Shittalpati
पाल्पामा चाइनिज कम्पनीको मनपरी, मापदण्ड विपरीत क्रसर प्लान्ट

पाल्पा, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित ढापमा मनपरी रुपमा क्रसर प्लान्ट सञ्चालनमा ल्याउन लागेको छ । सिद्धबाबा सुरुङ्गमार्ग परियोजना अन्तर्गतको यो कम्पनीले मापदण्ड विपरीत क्रसर र रेडिमिक्स प्लान्ट सञ्चालनमा ल्याउन लागेको हो ।

उसले अहिले उद्योगका लागि आवश्यक भौतिक संरचना निर्माणको ९५ प्रतिशत काम सकिसकेको छ । प्लान्ट सञ्चालनका लागि आवश्यक न्यूनतम  मापदण्ड समेत  पालना नगरी कम्पनीले प्लान्ट सञ्चालन गर्न लागेका हो। उसले प्लान्ट सञ्चालनका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइईई), वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गरेको छैन भने दुरी सम्बन्धी मापदण्डको समेत पालना गरेको देखिदैन । सिद्धार्थ राजमार्गदेखि ५० मिटर दुरीमा प्लान्ट सञ्चालनमा छ । त्यति मात्र होइन, तिनाउ खोला र पक्की पुलदेखि एक सय मिटरको दुरीमा प्लान्ट रहेको छ । प्लान्ट नजिकै २० मिटरको दुरीमा बस्ती छ भने २ सय मिटरको दुरीमा पालिकाको केन्द्र रहेको छ । जहाँ प्लान्ट सञ्चालनका लागि राजमार्ग, खोला वा नदि किनार र पक्की पुलबाट ५००/५०० मिटरको दुरीको मापदण्ड हुनुपर्दछ । त्यसको कम्पनीले बेवास्ता मात्र गरेको छैन्,  दुरी प्रमाणित गर्ने निकाय स्थानीय निकायलाई समेत जानकारी छैन् । कुनै पनि उद्योग सञ्चालन गर्दा प्रभावित क्षेत्रका नागरिकहरुसँग राय, सुझाव र छलफल गर्नु पर्ने भए पनि उसले त्यो पनि गरेको छैन् । कम्पनीले स्थानीय र सधिंयारसँग समेत कुनै पनि छलफल गरेको छैन् । उद्योगले एक्लौटी रुपमा हेभी रेडिमिक्स प्लान्ट र ठूलो मेसिनसहितको क्रसर प्लान्ट सञ्चालन गर्न लागेपछि स्थानीयले आपत्ति जनाएका छन् । उनीहरुले आफुुहरुसँग सामान्य पनि छलफल नगरी दादागिरी शैलीमा उद्योग सञ्चालन गर्न लागेको स्थानीय विष्णुप्रसाद पाण्डेले बताए । उनले भने ‘उद्योगले सामान्य मापदण्ड पनि परिपालना गरेको छैन, उसले न आइईई गरेको छ नत दुरीको मापदण्ड नै । स्थानीयसँग समेत उसले छलफल र परामर्श पनि गरेको छैन् ।’  मनपरी उद्योग सञ्चालनले वस्तीलाई ठूलो असर पुर्‍याउने पाण्डेले बताए । उनले  भने ‘मानवले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको समेत बेवास्ता गरी जवरजस्ती रुपमा प्लान्ट सञ्चालन गर्न लागेकाले त्यसलाई कुनै पनि हालतमा हामीले सञ्चालन गर्न दिदैनौं ।’ अवैध उद्योगका कारण आफुहरु पलायन नै हुने अवस्था सिर्जना हुन सक्ने भन्दै स्थानीयले गत भदौ २२ गते क्रसर उद्योग निमार्ण कार्य रोक्नका लागि तिनाउ गाउँपालिका र उद्योग कम्पनीलाई पत्र समेत पठाएका थिए । उद्योगले भने उनीहरुको आग्रहलाई वेवास्ता गर्दै प्लान्ट सञ्चालनको तयारी अगाडि बढाएको छ ।

गाउँपालिकाले पटक– पटक कागज पत्र जुटाउन आग्रह गरे पनि कम्पनीले त्यसको वेवास्ता गरेको पालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । उनले भने ‘स्थानीयहरुबाट निवेदन आईसकेपछि कम्पनीलाई प्रमाणहरु जुटाउन आग्रह गरे पनि भौतिक पूर्वधार मन्त्रालयको स्वीकृत पत्र बाहेक अन्य प्रमाण जुटाउन सकेको छैन् ।’ प्लान्ट विषयमा कार्यपालिका, सर्वदलिय बैंठक बसेको अध्यक्ष श्रेष्ठले बताए । उनले भने‘ उद्योगले आफुहरुले ९५ प्रतिशत पूर्वाधारको काम सकेकाले केही समय हामीलाई काम गर्न दिन र त्यसबाट कुनै हानी नोक्सानी भए बल्ल प्रक्रिया अगाडि बढाउन भने पछि  सर्वदलीय बैंठकबाट एक छिन उनीहरुको काम हेर्ने गरी सहमति भएको छ ।’ उनीहरुको कामले कुनै पनि हानी नोक्सानी भएमा त्यसलाई तत्कालै रोकिने उनले बताए ।   

सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयकी इन्जिनियर सविता ज्ञवालीले भने आफुहरुले आइईई स्वीकृत गरेरै काम अगाडि बढाएको दावी गरिन् । उनले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सुरुङमार्ग कै क्रसर प्लान्ट भएकाले व्यवसायिक क्रसर उद्योगले जस्तो आइईई र मापदण्डको पालना गर्न नपर्ने सम्झौतामै रहेको भन्दै कम्पनीको बचाउ गरिन् । परियोजना सुरु हुनु भन्दा अघि नै आइईई गरी मन्त्रालयबाट स्वीकृत गराईएको भने पनि स्थानीय सरकारलाई उपलब्ध गराईएको कागजमा भने कतै पनि आइईई उल्लेख नगरिएको पालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । इन्जिनियर ज्ञवालीले स्थानीयहरुबाट केही गुनासो आएकाले त्यसमा समाधान गर्ने गरी परियोजना अगाडि बढेको बताईन् । उनले भनिन् ‘स्थानीयहरुले ध्वनी,वातावरण प्रदुषण हुदा आफुहरु समस्यामा पर्ने बताउँदै आएकाले त्यसको समाधानका लागि निर्माण व्यवसायीलाई आइईईमा भएर अनुसार काम गर्न निर्देशन गरेका छौं ।’ १५ दिन परीक्षणको रुपमा काम गर्ने गरी अहिले सहमति भएको उनले बताए पनि स्थानीयले भने आफुहरुसँग कुनै पनि सहमति नभएको बताउँदै आएका छन् । कम्पनीले सुरुङमार्गबाट निस्कने म्याटरहरुको उपयोगका लागि यहाँ क्रसर प्लान्ट निर्माण गर्न लागेको हो । यहाँको म्याटर यही नै उपयोग गर्नका लागि प्लान्टर सञ्चालन गर्न लागेको परियोजनाकी इन्जिनियर ज्ञवालीले बताईन् ।  

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update