Shittalpati
सहकारीको प्रतिस्पर्धा अब गरिबी निवारणमा हुनुपर्छ : सांसद राना

पाल्पा, लुम्बिनी प्रदेश सभा सदस्य एवं पूूर्व मन्त्री वीरबहादुर रानाले सहकारीको प्रतिस्पर्धा अब गरिबी निवारणमा हुनुपर्ने बताएका छन् । शनिबार  श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाकोे २३ औं वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले अबको प्रतिस्पर्धा त्यसैमा हुनुपर्ने बताएका हुन् । 

उनले कोरोना महामारीपछि देशको आर्थिक अवस्था अत्यन्त कमजोर बन्दै गएकाले सहकारी संस्थाहरु एक आपसमा प्रतिस्पर्धी नभई गरिबी घटाउने कुरामा प्रतिस्पर्धा गर्नु पर्ने धारणा व्यक्त गरे । प्रमुख अतिथि समेत रहेका सांसद रानाले भने ‘हाम्रो प्रतिस्पर्धा अब गरिबी निवारण गर्ने विषयसँग हुनुपर्छ नकि कुनै सहकारीसँग हैन ।’ रोजगारी सिर्जना, उत्पादन र गरिबी निवारणमा सहकारी क्षेत्रको भूमिका बढाउनु अहिलेको आवश्यक रहेको उनले औल्याए । सबैको विश्वास जित्ने गरी काम गर्न सके सहकारी संस्थाहरुमा समस्या उत्पन्न नहुने सांसद रानाले बताए । उनले नेपालमा २०१३ सालमा सुरु भएको सहकारीले जनताको गर्जो टार्ने काम गरेको बताए । सांसद रानाले अब आयआर्जन र उत्पादनसँग जोड्ने गरी काम गर्न सहकारी अभियान्ताहरुलाई आग्रह समेत गरे । उनले भने,‘अहिलेको अवस्थामा सहकारीको माध्यमबाट जीवनलाई सहज र अर्थतन्त्रलाई सुदृढ बनाउने दिशामा सोच्न जरुरी रहेको छ ।’ नागरिकको आर्थिक विकासमा प्रदेश सरकारले जोड दिएको सांसद रानाले बताए । उनले भने,‘नागरिकलाई रोजगार र उद्यमशिलतासँग जोड्ने गरी मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम ल्याएका छौं, उद्यमी र रोगार सिर्जना गर्न सक्नेहरु कार्यक्रममा सहभागी हुन सक्नुहुने छ ।’ रानाले जिल्लाको आर्थिक विकासमा श्रीनगर सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सहकारीको नेतृत्व र कर्मचारीको लगावले सहकारी उत्कृष्ट भएको धारणा व्यक्त गरे । सांसद रानाले भने ‘सहकारीले जेष्ठ नागरिक, अब्बल विद्यार्थी, असल कर्मचारी, बचत कर्ता, उत्कृष्ट ऋणिहरुलाई सम्मान गर्ने परम्परा बसालेकाले पनि यस सहकारीले सबैलाई समेटेर अगाडि बढेको देखिन्छ ।’ सहकारीले बचत र ऋण प्रवाह गर्ने मात्र नभई बहुउद्देश्यीय भावना हुनु नै राम्रो पक्ष रहेको उनले धारणा व्यक्त गरे । सहकारी आफैमा सभ्य समाज निर्माण गर्ने संस्था भएकाले सिर्जनसिलतालाई जोडेर अगाडि बढ्नुपर्नेमा सांसद रानाले जोड दिए । 

कार्यक्रममा बचत तथा ऋण सहकारी संघ पाल्पाका अध्यक्ष जगदीश भट्टराईले बैंकहरु भन्दा सहकारीहरु गरिब, विपन्न नागरिकको  सेवामा समर्पित हुने गरेको बताए । उनले शसस्त्र युद्धको समयमा पनि बैकहरु बाकस कसेर शहर पस्दा सहकारीहरुले जनतालाई ग्रामीण भेगमा सेवा दिएको स्मरण गरे । भट्टराईले सहकारीको मुटु भनेको शेयर सदस्य भएकाले शेयर सदस्यहरु चनाखो हुनुपर्ने धारणा व्यक्त गरे । तानसेन नगरपालिका सहकारी शाखा प्रमुख बिष्णु पौडेलले सहकारीहरुको अनुगमन तथा नियमन गर्ने अधिकार स्थानीय तहलाई रहेकाले सोही अनुरुप नगरपालिकाले काम गरेको बताए । उनले केही सहकारीहरुको कारण सहकारी क्षेत्रमा विकृति आएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । सहकारीबाट बचत भएको रकम उत्पादन मुलक क्षेत्रमा प्रयोग गर्न समेत उनले सुझाव दिए ।

कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष रामजी प्रसाद पौड्याल, सल्लाहकार बुद्धिप्रसाद शर्मा, शेयर सदस्य सकुन्तला बज्राचार्य लगायतले सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष झपेन्द्र गहिरेले सहकारीले १५ करोडको कारोबार गर्न सफल भएको बताए । अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै उनले  यो बर्ष आफ्नै  जग्गामा भवन निर्माण गरी सहकारीलाई प्रविधीमैत्री बनाउने गरी आफुहरु अगाडि बढेको जानकारी गराए । सचिव भरत शर्माले एक करोड १० लाख भन्दा बढी आम्दानी गर्न सफल भएको सहकारीले संस्थागत विकाससँगै २० लाख  नाफा गर्न सफल भएको बताए । सचिवको संगठनिक प्रतिवेदन प्रस्तुत गर्दै उनले भने,‘सहकारीको मर्म, सिद्धान्त र नीति नियम भित्र रहेर कारोबार गर्दै आएकाले पनि हामीहरु अन्य सहकारीहरु भन्दा अग्रस्थानमा आउन सफल भएका हौं ।’ कोषाध्यक्ष बेदराम श्रीसले सहकारीको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले जेष्ठ नागरिक जयकला भट्टराई, बुद्ध लक्ष्मी श्रेष्ठ, विद्या ज्ञवाली, बुद्धिप्रसाद शर्मा, श्रीलक्ष्मी भट्टराई, भुमिश्वरा चुन थापा, डम्विश्वरा राना, गोपाल थापा, हरिश्चन्द्र विक्रम राना, रामराज शर्मा, ज्ञानीश्वरा रसाली, माधवी खनाल, कृष्ण कुमारी भट्टराईलाई सम्मान गरेको छ ।

यस्तै उसले उत्कृष्ट बचततर्फ मिना कुमारी श्रेष्ठ, हिरा बहादुर मल्ल विवेक ढकाल, सञ्जु गुप्ता, विराज शर्मा, उत्कृष्ट ऋणतर्फ श्याम कुमारी दिशा थापा, चन्द्र झेडीलाई सम्मान गरेको सहकारीका प्रबन्धक कविता नेपालले बताईन ।  यस्तै शेयर सदस्यहरुका छोरा छोरी मध्ये एसइईमा उत्कृष्ट अंक ल्याई उर्तिण हुने कौस्तुभ घिमिरे, मधु सुधन गैरे, शैलज बस्याल, उत्कृष्ट कर्मचारीतर्फ दिनेश कुमार थापा र रोशनी रानालाई समेत सम्मान गरिएको छ । सहकारीका अध्यक्ष झपेन्द्र गहिरेको अध्यक्षता, सहकारीकी प्रबन्धक कविता नेपालको स्वागत, सचिव भरत शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update