Shittalpati
प्रहरीद्वारा पाल्पामा अवैध सामान बरामद

पाल्पा, जिल्लाका विभिन्न ठाउँहरुबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले यहाँका दुई छुट्टाछुट्टै स्थानबाट २ लाख ७५ हजार ८ सय ६० बराबरको अवैध सामान बरामद गरेको हो ।

जिल्लाको तिनाउ गाउँपालिका–३ सिद्धार्थ राजमार्ग र तानसेन नगरपालिका–६ बसपार्कमा बुटवलबाट भ्यानमा ल्याउँदै गरेका अवैध सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । उनका अनुसार सिद्दार्थ राजमार्गमा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१०२५ च १९८७ नम्बरको पिक अप भ्यानलाई प्रहरी चौकी दोभानको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा अवैध सामान फेला पारेको थियो । बिल भौचर नभएको सतासी हजार छ सय साठी मूल्य बराबरको अवैध सामान बारामद गरिएको हो । प्रहरीले गाडीबाट क्याटिक सोडा ८ बोरा, टायल किलिनर ४ सय १ पिस, फिनेल ७४ पिस, हार्पिक २० पिस  सामान बरामद गरेको छ ।

यस्तै तानसेन बसपार्कमा अस्थाई प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु ३ च १०७० नम्बरको पिकअप भ्यान चेकजाँच गर्ने क्रममा अवैध सामान फेला पारेको छ । बिल भौचर नभएको प्लाष्टिकबाट बनेका अवैध सामान बरामद गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । उनका अनुसार करिब  एक लाख अठासी हजार दुई सय बराबरको अवैध सामानहरु बरामद गरिएको हो । प्रहरीले गाडिबाट प्लाष्टिकको गमला ४ सय ८६ थान, १ सय २० थान प्लाष्टिकको पिर्का, ४० थान प्लाष्टिकको जाली सहितको भाडा राख्ने गमला, २ सय ४० थान प्लाष्टिकको म्याट बरामद गरेको छ । प्रहरीले सामान बरामदसँगै  दुवै गाडीका चालक र सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि बुटवलस्थित राजस्व अनुसन्धान कार्यालय पठाएको छ । बिल भौचर नभएकाले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पठाइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update