Shittalpati
सोमबारदेखि दसैंका लागि टिकट खुला, भाडा नबढ्ने

पाल्पा, यस वर्षको दसैँका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् यही असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो ।

व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् । पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो । टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने मन्त्रालयले जनाएको छ । कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन गर्ने छ । दसैंका लागि मुख्य राजमार्गका खाल्डाखुल्डी पुर्ने र सडकलाई सहज बनाउने कामलाई तीव्र पारिएको भौतिक मन्त्रालयले जनाएको छ । अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने समेत यातायात व्यवस्था विभागले जनाएको छ ।

अघिल्ला वर्षमा दशैं सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष केही ढिला भएको छ । नेपालीको महान चाड दशैंमा घटस्थापनादेखि नै विद्यालय, कलेज लगायतका धेरै संस्था बन्द हुन्छन् । समयमै टिकट खोल्दा घर जान चाहने विद्यार्थीलाई सहज हुने गरे पनि समयमा अग्रिम टिकट बुकिङ नखोल्दा यात्रु दोब्बर÷तेब्बर भाडा तिरेर घर जानुपर्ने अवस्था रहेको छ । यातायात व्यवसायी भने निरन्तर वर्षाका कारण बाटो बिग्रिएकाले यस वर्ष दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन ढिला गरेको हो । हरेक वर्ष दशैं, तिहार र छव पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update