Shittalpati
समृद्धिको यात्रामा फड्को मार्दै लक्ष्मी सहकारी

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा २०५९ सालमा स्थापना भएको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले २१ वर्षे यात्रामा समृद्धिको फड्को मारेको छ । बचत गर्ने बानी बसाल्ने सोंचका साथ स्थापित यस सहकारीले आफुलाई समृद्धिको दिशामा अब्वल बनाउँदै लगेको हो ।

सहकारीले आफ्ना शेयर सदस्यहरुको आर्थिक समृद्धिसँगै गरिब, महिला, दलित, जनजाति, उत्पीडित तथा विपन्न समुदायहरूको उत्थानमा समेत आफुलाई निरन्तर अगाडि बढाएको छ । आर्थिक समृद्धिको मेरुदण्ड सहकारी भएकाले पनि लक्ष्मी सहकारीले शेयर सदस्यहरुमा सामूहिक भावनाको विकास गरी उपलब्ध श्रम, सीप, श्रोत साधन, पुँजी र प्रविधिको माध्यमबाट समृद्धिको यात्रालाई पहिल्याएको हो । ‘सबैका लागि एक र एकका लागि सबै’ नै सहकारी हो भन्ने आम बुझाइलाई सार्थकता दिदै सहकारीले वित्तीय सेवामा फड्को नै मारेको छ । ऋण लगानी, वित्तीय पहुँचमा वृद्धि, महिलाको क्षमता वृद्धि, सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानीलगायतका वित्तीय कारोबारमा अब्बल बन्दै सहकारी समृद्धिको दिशामा अगाडि बढ्दै आएको छ । यस सहकारी संस्थाले सदस्य केन्द्रित कार्यक्रमलाई जोड दिदैं समुदायमा देखा परेका अनेकन समस्याहरुको समाधान, आर्थिक सम्वृद्धिका क्षेत्रमा खेलेको भूमिका कारण यो सहकारी जिल्लामै अब्बल सावित बन्दै गएको हो ।

 ३० जना शेयर सदस्यहरुबाट सुरुवात गरेको सहकारीमा अहिले २ हजार ७ सय ४१ सदस्य रहेका छन् । जसको शेयर पुँजी दुई करोड ७ लाख ७३ हजार छ भने बचत संकलन ३१ करोड ५० लाख रहेको छ । वित्तीय सहकारी अभियानमा जागरण, सशक्तिकरण, व्यवसायिकीकरण, गुणस्तरिय सुनिश्चिता, संस्थागत वृद्धि र निरन्तर समृद्धिको खाका तय गर्दै यस सहकारीले शनिबार २१ औं वार्षिक सधारण सभा गरेको छ । सहकारीको अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै समृद्धिको दिशामा आफुहरु अगाडि बढेको संस्थाका अध्यक्ष हरी रायमाझीले बताए । उनले भने ‘सहकारीको माध्यमबाट सदस्यहरु बिच आत्मीयता, सद्भाव, र एक आपसमा मैत्री भावको विकास गर्दै सदस्यहरुको आर्थिक उन्नति र व्यवसायिक बनाउने दिशामा हामीहरु अग्रसर रहेका छौं ।’  शेयर सदस्यहरुको दुर्घटना बीमा बापतको रकम यस वर्ष ५ लाख कायम गरिएको अध्यक्ष रायमाझीले बताए । उनले शेयर सदस्यहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने रोग लागेमा संस्थाले आफ्नो गच्छे अनुसार सहयोग गर्ने पनि बताए ।

सभामा सचिव उत्तमकुमार बज्राचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सहकारीको मूल्य र मान्यतालाई आत्मसाथ गरी आर्थिक वर्ष २०७९÷८० मा ११ लाख ९ हजार १ सय ५ बचत नाफा गर्न सफल भएको बताए ।  उनले चालु आर्थिक वर्ष २ करोड ५० लाख कर्जा लगानी गर्ने र ३१ करोड ५० लाख बचत फिर्ता गर्ने  योजना रहेको समेत जानकारी गराए । संस्थाका कोषाध्यक्ष प्रविन बज्रचार्यले संस्थाको आय व्यव प्रस्तुत गरेका थिए । कार्यक्रममा क्षयरोग निवारण संघ पाल्पाकी सभापति शोभा शाक्य, जेष्ठ शेयर सदस्य छत्रराज शाक्य, सम्मानित व्यक्तित्व सौन्दर्यवती शाक्य, सहकारीका व्यवस्थापक नविन बज्राचार्य लगायतले सहकारीले दुई दशकको अवधिमा समृद्धिको दिशामा फड्को मार्न सफल भएको बताए । सहकारीले असल कारोबार गर्ने  र जेष्ठ शेयर सदस्यहरुलाई सम्मान समेत गरेको छ । उसले जेष्ठ शेयर सदस्य राधादेवी रायमाझी, लक्ष्मी सिंह, नुरबहादुर कुंवर, लोकबहादुर रावल, छत्रराज शाक्यलाई सम्मान गरेको हो । यस्तै सहकारीले असल बचत गर्ने शान्ति शाही, आइतेमान नेपाली, मौसमी चिदी, रुक्मागत पाण्डे, देवराज श्रेष्ठ, कल्पना महर्जन, प्रतिक्षा उदय, सौन्र्दयवती शाक्यलाई सम्मान गरेको छ । व्यवस्थापकको विदाई साधारण सभाको अवसरमा सहकारीले कूशल व्यवस्थापक नविन बज्राचार्यलाई विदाई गरेको छ । सहकारीमा संस्थापक व्यवस्थापकको रुपमा रही २१ वर्ष सेवा गरेका बज्राचार्यलाई सम्मान सहित विदाई गरेको हो । 

बज्राचार्यले संस्थालाई आर्थिकरुपमा सक्षम र स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेकै कारण असल व्यवस्थापकका रुपमा सहकारीले लिएको छ । व्यवस्थापक बज्राचार्यले कार्यसम्पादनमा सहकारीका सञ्चालक, कर्मचारी, शेयर सदस्यहरुले आफुहरुलाई ठूलो सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिए । संस्थाका अध्यक्ष हरी रायमाझीको अध्यक्षता, उपाध्यक्ष ओमप्रसाद मलेगोको स्वागत, सचिव उत्तमकुमार बज्राचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update