Shittalpati
सत्तारुढ दलकै सांसदहरु सरकारप्रति रुष्ट

पाल्पा, सत्तारुढ दलका सांसदहरुले नै सरकारको चर्को आलोचना गर्न सुरु गरेका छन् । सत्तारुढ नेपाली काँग्रेसका सांसदहरु गगन थापा, प्रदीप पौडेल, एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले सरकारले गम्भीर अपराधका दोषीलाई दिइएको सजाय माफी बदनियतपूर्ण भएको, भूकम्प पीडितलाई तत्काल राहत र घाइतेहरुको उपचारमा ध्यान नदिएको, कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै काँग्रेस सांसद तथा महामन्त्री गगन थापाले सरकारले गम्भीर अपराधका दोषीलाई दिइएको सजाय माफी बदनियतपूर्ण भएको बताएका छन् । उनले अहिले भइरहेको यसको विरोध स्वभाविक भएको र विरोध हुनुपर्ने बताए । महामन्त्री थापाले कानुनको दुरुपयोग गरेर यसरी माफी मिनाहा दिनेमा कुनै पनि दलहरू अछुतो नभएको बताए । उनले यसबारे कानुनमा रहेको छिद्र तत्कालै सच्याउनुपर्ने बताए । ‘संविधान निर्माण भइसकेपछि हामीले यही संसद्बाट कानुन बनायौं । कानुन लागू भइसकेपछि अहिलेसम्म कैद माफी मिनाहा पाएको संख्या ६७४६ जनाले यो सुविधाको उपयोग गर्न पाइसकेका छन्,’ उनले भने, ‘सरकारले यसपटक त्यसैलाई निरन्तरता दिएर कानुन विपरीत यस्तो निर्णय गरेको छ । यस्तो किन गरिएको हो ? सरकारले जवाफ दिनुपर्छ’ उनले भने ।

नेपाली कांग्रेसका अर्का सांसद प्रदीप पौडेलले सरकारले कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै आक्रोस पोखे । उनले देश आर्थिक मन्दीमा थलिएका बेला बजारमा उपभोग्य वस्तुको मुल्य भने ४५ प्रतिशतसम्म वृद्धि भएको बताए । पौडेलले सरकारको लोकप्रियता घटेको दाबी गरेका छन् । उनले बजारमा मूल्यवृद्धि बढेको तर सरकारको लोकप्रियता घटेको दाबी गरे । ‘देश आर्थिक मन्दीले थलिएको छ । बजारमा ३५ प्रतिशत सटर बन्द भएको तथ्यांक सार्वजनिक भएको छ । यति नै बेला उपभोक्तालाई मार पर्ने गरी महँगी आकासिएको छ । भान्सामा दैनिक उपभोग हुने चालम, दाल, चिनी र तरकारीको मूल्य बढेको छ,’ सांसद पौडेलले भने, ‘यतिबेला सबैचिजको मूल्य बढेको छ, सरकारप्रतिको भरोसा र लोकप्रियता मात्रै नबढेको हो ।’ उनले कालोबजारीलाई गर्ने र कृत्रिम अभाव गर्नेलाई कारबाही गर्न सरकारलाई आग्रह गरे । एकिकृत समाजवादीका सांसद भानुभक्त जोशीले भूकम्प पीडितका लागि राहत र घाइतेहरुको उपचारमा सरकारले ध्यान नदिएको बताए । उनले बझाङ र वरपरका जिल्लाका भूकम्प पीडितका लागि तत्काल राहतको व्यवस्था गर्न र घाइतेलाई उपचारको व्यवस्था गर्न माग गरे । सांसद जोशीले भने, ‘नेताहरू आउँछन्, हेलिकप्टरमा घुम्छन् र आश्वासनका ठूला भारी बोकाउँछन् । तर जनताले केही पाउँदैनन् । यस्तो पीडाको अवस्थामा म सरकारलाई कमसेकम त्यो जिल्लाको समग्र अवस्था हेरेर अहिले विशेष कार्यक्रम घोषणा गर्न माग गर्दछु ।’

संसद बिजनेसविहीन भएकोमा सांसद गैरेले आपत्ति
एमालेका सांसद ठाकुर गैरेले संसद बिजनेस विहीन बनेको भन्दै आपत्ती जनाएका छन् । संसद बैठकमा बोल्दै सांसद गैरेले संसदलाई बिजनेसविहिन बनाइएको भन्दै आपत्ति जनाए । तमाम ऐन, कानुनहरू बनाउनुपर्ने अवस्था भएपनि सदन फुर्सदिलो देखिएको उनको भनाइ छ । उनले भने, ‘सभामुख महोदय, बिना बिजनेसको सदन किन चलिहरेको छ ? के भयो । न बिजनेस छ न सन्दर्भ छ ।’

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update