Shittalpati
अहिंसा दिवस र यसको सार्थकता

अक्टोबर २ लाई विश्व अहिंसात्मक दिवसका रूपमा मनाइने गरिन्छ । भारतका अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर सन् २००७ देखि हरेक वर्ष यो दिनलाई अहिंसात्मक दिवसका रूपमा मनाउने गरिएको हो । यस वर्षको दिवस आज विश्वभर मनाइँदै छ । विश्वमा हिंसाका घटनाहरू बढ्दै जान थालेपछि हिंसालाई रोक्ने अभिप्रायसहित यो दिवस मनाउन थालिएको हो । विश्व मानव इतिहास हिंसा र द्वन्द्वका कैयन घटनाक्रमहरू सामना गर्दै यहाँसम्म आइपुगेको छ । अहिले पनि विश्वका विभिन्न स्थानमा हिंसात्मक द्वन्द्वका घटना भइरहेका छन् । हरेक कुराको प्राप्ति र जीतका लागि द्वन्द्व नै विकल्प त होइन यद्यपि मानिस यसैतर्फ बढी लागेको देखिन्छ । द्वन्द्व, युद्व राम्रो पक्ष होइन किनकि यसले धेरै जनधनको क्षति गर्छ । यसले मानवीय क्षतिमात्र नभइ आर्थिक अवस्थासमेत कमजोर बनाउँछ । यस कारण द्वन्द्व र युद्वबाट हुने क्षतिहरूलाई न्यूनीकरण गर्न र मानव अस्तित्व संरक्षण गर्न अहिंसात्मक सामाजिक आन्दोलन र अहिंसात्मक आर्थिक क्रियाकलाप एउटा विकल्प हुन सक्छ, र यो आवश्यक पनि छ । 

मानव समाजको सुरुवात देखिनै द्वन्द्व भइरहेको छ । विभिन्न नाममा र विभिन्न परिवेशका समाजहरू बिचको वैचारिक असहमतीबाट द्वन्द्वको सिर्जना हुनु सामान्य हो । तथापि उक्त द्वन्द्वको उचित व्यवस्थापन गर्न नसक्दा यहाँ हिंसा बढ्दै गइरहेको छ । नेपालमा राजनीतिक स्थायित्व पश्चात् आशाको मुना पलाउन लागिरहेका बेला पुनः हिंसात्मक गतिविधि बढ्न थालेका छन् । लामो सशस्त्र युद्व भोगेका नेपालीलाई देशका विभिन्न स्थानमा बम विस्फोट, आगजनी तथा हत्याका घटना सार्वजनिक हुँदै गर्दा त्रास बढाएको छ । मुलुकमा विभिन्न आन्दोलन पश्चात् राजनीतिक परिवर्तन भई नयाँ संविधान कार्यान्वयनको चरणमै रहेका बेला मुलुकलाई हिंसातर्फ धकेल्ने कार्य हुनु निन्दनीय छ । अहिंसा भनेको हिंसाको अभावको अवस्था मात्र हो । हिंसारहित समाज हुनु भनेकै अहिंसा हो । यसर्थ हरेक समाज हिंसारहित बनाउन सकियो भने मात्रै अहिंसा दिवसको सार्थकता रहन्छ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्न पुदछ । त्यसैले सबैले आ–आफ्नो ठाउँबाट हिंसात्मक गतिविधि बन्द गरौं सभ्य र शान्त समाज निर्माण गर्नमा जुटौं ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update