Shittalpati
मुलुकमा आवश्यकताको पहिचान

समयको गतिसँगै भर्खरै निर्माण भएर कार्यान्वयनको चरणमा रहेको लोकतान्त्रिक संविधानको रक्षा र देशभरिका जनताको चाहना विपरित युवापुस्ता पलायन हुनुपर्ने बाध्यताले गर्दा पनि यो मुलुकले प्रगति गर्न सकेन भन्नेहरुका लागि सरकारको तर्फबाट होस् या विपक्षी दलहरु किन नहुन् सबै मिलेर देश र जनताका न्यूनतम आवश्यकताको परिपूर्ति गर्ने कार्यमा लाग्नु नै आजको आवश्यकता हो । नेताहरु अब देशलाई अराजकताबाट मुक्त गर । लोकतान्त्रिक मूल्य र मान्यताका आधारभूत कार्यशैलीहरुमा व्यापक सुधारको खाँचो देखियो । आफैमा आचरण र व्यवहारसँगै नेतृत्व हस्तान्तरणको कार्यदीशालाई राम्रोसँग अवलम्वन गर । देशलाई आर्थिकरुपमा मात्रै होइन, अनुशासन र कर्तव्यबोधको खडेरीले च्यापिरहेको अवस्थाबाट अब यसलाई मुक्त गर्नुको कुनै पनि विकल्प छैन । राजा, राज्य रजौटा हटाएर लोकतन्त्रको मसिहा बन्ने तरखरले सताई रहेको मुलुकका पुराना दलहरु प्रति नयाँ पुस्ताले पत्याउनै गाह्रो पर्ने गरी भएका विभिन्न क्रियाकलाप र सरकार सञ्चालन तथा व्यवस्थापन प्रतिको वितृष्णाले अहिले मुलुक ग्रस्त अवस्थामा रहेको आभाष भइरहेको छ । 

दिनहुँ भ्रष्टाचारका फाइल खोलिदै छन्, अनि त्यतिकै तिव्रताका साथ ती फाइलहरु बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थाप्रति अब गम्भीर भएर सोंच्ने र समाधानका उपायहरु खोज्ने बेला भएको छ । समस्या कहाँ छ ? कति छ र कसरी समाधान गर्ने भन्ने विषय गम्भीर भएर सोंच्नुपर्ने अवस्था हुँदाहुँदै पनि सरकार र नेपालका कुनै पनि राजनैतिक दलहरुले नसोच्दा यी र यस्ता समस्याहरु आएका हुन् । समस्याको समाधान त कहाँ, पहिचान समेत गर्न नखोज्नेहरु सरकारमा विद्यमान छन् । सरकार चलाएर मात्रै पुग्दैन, सरकार चलाएमान र जनपक्षीय छ भन्ने कुराको आभाष हुने खालको वातावरण निर्माण गर्नु पनि महत्वपूर्ण पक्ष हो । यस विषयमा सरकार अत्यान्तै गैरजिम्मेवार भएको छ । यी र यस्ता समस्याको पहिचान गरेर समाधान खोज्दै अगाडि बढ्नुको विकल्प छैन ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update