Shittalpati
कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले पाउलान् त विश्वासको मत ?

पाल्पा, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेका छन् । सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका एमाले नेता कार्कीले शनिबार प्रदेशसभामा विश्वासको मत लिन लागेको प्रदेश सरकारका प्रवक्ता बद्रीकुमार कार्कीले शितलपाटी डटकमलाई जानकारी दिए ।

सर्वोच्च अदालतको परमादेशपछि २२ भदौमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले असोज २० भित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । सोही अनुसार उनले आज विश्वासको मत लिने तयारी थालेका हुुन् । तर मुलुकको राजनीतिमा कुनै आश्चर्यजनक परिवर्तन नआए अल्पमतमा रहेका मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसक्ने प्रस्ट छ । हालसम्म एमाले नेतृत्वको सरकारमा अन्य कुनै दल सामेल भएका छैनन् । अहिलेसम्म साथ दिँदै आएको ६ सांसद रहेको राप्रपाले समेत एमालेलाई समर्थन नगर्ने भएको छ । विश्वासको मत प्राप्त गर्नका लागि मुख्यमन्त्री कार्की गठबन्धन मध्येका दललाई फुटाउने रणनीतिमा देखिएका छन् । उनी माओवादी, काँग्रेस र एकीकृत समाजवादीमध्ये कुनै एउटा दलको साथ लिएर विश्वासको मत प्राप्त गर्ने रणनीतिमा रहेको एमाले स्रोतले जनाएको छ ।

९३ सदस्यीय प्रदेश सभामा एमालेका सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारसहित ४० सांसदको मात्रै मुख्यमन्त्री कार्कीलाई समर्थन रहेको छ । गठबन्धन दल काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४७ सांसद रहेका छन् । प्रदेशसभाको अंकगणित अनुसार विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री कार्कीसँग ३९ प्रदेश सांसदको मात्रै समर्थन देखिएको छ । गठबन्धन दल काँग्रेसले संसदीय दलको बैठकले नै मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले नेतृत्वको सरकारलाई आफ्नो पार्टीको समर्थन नभएको प्रस्ट पारिसकेका छन् । कोशी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका काँग्रेसका उद्धव थापाले पछिल्लो पटक प्रदेश सभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको सर्वोच्च अदालतले ठहर गरेपछि कार्की  दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । यससँगै कोशीमा आठ महिनाको अवधिमा चौथो सरकार निर्माण भएको हो । 

सर्वोच्चले पटक–पटक संवैधानिक मान्यता स्मरण गराउँदै आए पनि दलहरू हरहालतमा सरकार बनाउने र भत्काउने खेलमा लिप्त भएपछि कोसीमा अस्थिरता सिर्जना हुन पुगेको छ । मुख्यमन्त्री कार्की विश्वासको मत प्राप्त गर्न नसके एक महिनापछि पुनःअर्को सरकार बन्ने र दाउपेचको खेलमा त्यसले पनि विश्वासको मत हासिल गर्न नसके कोशी संवैधानिक रूपमै मध्यावधिमा प्रवेश गर्ने निश्चित छ ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update