Shittalpati
बढ्यो सेयर बजार, घट्यो कारोबार रकम 

पाल्पा, सोमबार सेयर बजार बढेको छ भने कारोबार रकम घटेको छ । सेयर बजारको परिसूचक नेप्से ५ दशमलव १९ अंक बढेको हो  । सो अंकको वृद्धिपछि परिसूचक १ हजार ९ सय ७६ अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम भने घटेको छ । आइतबार १ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा दोस्रो दिन सोमबार १ अर्ब ७३ करोडको कारोबार भयो । 

सो अवधिमा दुई सय ८६ कम्पनीको ५७ लाख ७६ हजार आठ सय ९६ कित्ता शेयर ८५ हजार पाँच सय ९१ पटक खरिद बिक्री हुँदा  एक अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ बराबरको कारोबार भएको हो  । होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहको उपसूचक घट्दा अरु सबै समूहका उपसूचक बढेको छन् ।

सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ३३ र म्युचुअल फन्ड समूहको उपसूचक एक प्रतिशतले बढेको छ ।  सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै मूल्य घट्नेमा भने पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव २९ प्रतिशतले घटेको छ ।
 

  कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआइसी एशिया बैंक लिमिटेडको २१ करोड ६८ लाख नौ हजार एक सय ४१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई लाख ८७ हजार ५२ कित्ता शेयर किनबेच भएको छ । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update