Shittalpati
पाल्पामा भन्सार छलीका सामान भित्रिने क्रम बढ्दो

पाल्पा, १३ असोज २०८० मा पाल्पा प्रहरीले जिल्लाको तिनाउ गाउँपालिका–३ सिद्धार्थ राजमार्ग र तानसेन नगरपालिका–६ बसपार्कमा बुटवलबाट भ्यानमा ल्याउँदै गरेका अवैध सामग्री बरामद गर्‍यो । त्यसमा भन्सार छली गरी ल्याइएका २ लाख ७५ हजार ८ सय ६० बराबरको अवैध सामान रहेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार सिद्दार्थ राजमार्गमा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१०२५ च १९८७ नम्बरको पिक अप भ्यानलाई प्रहरी चौकी दोभानको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा अवैध सामान फेला पारेको थियो । बिल भौचर नभएको ८७ हजार ६ सय ६० मूल्य बराबरको अवैध सामान बारामद गरिएको हो । प्रहरीले गाडीबाट क्याटिक सोडा ८ बोरा, टायल किलिनर ४ सय १ पिस, फिनेल ७४ पिस, हार्पिक २० पिस  सामान बरामद गर्‍यो ।

यस्तै सोही दिन नै तानसेन बसपार्कमा अस्थाई प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु ३ च १०७० नम्बरको पिकअप भ्यान चेकजाँच गर्ने क्रममा अवैध सामान फेला पारेको छ । बिल भौचर नभएको प्लाष्टिकबाट बनेका अवैध सामान बरामद गरिएको हो । करिब एक लाख अठासी हजार दुई सय बराबरको अवैध सामानहरु बरामद गरिएको छ । प्रहरीले गाडिबाट प्लाष्टिकको गमला ४ सय ८६ थान, १ सय २० थान प्लाष्टिकको पिर्का, ४० थान प्लाष्टिकको जाली सहितको भाडा राख्ने गमला, २ सय ४० थान प्लाष्टिकको म्याट बरामद गरेको हो । प्रहरीले सामान बरामदसँगै दुवै गाडीका चालक र सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि बुटवलस्थित राजस्व अनुसन्धान कार्यालय पठाएको छ । बिल भौचर नभएकाले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय रुपन्देही पठाइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

 यस्तै २७ जेठ २०८० मा  प्रहरीले भन्सार छली ल्याइएको अवैध युरियार मल बरामद गर्‍यो । जिल्लाको रामपुर नगरपालिका–५ बेझाड र रम्भा गाउँपालिका –१ हुँगीबाट भन्सार छलि गरी ल्याइएको ९ लाख ८० हजार १ सय बराबरको अवैध युरिया मल बरामद गरिएको थियो । भारतीय बजारबाट भन्सार छलेर रामपुरमा गोदाम गरी राखिएको ६ सय ५० बोरा र हुँगीस्थित कालीगण्डकी करिडोर सडक खण्डबाट ३ सय ७२ बोरा युरिया मल प्रहरीले बरामद गर्‍यो । उक्त मल प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि  भन्सार कार्यालय रुपन्देही पठाएको थियो । १९ भदौ २०७९ मा प्रहरीले जिल्लाको बगनासकाली गाउँपालिका–३ आर्यभञ्ज्याङबाट तीन बोरा अवैध कपडा बरामद गर्‍यो । भन्सार छलेर ल्याएको दुई लाख ६५ हजार ५ सय बराबरको ५ सय ९० जोर कुर्ता सुरुवाल बरामद गरिएको थियो । उक्त सामान नियन्त्रणमा लिई अनुसन्धानको लागि बेलहिया भन्सार कार्यालय रुपन्देही पठाइयो । यस्तै १६ भदौ २०७९ मा फेरि प्रहरीले अवैध दुई बोरा कपडा बरामद गर्‍यो । जिल्लाको तिनाउ गाउँपालिका–३ पैठेडाँडाबाट भन्सार छलेर ल्याइएको ८० हजार बराबरको एक सय जोर कुर्ता सुरुवाल बरामद गरिएको थियो । उक्त सामान पनि नियन्त्रणमा लिई अनुसन्धानको लागि भन्सार कार्यालय रुपन्देही पठाइयो । पछिल्लो समय सिमानाका हुँदै अवैध रुपमा पाल्पामा सामानहरु भित्रिने क्रम बढ्दो छ । 

शित्तलपाटी डटकमले संकलन गरेको छुट्टाछुट्टै विवरण अनुसार गत भदौ यता एक वर्षको अवधिमा जिल्लाबाट कुल १६ लाख १ हजार ४ सय ६० रुपैयाँ बराबरका अवैध सामान बरामद भएका छन् । राजश्वमा धक्का पाल्पामा अवैध रुपमा सामान ओसारपसार गर्ने क्रम बढ्दो छ । जसको प्रत्यक्ष असर सरकारको राजश्वमा पर्ने देखिएको छ । भन्सार छली गरी अवैधरुपमा ठूलो मात्रामा सामान भित्रिने गर्दा राज्यलाई दिनहुँ ठूलो मात्रामा राजश्व नोक्सानी पर्न गएको छ । जबकि सम्बन्धित निकाय मौन बसिदिँदा यो क्रम दिनानुदिन बढ्दै गइरहेको छ । शुरुआती चरणमा सीमा आसपासमा मात्र यस्ता गतिविधि भए पनि हाल आएर पाल्पा, गुल्मी, रुपन्देही, कपिलवस्तु एवं नवलपरासीका सम्पूर्ण क्षेत्रसम्म विस्तार भएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update