पाल्पा, १५ वर्ष अघि पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरेका केही गाउँमा बिजुली ल्याउने चर्चा चल्यो, तर विजुली ल्याउने कुरा गर्दा कसैले पत्याउँदैन्थ्ये । स्थानीयको प्रश्न हुन्थ्यो, ‘यस्तो विकट गाउँमा कसरी बिजुली बल्छ ?’ वर्षौंदेखि दियालो र टुकीको भरमा रात काट्दै आएका स्थानीयको यहीँ प्रश्नको उत्तर दिने साहस कसैले गरेनन् । बरु १४ वर्ष अघि यहाँ विजुली ल्याउन लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्थाले काम थाल्यो तर १४ वर्षपछि उसले लामेदमार, गोडडाँडा, डेलखरक र मतियारडाँडा लगायतका गाउँमा विद्युत पुर्याए पनि ज्यामिरे, बतासा, मोटेखरक, अधमारा, सिन्दुरे, सिमलडाँडा र मोटेखरकलाई भने बञ्चित गर्यो । त्यसपछि त झन् गाउँलेले बिजुलीबत्ती बाल्ने सपना नै मारिदिए । बतासामा २४ असोजमा बिजुलीबत्ती उद्घाटन हुने खबर गाउँभरी फैलियो । गाउँमा बिजुलीबत्ती बाल्ने सपना मारेर बसेका अधिकांश बासिन्दाले त्यसलाई हल्लाका रुपमा लिए, धेरैले पत्याएनन् । तर जब गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बतासमा रहेको स्विच थिचे, तब बिजुली बल्यो । बिजुली बलेपछि ज्यामिरेका ५२ वर्षीय मनु सारु दंग छन् ।
‘बत्ती बलेको देख्दा निकै खुसी लागेको छ,’ सारुले भने, ‘हाम्रो गाउँ पनि उज्यालो हुने भयो ।’ विद्युत नहुँदा घरमा टुकी बाल्थे । उखरमाउलो गर्मीमा चाहेर पनि पंखा राख्न सकेका थिएनन् । ‘अब सजिलो हुने भयो,’ उनले भने । सोही वडाकै सिन्दुरे गाउँका ६० वर्षीय दीपक रानाले पारीको गाउँमा घरबाटै बिजुली बलेको देख्थे । आफ्नोतर्फ भने अन्धकार नै थियो । ‘बत्ती नहुँदा धेरै दिक्कत सहनुपरेको थियो,’ उनले भने, ‘केटाकेटीले राम्रोसँग पढ्न पाउँथेनन् ।’ ‘टुकी र सोलार बालेर जसोतसो रात काट्दै थियौँ तर, विद्युतीय उपकरण सञ्चालन गर्न समस्या भइरहेको थियो, रानाले भने, ‘गाउँमा बिजुली पुगेपछि हामी निकै नै खुसी छौँ, अब हाम्रो पनि दैनिकी सहज हुनेछ ।’ अँध्यारोमा टुकीको भरमा रात काट्दै आएका राना र सारु जस्तै २ सय बढी घर परिवार अहिले केन्द्रीय प्रसारण लाइन पुगेपछि खुसीले गदगद छन् ।
गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले स्थानीयको मेहनत, साथ र सहयोगका कारण लामो समयको प्रयासपछि बिजुली बाल्न सफल भइएको बताए । पालिकाभित्र बाँकी रहेका स्थानमा केन्द्रीय प्रसारण लाइनको सेवा विस्तार गर्ने उनले बताए । वडा अध्यक्ष मुक्तबहादुर पाटाले भने, ‘वडावासीको सपना पूरा भएको छ, हामी वर्षौंपछि अन्धकारबाट मुक्त भएका छौं । उज्यालोसँगै गाउँमा समृद्धिको प्रवेश भयो, अब गाउँको जीवनस्तरमा पनि सुधार आउनेछ ।’ यहाँका यी गाउँहरुहरु बिजुली विस्तार भएसँगै अब विकट मानिने मनोधारम, देवोको, मदनपुर, क्षेत्रीखरक, बाहुनेखरक, पाहसिं लगायतका ठाउँहरुमा पनि बिजुली पुर्याउने गरी विद्युत निर्माणको प्रक्रिया अगाडि बढेको वडा अध्यक्ष पाटाले बताए । उनका अनुसार गाउँपालिकामा अधिकांश बस्तीहरु छरिएर रहेका छन् । अहिले करिब २ सय २५ घरधुरीमा केन्द्रीय प्रसारण लाइन पुगेको वडा अध्यक्ष पाटाले शित्तलपाटीलाई जानकारी दिए ।
विद्युतका लागि ज्यामिरेका स्थानीयले पैसा बुझाएको भए पनि १५ वर्ष सम्म पनि बिजुली बाल्न नपाएपछि निराश बनेका थिए । ढिलै भएपनि गाउँमा बल्ल बिजुली बलेपछि स्थानीय अहिले उत्साहित भएका छन् । यसअघि सामुदायिक विद्युत प्रसारण लाइनबाट यहाँका चारघरे, घुल्लीखरक, पोखरीछाप, हुवास र दार्सिङबासमा विद्युत सेवा पुगिसकेको छ । अहिले निस्दीको बेभोके, रोल्लाबास, मदनपुर लगायतका टोलमा विद्युत विस्तारका लागि खम्बा गाड्ने र तार तान्ने काम भइरहेको छ । मदनपुरमा अहिलेसम्म सडक विस्तार हुन नसक्दा विद्युतको काममा गाह्रो भएको वडा अध्यक्ष पाटाले बताए । यहाँ हरेक निर्वाचनमा विद्युतको विषय नै मुख्य नारा बन्ने गर्दछ तर कार्यान्वयन नहुँदा वर्षौैदेखि नागरिक टुकीको भरमा रात बिताउँदै आएका छन् । सरकारले देशमा उत्पादन भएको विजुली भारत निर्यात गर्दै आए पनि यहाँका जस्ता गाम्रीण क्षेत्रमा भने अझै विजुली पु¥याउन सकेको छैन ।