आज विश्व शिक्षक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघ र राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संघ (युनेस्को) को आह्वानमा हरेक वर्ष अक्टोवर ५ मा यो दिवस मनाउने गरिन्छ । युनेस्कोले यस वर्षको नारा ‘हामीले चाहेको शिक्षाको लागि शिक्षकहरू चाहिन्छः शिक्षक अभावलाई उल्टाउन विश्वव्यापी अनिवार्यता’ भन्ने तय गरेको छ । आजको दिन संसारभर विभिन्न कार्यक्रम गर्दै गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थीहरुलाई स्थानीय तथा अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याउन मद्दत गर्ने शिक्षकहरुको सम्झना र सम्मान गरिन्छ । यो आफैमा राम्रो हो । शिक्षण पेशाको मर्यादा र शिक्षकको सम्मान गर्ने प्रयोजनले विशेष दिनका रूपमा विश्वर शिक्षक दिवस मनाउने गरिएको हो । विभिन्न देशले आ–आफ्नै ऐतिहासिक सन्दर्भ अनुसार शिक्षक दिवस मनाउँदै आएका छन् । ज्ञानको ज्योति झर्ने, विश्वमा दक्ष, असल जनशक्ति उत्पादन गर्ने शिक्षकलाई सधै सम्मान गर्नुपर्दछ । तर पछिल्लो समय शिक्षकको योगदान, भूमिका र महत्वलाई बिर्सन वा ओझेलमा पार्न थालिएको छ । यसो हुनु दुखद् हो । अहिले शिक्षकहरु आफ्नो अधिकारका लागि आन्दोलित हुनु परेको छ । शिक्षक व्यवस्थापनमा देखिएका जल्दाबल्दा मुद्दाहरु निकै चोटिला छन् ।
नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको शिक्षा सम्बन्धी मौलिक हक, सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने सरकारी घोषणालाई साकार पार्न गुणस्तरीय जीवनोपयोगी शिक्षाको सुनिश्चितता पहिलो शर्त हो । सर्वसुलभ गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि विद्यार्थीको उपलब्धिलाई आफ्नो सफलता ठान्ने शिक्षक हुनुपर्छ । शिक्षकको योग्यता, क्षमता र दक्षता जाँच्ने कसी विद्यार्थी उपलब्धीस्तर नै हो, तर शैक्षिक, बौद्धिक वर्गलाई पञ्जामा राखेर जिउने आदतले देशमा शैक्षिक दमनको मनोवैज्ञानिक पीडा छ । शिक्षकले पाउनुपर्ने जति कदर पाएका छैनन् । जसका कारण नैतिक आचरण र शिक्षा ग्रहणमा कमी हुँदै गएको छ । यसमा सुधार ल्याउन आवश्यक छ । शिक्षकले त राम्रो शिक्षा दिएर आफ्नो कर्तव्य पूरा गर्छ, शिक्षकप्रति विद्यार्थी र समाजको दायित्व हुनुपर्छ । वास्तवमा शिक्षकहरु राष्ट्रको भावी पुस्ताहरुको वैचारिक शिल्पको शिल्पकारहरु हुन् । आफ्नो ज्ञान, सीपको माध्यमले तटस्थ र स्वतन्त्ररुपमा आफ्ना विद्यार्थीहरुलाई ज्ञान दिने दायित्व बोकेका शिक्षकहरुले नै मानिसलाई समाजको पहिलो प्रतिविम्ब र परिवेशसँग साक्षात्कार गराएका छन् । यसर्थ शिक्षकहरुको सम्मान गर्दै उनीहरुलाई थप उत्साहित र सक्रिय बनाउन सकियो भने मात्र शिक्षक दिवस मनाउनुले सार्थकता प्राप्त गर्न सक्छ अन्यथा दिवस औपचारिकतामै सिमित बन्न पुग्छ ।