बुटवल, बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पदमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । संघको सोमबार भएको २५ औं अधिवेशनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई पराजित गर्दै प्यानलसहित निर्वाचित भएका हुन् ।
उनले सात सय ७६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी श्रेष्ठले छ सय ८९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । अर्याललाई नेकपा एमाले निकट उद्योगी व्यवसायीको बलियो समर्थ रहेको थियो । पदाधिकारी र कार्यसमिति सदस्यमा पदाधिकारीमा अर्याल प्यानलका भेषराज गैरे बाहेक अर्याल प्यानलककै उम्मेदवारले जितेका छन् । एक हजार ७ सय ७८ मतदाता रहेकामा १ हजार ५ सय ६ मत खसेको थियो । अर्याल संघका पूूर्व वाणिज्य उपाध्यक्ष हुन् भने श्रेष्ठ वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुन् । अर्याल यसअघिको अधिवेशनमा उज्ज्वल कसजूसँग अध्यक्ष पदमा प्रतिष्पर्धा गरेर पराजित भएका थिए । अर्याल र श्रेष्ठले ९ पदाधिकारी र १७ कार्यसमति सदस्य पदका लागि छुट्टाछुट्टै प्यानल बनाएर प्रतिष्पर्धा गरेका थिए । अध्यक्षका दुबै उम्मेदवार नेपाली काँग्रेस निकट हुन । अर्याललाई पार्टीभित्रको संस्थापन पक्षको र श्रेष्ठलाई संस्थापन इतरको समर्थन रहेको थियो । अर्यालले नेकपा एमाले, राप्रपा,एकीकृत समाजवादी लगायतका दल निकट व्यवसायीलाई समेटेर प्यानल बनाएका थिए ।
यस्तै उद्योगतर्फको उपाध्यक्षमा सुरज भट्टराई विजयी भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा यसअघि नै टंकप्रसाद गैरे र वाणिज्यतर्फको उपाध्यक्षमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका थिए ।
यस्तै संघको महासचिवमा मुक्तिप्रसाद अधिकारी, कोषध्यक्षमा वसन्तप्रसाद ढकाल, सचिवमा प्रतीक पोखरेल चयन भएका छन् । यस्तै सहकोषध्यक्षमा धनकुमारी खनाल, एकमात्र पद एशोसिएट सदस्यमा बालकृष्ण पौडेल विजयी भएका छन् । उद्योगतर्फ सदस्यमा दीपकप्रसाद चापागाईँ, कृष्णप्रसाद पाण्डे, निर्मित कसजु र सुनिता शर्मा बन्जाडे विजयी भएका छन् भने वाणिज्यतर्फ सदस्यमा गणेशप्रसाद भट्टराई, काशीराम शर्मा, रामबहादुर भण्डारी र टीकाराम बन्जाडे विजयी भए । खुलातर्फ सदस्यमा विष्णु घिमिरे (पन्त), विष्णुप्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ विजयी भएका छन् ।