Shittalpati
गुटबन्दी अन्त्यका लागि जनताबाटै नेतृत्व चुनिनुपर्छ : काँग्रेस नेता पौडेल

रामपुर (पाल्पा), नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले गुटबन्दी अन्त्यका लागि जनताबाटै नेतृत्व चुनिनुपर्ने बताएका छन् । नेपाली काँग्रेस रामपुर नगरपालिका पाल्पाको प्रथम नगर सम्मेलनलाई रामपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता पौडेलले जनताबाटै नेतृत्व चयन गर्ने व्यवस्था लागू भयो भने मात्र पार्टीभित्र हुने गुटबन्दीको अन्त्य हुने धारणा व्यक्त गरे । उनले भने, ‘देशको महत्वपूर्ण कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गरेको काँग्रेस पार्टी अहिले काँग्रेसको पहिचानभन्दा पनि काँग्रेसभित्र गुटको पहिचान रहेको छ । नेपाली समाजको पार्टी रहेको काँग्रेस प्रतिस्पर्धामा खुला ढङ्गले उत्रनुपर्छ ।’

नेता पौडेलले पार्टीका आम कार्यकर्ताले चुनेको मतदान गरेर चुनावमा उठ्न योग्य व्यक्ति मात्रै उम्मेदवार हुन पाउनुपर्ने बताए । उनले काँग्रेसका सबै कार्यकर्ताले अब आफ्नो केन्द्रीय सभापति आफैँ चुन्न खोजे त्यही अनुसारको व्यवस्था गर्न सक्नुपर्ने बताए । उनले भने, ‘यसको मतलब पार्टीलाई मासवेस पार्टीमा रूपान्तरण गर्नुपर्छ । यो क्याडरवेस पनि पार्टी होइन, हामीले व्यवहार जुन गरिरहेका छौँ ।’ काँग्रेसलाई ‘मासवेस’ बनाउने की ‘क्याडर वेस’ भन्ने विषय सोच्ने समय आएको बताउँदै पौडेलले भने, ‘दुई प्रकारको सदस्यता राखेर काँग्रेसलाई मास बेस पार्टी हुन दिईरहेको छैनौं । काँग्रेस बनाउने हो भने नेपाली काँग्रेसलाई मासवेस पार्टी बनाउनु पर्छ ।’

काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले वर्तमान प्रविधिको युग रहेकाले बोलेकै भरमा राजनीति नहुने बताए । उनले समाजको समस्या समाधान मुख्य कुरा भएको भन्दै अब  पार्टी जनताको सेवामा समर्पित हुनुुपर्ने धारण व्यक्त गरे । सभापति श्रेष्ठ जिल्लाका सबै वडा र पालिकामा भेला सम्पन्न गरिसकेको जानकारी गराउँदै पार्टीमा योगदान गरेका जेष्ठ सदस्यलाई सम्मान, पार्टी सुदृढीकरण, सामाजिक कार्य र हितका विभिन्न कार्यमा पार्टीले महत्वपूर्ण काम गरेको बताए ।

काँग्रेसका लुम्बिनी प्रदेश सदस्य कृष्ण प्रसाद अधिकारीले पार्टीलाई विधान अनुसार अगाडि बढाउनु अहिलेको आवश्यक रहेको धारणा व्यक्त गरे । अर्का प्रदेश सदस्य विष्णुमाया ढकालले चुनावका समयमा गरेका घोषणा पूरा गर्दै परिस्कृत ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिईन् । प्रदेश सदस्य सन्दिप रानाले संगठनलाई सुढृद गरेर थप जिम्मेवार भएर अघि बढ्नुको विकल्प नभएको  धारणा व्यक्त गरे ।

कार्यक्रममा गैरआवासिय नेपाली संघका सह– सचिव नारायण काफ्ले, काँग्रेसका जिल्ला उपसभापति ज्ञान बहादुर गाहा, काँग्रेस महासमिति सदस्यहरु रमण बहादुर थापा, देवराज ढकाल, नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति झमन राज मगर, क्षेत्र नं. २ का सभापति मुक्तिराम जिसी, महाधिवेशन प्रतिनिधि हजुर दिन मियाँ, नेपाल महिला संघ रामपुर नगर सभापति शारदा आचार्य, वडा नं. ७ का वडा सभापति दुर्गाप्रसाद भट्टराई लगायतले पार्टी बलियो बनाउने दिशामा सबै एक ढिक्का भएर जानुुपर्नेमा जोड दिए ।

कार्यक्रममा नगर सचिव ओमप्रकाश बस्यालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मोहन भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुुत गरेका थिए । नगर सभापति नेत्रप्रसाद भट्टराईको अध्यक्षता, उपसभापति देवबहादुर थापा मश्राङ्गीको स्वागत, अर्का उपसभापति ज्ञान प्रसाद भण्डारीको धन्यवाद ज्ञापन, सचिव चिरञ्जीवि सिग्देलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update