Shittalpati
आनन्द सहकारीको १३ औं साधारण सभा, १२ प्रस्ताव पारित

पाल्पा,  तानसेनमा २०६७ मा स्थापना भएको आनन्द बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिक साधारण सभा गरेको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमका बिच साधारण सभा गरेको हो । 

‘सबैका लागि एक र एकका लागि सबै’ नै सहकारी हो भन्ने आम बुझाइलाई सार्थकता दिदै समृद्धिको दिशामा अब्वल बन्दै आएको सहकारीले विभिन्न १२ प्रस्तावहरु पारित गर्दै साधारण सभा गरेको छ । सभामा सहकारीका अध्यक्ष सर्जुलाल बज्राचार्यले प्रस्तुुत गरेका प्रस्तावहरु सभाले सर्वसम्वत रुपमा पारित गरेको हो । अध्यक्ष बज्राचार्यले अध्यक्षको प्रतिवेदन,सचिवको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, ऋण उप–समितिको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, शेयर लाभांश कोष, संरक्षित पूँजी कोष र कर्मचारी बोनश कोष बाँडफाँड,२०७९ / ०८० को अनुमानित बजेट भन्दा बढी खर्च भएका शिर्षकहरुमा रकमान्तर गरी हिसाब मिलान गरिएको, संस्थाको बचत तथा ऋण सम्बन्धी ब्याजदर परिवर्तन गर्न आवश्यक  भएमा सञ्चालक समितिलाई जिम्मेवारी तथा अधिकार दिईने, २०८० / ०८१ लेखा परीक्षक नियुक्ति र पारिश्रमिक, निष्क्रिय शेयर सदस्य र संस्थाको उद्देश्य तथा हित विपरीत कार्य गर्ने शेयर सदस्यलाई निष्काशन गर्ने, २०७९ श्रावण देखि २०८० आषाढ मसान्त सम्म सञ्चालक समितिले गरेका सम्पूर्ण निर्णयहरु अनुमोदन गर्ने, १३ औं साधारण सभाको प्रस्ताव तथा निर्णय प्रमाणित गर्न शेयर सदस्यहरु पुष्पा श्रेष्ठ र पुर्ण राज शाक्यलाई दिइने  लगायतका प्रस्ताव अगाडि सारेका थिए । उक्त प्रस्ताव सर्वसम्वत रुपमा पारित गरिएको हो । 

सभामा सहकारीको अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै समृद्धिको दिशामा आफुहरु अगाडि बढेको संस्थाका अध्यक्ष बज्राचार्यले बताए । उनले भने ‘सहकारीको माध्यमबाट सदस्यहरु बिच आत्मीयता, सद्भाव, र एक आपसमा मैत्री भावको विकास गर्दै सदस्यहरुको आर्थिक उन्नति र व्यवसायिक बनाउने दिशामा हामीहरु अग्रसर रहेका छौं ।’ कार्यक्रममा संस्थाका सल्लाहकार छत्रराज शाक्यले सहकारीले छोटो समयमै समृद्धिको दिशामा फड्को मार्न सफल भएको बताए । उनले संस्थालाई दीगो र प्रभावकारी बनाउन समर्पण, प्रतिवद्धता र पारदर्शी हुनुपर्नेमा जोड दिए । शाक्यले सहकारीहरु अब एक जुट भएर अगाडि बढ्ने बेला आएको धारणा व्यक्त गरे । अर्काका सल्लाहकार देवेन्द्रमान शाक्य र चित्रवलीराम सुवालले कोभिड महामारीका बेलामा पनि सहकारीले उत्कृष्ट सेवा प्रवाह गरेको बताए ।

नवजनचेतना राष्ट्रिय दैनिकका उप–सम्पादक रामचन्द्र रायमाझीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सहकारीलाई आग्रह गरे । उनले अधिकांश सहकारीहरुले अनुत्पादक क्षेत्रमा मात्र लगानी गर्दा संस्था नै बन्द हुन पुगेको बताउदै संस्थालाई दिगो र मजबुत बनाएर लैजानका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने धारण व्यक्त गरे । सम्मानित व्यक्तित्व मदन देउरालीले सहकारीले आफु जस्ता जेष्ठ नागरिकहरुलाई सम्मान गरेकोमा खुसी व्यक्त गर्दै आभार व्यक्त गरे । शेयर सदस्य सुशिल प्रधानले उत्कृष्ट सहकारीको रुपमा आनन्द  सहकारी स्थापित हुन सफल भएको बताए । 

कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा ऋण उपसमितिका संयोजक सरोजलाल शाक्यले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक रुपमा शेयर सदस्य बलियो भए मात्र सहकारी बलियो हुने बताए । उनले सहकारीलाई बलियो बनाउन शेयर सदस्यहरुले सहकारीमै कारोबार गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष विनयराज बज्राचार्यले आर्थिक वर्ष २०८०/०८१ का लागि २ करोड ३९ लाख ६० बराबरको  अनुमानित आयव्यय प्रस्तुत गरेका थिए । लेखा समितिका संयोजक शोभामान बज्राचार्यले लेखा समितिको प्रतिवेदन र सचिव रत्नमान बज्राचार्यले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारीले  जेष्ठ शेयर सदस्य, बालबचतकर्ता,  असल बचतकर्ता, असल कारोबारकर्ता , शेयर सदस्यहरुका छोरा छोरी मध्ये एसइईमा उत्कृष्ट अंक ल्याई उर्तिण हुने   विद्यार्थीहरुलार्य सम्मान समेत गरेको छ । उसले जेष्ठ  शेयर सदस्य नागरिक हरि बहादुर बज्राचार्य, मदन देउराली, तेज काजी शाक्य, देवेन्द्र बहादुर रायमाझीलाई सम्मान गरेको हो । यस्तै एसइईमा उत्कृष्ट अंक ल्याउने सक्षम बुद्धाचार्य, आयुष्मा बज्राचार्य, सुजल शाक्य, कृतिका बज्राचार्य, शुद्धत्त मुनि शाक्य, आनन्द बाल बचतकर्ता तर्फ रिसभ थापा, सेलिना थापा मगर, असल बचतकर्ता चिरन्जिबी मान मर्हजन, नयन कुमारी बज्राचार्य, असल कारोबारकर्ता सरस्वती चोहान र मघराज राकसकोटीलाई सम्मान गरिएको सहकारीका प्रबन्धक प्रकाश शार्मले बताए । संस्थाका अध्यक्ष सर्जुलाल बज्राचार्यको अध्यक्षता, सह–सचिव दिनेश बहादुर बज्राचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो । सहकारीले आफ्ना शेयर सदस्यहरुको आर्थिक समृद्धिसँगै गरिब, महिला, दलित, जनजाति, उत्पीडित तथा विपन्न समुदायहरूको उत्थानमा समेत आफुलाई निरन्तर अगाडि बढाएकोे छ । 


 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update