Shittalpati
 कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा 

विराटनगर,   कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । कोशी प्रदेशसभाको शनिबारको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री कार्कीले यही असोज १७ गते विश्वासको मतका लागि कोशी प्रदेशसभाको सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । कोशी प्रदेशसभाको बैठकमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि मुख्यमन्त्री कार्कीले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

मुख्यमन्त्री कार्कीले नेकपा (एमाले) संविधानको सर्वोच्चताको पक्षमा जहिले पनि उभिने प्रतिवद्धता व्यक्त गर्दै कोशी प्रदेशका जनताले निर्वाचन नचाहेकाले राजीनामा दिएको उल्लेख गरे । उनले अहिलेको नजिर र जटिलताको नजरअन्दाज भएमा मध्यावधीमा जाने निश्चित रहेको उल्लेख गर्दै निर्वाचनलाई रोक्न तथा स्थिर सरकार बनाउन राजनीतिक दलहरुबिच सहमति सहकार्य र एकता हुनु आवश्यक रहेको बताए ।  

कोशी प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले सहमति र सहकार्य गरेर नै सरकार बनाउनु उत्तम विकल्प भएको मुख्यमन्त्री कार्कीको भनाइ थियो । मुख्यमन्त्री कार्कीले गत भदौ २२ गते पद तथा गोयनीयताको शपथ लिएका थिए  । कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा (एमाले) का उपसभामुखसहित ४०, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार, जसपा एक र राप्रपाका ६ प्रदेशसभा सदस्य छन् । – रासस
 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update