Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ को मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं, तेह्रथुम, सुनसरी, धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।

काठमाडौं महानगरपालिका–२८ भद्रकालीस्थित सडकमा ट्रक र स्कुटर एक आपसमा ठोक्किदा स्कुटर चालकको मृत्यु भएको छ । प्र–३–०१–००१ ग ३७०५ नम्बरको ट्रक र बा.प्र–०२–०१८ प ९२७७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटर चालक सोही महानगरपालिका–१३ ताहाचल बस्ने ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै तेह्रथुमको आठराई गाउँपालिका–४ इवामामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मे.१ त ३०७६ नम्बरको ट्याक्टर सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना हुँदा चालक सुनसरी इनरूवा नगरपालिका–७ तित्रीवनका ४० वर्षीय नवाज सतारको मृत्यु भएको हो । यस्तै सुनसरीको गढी गाउँपालिका–५ थलाहामा पनि  ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । को. १ त ४८३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–६ बस्ने प्रमिला देवी मण्डलको मृत्यु भएको हो । उनको बिराट टिचिङ हस्पिटल टंकीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सुनसरीकै धरान उपमहानगरपालिका–८ लाङगालीस्थित सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ स्कुुटर चालकको मृत्यु भएको छ । को.१ ख ४०६३ नम्बरको ट्रकले प्र.१–०२ ०४५ प ३७४ नम्बरको स्कुटरलाई शुक्रबार बिहान ठक्कर दिँदा स्कुटर चालक इटहरी उपमहानगरपालिका–९ का ४५ वर्षीय आशबहादुर राईको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै धनुषाको बटेश्वर गाउँपालका–३ दहालटोलस्थित सडकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।  प्र.२–०२–००१ प ६३६६ नम्बर र ज.१० प २५७ नम्बरको मोटरसाइकललाई ज.१ त ९३५८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा  प्र.२–०२–००१ प ६३६६ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका–५ बस्ने ४० वर्षीया रेखा देवी महतोको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ज.१० प २५७ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैगरी धनुषाको औरही गाउँपालिका–१ पौडेश्वर पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्र.२–०२–००६ प ९१०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक विदेह नगरपालिका–८ बफै बस्ने २६ वर्षीय राम मण्डलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update