पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी स्थित रैनादेवी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले एक पूर्व शिक्षकलाई स्कुुटी उपहार दिएका छन् । २२ वर्ष अध्यापन गराएका पूर्व शिक्षक थमनबहादुर साठीघरेलाई पूर्व विद्यार्थीहरुले भुवनपोखरी रुपन्देही सम्पर्क समाज र शुभचिन्तकहरुको अग्रसरतामा चन्दा संकलन गरी स्कुुटर उपहार दिएका हुन् ।
पछिल्लो सयम आधुनिकताको नाममा गुरु र चेलाको सम्बन्ध, शिष्टचार, आदर, मान सम्मान तथा नैतिकता हराउँदै गएको बेला यहाँका विद्यार्थीहरुले पूर्व शिक्षकप्रति सम्मान प्रकट गर्दै तीन पाङ्ग्रे फरक क्षमता मैत्री स्कुटर प्रदान गरेको हुन् । गुरु र चेला, शिक्षक र विद्यार्थी बिचको सम्बन्ध राम्रो हुनुपर्छ, एक अर्कालाई दुःख पर्दा सहयोग आदान–प्रदान गर्नुपर्छ भन्ने अभियानका साथ विद्यार्थीहरुले शिक्षक साठीघरेलाई दैनिक जीवनयापनको लागि फरक स्कुटर उपहार दिएको जनाएका छन् । पूर्व शिक्षक साठीघरेले २०५३ सालदेखि २०७५ सालसम्म अध्यापन गराएका थिए । वि.स. २०७० सालमा स्थायी घर हालको बगनासकाली गाउँपालिका–७ खानीगाउँ जादै गर्दा उनी जिप दुर्घटना परी घाईते भएका थिए । उनको कम्मरबाट मुनिको भागले काम गर्दैन । यस्तो अवस्थामा समेत साठीघरेले काठको ठेला गाडी बनाएर कर्मथलो भुवनपोखरीमा दैनिक जिविकोपार्जन गर्दै आएका छन् ।
हिम्मतका साथ नियमित काम गर्दै आएका उनलाई पूर्व विद्यार्थीहरुले सम्मान स्वरुप उपहार दिएका हुन् । फरक क्षमता भएका व्यक्तिहरुलाई अपहेलना गर्ने, बेवास्ता गर्ने, माया ममता नदिने प्रवृत्ति हावी हुँदै गएको बेला यहाँ पूर्व विद्यार्थीहरुले भने फरक क्षकताका शिक्षकलाई सम्मान गरेर समाजमा सकारात्मक सन्देश दिएका छन् । साठीघरेको साहश र हिम्मत, जोश जागर, आत्मबल सपाङ्गको भन्दा कम छैन । उनले होटल व्यवसाय समेत सञ्चालन गर्दै आएका छन् । अर्को तर्फ वडा कार्यालय नजिकै हँुदा पूर्व शिक्षक साठीघरेले फोटोकपी तथा फोटो खिच्ने, धुलाउने, निवेदन लेख्ने जस्ता कामहरु नियमित रुपमा गर्दै आएका छन् । साठीघरेको शारिरीक अवस्थाको कारण यता, उता, हिड्डुल गर्न ठेला, गाडाबाट कठिनाई देखेकै कारण पूर्व विद्यार्थीहरुले सबैको सहयोगमा स्कुटी प्रदान गरेका हुन् ।
वडा अध्यक्ष एवं विधालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप पौडेल सहित, अभियानमा सहभागी पूर्व विद्यार्थी, भुवनपोखरी रुपन्देही सम्पर्क समाजका पदाधिकारी, शुभचिन्तक, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले एक औपचारिक कार्यक्रमकाबिच साठीघरेलाई स्कुटरको चावी हस्तान्तरण गरेका थिए । चावी हस्तान्तरण गर्दै वडा अध्यक्ष पौडेलले यो अभियानले ईच्छा, चाहाना र समर्पित भएमा हरेक कामहरु सफल हुने भएकाले सबैको सहयोगले महान अभियान सफल भएको बताए । विद्यालयका प्रधानाध्यापक रिषिराम पोखरेलले विद्यार्थीहरुले आर्जन गरेको शिक्षा समाज सेवामा लगाउनु पर्नेमा जोड दिए । पढेर उच्च अंक ल्याउँदैमा राम्रो व्यक्ति बन्न नसकिने भएकाले अरुको दुःख कष्ट, पिर मर्कामा सहयोग गर्नु नै महान काम भएकाले सबैले यसको सिको गर्नुपर्ने पोखरेल बताए । पूर्व शिक्षक साठिघरेले विद्यार्थीहरुले गरेको सहयोग कहिल्यै भुल्न नसकिने र जस्तो सुकै अवस्थामा हिम्मत बनाएर काम गरेमा जीवन सफल हुने बताए । काठमाडौंमा भुवनपोखरी रुपन्देही सम्पर्क समाजका उपाध्यक्ष तुल्सीराम पौडेल, पूर्व प्रधानाध्यापक मानबहादुर राउत, पूर्व विद्यार्थी गिरिराज पाण्डे, अमृत बेवारे, अभियान्ता शिक्षक उमेश अधिकारी लगायतले सबैले एक अर्काको दुःख पिर मर्कामा सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए ।