Shittalpati
सधैं मुस्कुराऔं, स्वस्थ रहौं

‘दयालु कार्य गर्नुहोस्, एक व्यक्तिलाई मुस्कुराउन मद्दत गर्नुहोस्’ भन्ने नाराका साथ आज विश्व मुस्कान दिवस मनाउन लागिएको छ । हरेक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार यो दिवस मनाउने गरिन्छ । वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे । जसले मानिसहरूको ध्यान मुस्कानको महत्वतिर केन्द्रित हुन पुग्यो । त्यसपछि सन् १९९९ देखि यो दिवस औपचारिक ढंगमा मनाउन थालिएको हो । मुस्कान र हाँसो सर्वमान्य भाषा हुन्, जुन सबै भाषीले, सबै उमेरका मानिसले बुझ्न सक्छन् । मानसिक तनाव, रिस, घमण्ड, भोक, पिर तथा चिन्ता कम गर्न प्रयोग गरिने अचुक औजार मुस्कान वा हाँसो हो । यो सामाजिक जीवन तथा स्वास्थ्यको लागि पनि अति उपयोगी मानिन्छ । त्यसलै पनि मुस्कान दिवस आफैमा महत्वपूर्ण र अर्थपूर्ण रहेको छ । मुस्कुराउँदा स्वास्थ्यलाई समेत लाभदायिक हुन्छ । अनुहारका जम्मा १३ वटा मात्र मांसपेसी प्रयोग हुन्छन् भने मुख अँध्यारो पारी झोक्रिँदा ६४ वटा मांसपेसी उपयोग हुन्छन् । हाँस्दा भन्दा रिसाउँदा वा चिन्तित हुँदा ज्यादा जोड पर्दछ, धेरै मांसपेसी प्रयोग हुन्छन् धेरै ऊर्जा शक्ति खर्च हुन्छ र नकारात्मक प्रभावले धेरै हानिनोक्सानी पुर्‍याउँछ तर मुस्कानले भने सफलता दिन्छ ।

मुस्कुराउनका लागि अतिरिक्त पैसा खर्च गर्नुपर्दैन । न श्रम नै खर्चनुपर्छ । यो स्वास्थ्यका लागि अचुक औषधि हो, तर मानिस खुलेर हास्नै सक्दैन । धेरैजसो समय मानिस चिन्ताग्रस्त, तनावग्रस्तरुमा हुन्छ । उसको दैनिकी धपेडीमा बित्छ । मनमा अनेक तर्कना खेल्छ । यही चक्करमा मानिस खुलेर हाँस्न सकेको देखिदैन । अहिले व्यापार, व्यवसाय र जागरिमा देखिएको ह्रासले कयौं मानिसहरु मानसिक समस्याको शिखार भएका छन् । यस्तो अवस्थामा हास्न र मुस्कुराउनु राम्रो हो । हाँस्दा हाम्रो मन उमंगित हुन्छ । फुरुंग हुन्छ । शरीरका भित्री अंगहरुको व्यायाम हुन्छ । हामी आसपासका वातावरण वा माहौल रमाइलो हुन्छ । हामीसँगै उभिएका वा दोस्रो व्यक्तिमा राम्रो प्रभाव पार्छ । सधै हास्ने र मुस्कान छोड्ने गरौं । यसले शारिरिक रुपमा स्वस्थ मात्र भईदैन, एक अर्का बिचको सम्बन्धलाई समेत सुमधुर बनाउँछ ।  जीवनमा सफलता र सुख मिल्यो भने मात्र स्वास्थ्य जीवन जिउन सकिन्छ । यसर्थ स्वस्थ रहन र सुमधुर सम्बन्ध कायम गर्न सधैँ मुस्कुराऔं, हाँसौं र सधैँ खुसी रहुँ ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update