Shittalpati
रामपुरमा प्रहरी–नागरिक सुनुवाई, शान्ति सुरक्षा मजबुत बनाउन प्रहरीलाई सुझाव

पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पाले रामपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । उसले समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम रामपुर नगरपालिकाको सभाहलमा गरेको हो ।

प्रहरीको शान्ति सुरक्षाको विषयमा स्थानीय जनतासँग राय सुझाव लिन र प्रहरीले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नागरिक र प्रहरी बिचको सम्बन्ध थप सुमधुर बनाउनुका साथै कार्यालयबाट प्रवाह भएका सेवाका बारेमा जानकारी गराउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको प्रहरीले जनाएको छ । 

कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शहर उन्मुख रामपुरमा बसाई सराई गरी आउने संख्या बढ्दो रहेकाले सुरक्षा चुनौती पनि बढ्दै गएकाले त्यसतर्फ ध्यान दिन प्रहरीलाई आग्रह गरे । उनले शान्ति सुरक्षा कायम राख्न प्रहरीसँगै आमनागरिकको उत्तिकै महत्वपूर्ण भुमिका रहने समेत बताए । प्रमुख अतिथि समेत रहेका थापाले इलाका प्रहरी कार्यालयमा डिएसपी सहितको प्रहरी जनशक्ति थप गर्नका लागि पहल भैरहेको जानकारी गराए । उपप्रमुख बालकुमारी थापाले न्यायिक समितिले प्रहरीसँग सहकार्य गरी कार्यसम्पादन गर्दै आएको बताइन् । 

सुनुवाईमा सहभागिबाट उठेका प्रश्नको जवाफ दिँदै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले स्थानीयलाई सुरक्षाको प्रत्याभूत गराउन प्रहरीले स्थानीयसँग हातेमालो गर्दै आएको बताए । उनले सिमित जनशक्तिका बिच पनि शान्ति सुरक्षा प्रदानका लागि प्रहरी लागि पर्दै आएको बताए । पछिल्लो समय दुर्घटना न्युनिकरणमा उल्लेख्य सुधार हुँदै आए पनि आत्महत्या र डुबेर ज्यान जानेको संख्या बढेकाले यसतर्फ सरोककारवालाहरुले सोच्नु पर्ने समय आएको प्रमुुख शर्माले बताए । उनले भने ‘शान्ति सुरक्षा कायम गर्नुमा नागरिकको महत्वपूर्ण साथ र सहयोगको अवश्यक पर्छ,जिल्लामा हाल ५ सय ८५ नागरिक बराबर १ जना प्रहरीले सेवा दिनु पर्ने अवस्था रहेको छ ।’ प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले प्रहरीले सम्पादन गरेका कार्य, जिल्लाको सवारी दुर्घटना, अपराधिक घटना, फौजदारी मुद्दा लगायतका विषयमा तथ्याङ्क सहित प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरुले प्रहरी दरबन्दी थप गर्नु पर्ने, रातको समयमा गस्ती बढाउनु पर्ने, सुचना प्रदान गर्ने स्रोतलाई गोप्य राख्नु पर्ने, सवारी जाँचमा थप कडाई गर्नु पर्ने लगायतका सुझाव दिएका थिए । 

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनैतिक दल, यातायात व्यवसायी, सञ्चारकर्मी, महिला समूह, संघ संस्थाका प्रतिनिधि, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय बुद्विजिवी तथा व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रहरी उपरीक्षक हेरम्ब शर्माको अध्यक्षता, ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालको सञ्चालनमा कार्यक्रम भएको थियो  । 


 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update