Shittalpati
भन्सार छली गर्नेलाई कारवाही गर

भन्सार छली  गर्नु महाअपराध हो । यसले देशलाई नै ठगेको प्रष्ट हुन्छ । पछिल्लो समय पाल्पासहित देशभर नै भन्सार छली गर्ने क्रम बढ्दो छ । सरकारले बारम्बार कर प्रशासनलाई चुस्त बनाउने प्रतिवद्धता जनाउँदै आए पनि, भन्सार छलीको मात्रा थप भयावह बन्दै जानु दुखद् हो । अहिले दैनिक रूपमा भन्सार नाकाहरूबाट छुटेका गाडीहरु समातिने र त्यसमा तिर्नुपर्ने राजस्व नतिरिएको पाइन्छ । पछिल्ला केही वर्ष यता पाल्पामा भन्सार छलेर सामान ल्याउने क्रम  बढेको छ ।  गत वर्षको भदौ यता पाल्पाबाट १६ लाख १ हजार ४ सय ६० रुपैयाँबराबरका भन्सार छलीका सामान बरामद भएका छन् । यस्ता गतिविधि माथि छानविन र कारवाही हुन सकिरहेको छैन । यसलाई रोक्न अहिलेसम्म कुनै विशेष पहल हुन नसक्नु दुर्भाग्य हो । 

पछिल्ला वर्षहरूमा यस्ता असमान्य बेलाबाहेक सामान्य अवस्थामा पनि चोरी–पैठारीका घटना नियन्त्रणमा आउन सकेका छैनन् । राजस्व छलीमा कर्मचारीको समेत मिलेमतो हुने गरेको छ । यो हाम्रा लागि ठूलो दुर्भाग्य हो । सुशासन र पारदर्शीतासहितको व्यवस्थित प्रणालीको स्थापना हुन नसक्दा यहाँ जसले सके त्यसले लुट्ने अवस्था सिर्जना भएको छ । जसरी हुन्छ लुटेर अथाह सम्पति आर्जन गर्ने व्यक्तिहरू नै समाजमा पुजनीय बन्ने गरेका छन् । विकृत पुँजीवादका कारण पनि यहाँ लुट्ने प्रतिस्पर्धा चलिरहेको छ । त्यस्तो खराब कामलाई दण्डित गर्ने निकायहरू आफैं लुट्ने कार्यमा संलग्न हुन पुग्नु झनै दुर्भाग्यपूर्ण छ । नेपालमा पछिल्लो समयमा सेटिङ धन्दा यति धेरै फस्टाएको छ कि शायद सेटिङ धन्दामा नेपाल अग्रपंक्तिमै छ । सरकारका निकायबाट नै राजस्व छली गर्ने वातावरण सिर्जना गरिनुले पनि यस्ता महाअपराधपूर्ण कार्य  भएका छन् । यस्ता गलत कार्य गर्ने जो कोहीलाई पनि कडा भन्दा कडा कारवाही हुन आवश्यक छ । उनीहरुसँग कुनै प्रकारको सम्झौता नगरी कानुनी कारवाही गर्न सकेमा देश आर्थिक रूपमा धेरै नै सक्षम हुन सक्छ । तसर्थ भन्सार छली गर्ने र गराउन सहयोग गर्ने जो कोहीलाई कानुनी कारवाही गर्न जरुरी छ । यसतर्फ सरकार र सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update