, रेसुङ्गा विमान स्थलबाट उडान हुने गुल्मी–काठमाडौंको समय तालिका परिवर्तन गरिएको छ । गुल्मीबाट प्रत्येक हप्ताको मंगलबार र शुक्रबार नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले उडान भर्दै आएकोमा अहिले विविध कारण देखाउँदै समय तालिका परिवर्तन गरेको हो ।
मंगलबार यात्रुको संख्यामा कमी आएपछि उडानको समय तालिका नै फेरबदल गर्नु परेको बताइएको छ । समय तालिकमा परिवर्तन भएसँगै अबदेखि रेसुङ्गा विमानस्थलबाट हप्ताको बुधबार र शुक्रबार मात्र उडान हुने छ । यसअघि निगमले मंगलबार रेसुङ्गा विमानस्थलबाट एक जना यात्रु लिएर काठमाडौं गएको थियो । गुल्मीमा मंगलबारको दिन अधिकांस यात्रुुहरु घरबाट लामो यात्रामा ननिस्कने भएकाले पनि उक्त बार यात्रुको संख्यामा कमी भएको निगमको ठहर छ । जसका कारण पनि स्थानीयको मनोभावना अनुसार निगमले समय परिवर्तन गरी बुधबार सारेको हो । निगमको १८ सिट क्षमताको जहाजले हप्ताको प्रत्येक बुधबार बिहान साढे ६ बजे काठमाडौंबाट रेसुङ्गा र बिहान साढे ७ बजे रेसुङ्गाबाट काठमाडौँका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ । निगमको १८ सिट क्षमताको जहाजले उडान गरिरहेको छ । एयरलाइन्सले पछिल्लो समय सरकारले भ्याट लगाएसँगै भाडादर वृद्धि समेत गरेको हो ।
जसमा नयाँ भाडादरअनुसार रेसुङ्गादेखि काठमाडौं ७ हजार ८० रुपैयाँ र काठमाडौंदेखि रेसुङ्गा ७ हजार २ सय ८० रुपैयाँ एयरलाइन्सले भाडादर कायम गरेको छ । काठमाडौंबाट रेसुङ्गा विमानस्थल सम्मको दुरी ५० मिनेटको रहेको छ । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ । जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ मिलोमिटर कच्चीबाटोबाट विमानस्थल पुग्न सकिन्छ । विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको जहाजले धुले उडान गरेको थियो । रेसुङ्गा विमानस्थल धावनमार्गको ५ सय २० मिटर लम्बाइ र चौडाइ २० मिटर छ । १ सय ५६ रोपनी क्षेत्रफलमा विमानस्थल फैलिएको छ ।