Shittalpati
प्रेस काउन्सिलका मुख्य अधिकृत भुसालले गरे कैलाशनगर मिडियाको अनुगमन

पाल्पा, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भूसालले कैलाशनगर मिडिया प्रालिको अनुुगमन गरेका छन् । उनले सोमबार मिडियाको प्रधान कार्यालय रहेको तानसेनस्थित शितलपाटीबाट सञ्चालित नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकमको अनुमगन गरेका हुन् ।  

मिडियाहरुको अनुगमन  गर्दै मूख्य अधिकृत भूसालले पछिल्लो समय प्रिन्ट मिडियाहरु समस्यामा पर्दै गएका बेला कैलानगर मिडियाले व्यवस्थित ढंलले नियमित पत्रिका प्रकाशन गरेकोमा मिडियाको प्रशंसा गरे । उनले दैनिक रुपमा पत्रिका प्रकाशन गर्नु चुनौतिको विषय भए पनि मिडियामा आवद्ध पत्रकारहरुको मेहनत र लगनशीलताले प्रकाशनलाई निरन्तरता दिएकोमा खुसी व्यक्त गरे ।

मुख्य अधिकृत भूसालले मिडियाले आफुुहरुलाई थप परिस्कृत गरेर लैजान सके प्रिन्ट मिडियाको भविष्य रहेको बताए । उनले कोही कतै  नसमेटिएका विषयहरुलाई प्राथमिकताका साथ उठान गर्ने, स्थानीय तहका गतिविधिहरुलाई बढी भन्दा बढी प्राथमिकतामा राख्न सके आम पाठकहरुले पत्रिका खोजी खोजी पढ्न सक्ने विश्वास व्यक्त गरे । मुख्य अधिकृत भुसालले मिडियाहरुलाई सहज रुपमा सञ्चालन गर्ने गरी नीति बनाउन छलफल भइरहेको समेत बताए । उनले मिडियाहरुलाई सहज होस् भनेर मिडिया विकास कोष सञ्चालनमा ल्याइएको बताए । भुसालले भने ‘मिडियालाई आधुनिकीकरण तथा व्यवसायीकरण गरी नेपाली पत्रकारिता क्षेत्रको समुचित विकासका लागि सञ्चार माध्यमहरुलाई सहायता प्रदान गर्ने उद्देश्यले मिडिया विकास कोषको स्थापना गरिएको हो ।’ उक्त मिडिया कोषमार्फत कैलाशनगर मिडियाले  गत १६ वर्ष पहिला प्रेस समेत खरिद गरेको थियो । काउन्सिलको व्याज अनुदानमा  मिडियाले प्रेस खरिद गरेको हो । उक्त प्रेसको समेत मुख्य अधिकृत भुुसालले अनुगमन गरेका छन् । उनले प्रेसको अनुगमन गर्दै मिडिया विकास कोषको कैलाशनगर मिडियाले सहि सदुपयोग गरेको बताए ।  अहिलेको अवस्थामा मिडियाहरु मर्ज गरेर जाने कुरामा पनि काउन्सिलमा छलफल भइरहेको उनले बताए ।

मुख्य अधिकृत भुसालले भने‘ मिडियाहरु एक आपसमा मर्ज भए सञ्चालनमा सहज हुन्छ, सरकारले दिने अनुदानले पनि ति मिडियाहरु सक्षम बन्न सक्छन् ।’ उनले स्थानीय विज्ञापन स्थानीय मिडियाहरुमै दिनुपर्नेमा जोड दिए । मुख्य अधिकृत भुसालले काउन्सिलले मिडियाका लागि आवश्यक सहयोग गर्ने समेत बताए ।

मिडियाका अध्यक्ष तथा सम्पादक जगदीश भट्टराईले मिडिया सञ्चालनमा समस्या आएको बताए । उनले सरकारी नीतिका  कारण निरन्तर प्रकाशन हुुँदै आएका मिडियाहरु बन्द हुने अवस्थामा पुगेकाले त्यसतर्फ ध्यान दिन काउन्सिलका मुख्य अधिकृत भुसाललाई आग्रह गरे । सम्पादक भट्टराईले विज्ञापनको बजार नहुँदा समेत मिडियाहरु खोल्ने वा बन्द गर्ने अवस्थामा पुगिएको बताए । सोही अवसरमा दैनिकका उपसम्पादक रामचन्द्र रायमाझीले मिडियाको अहिलेको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

दैनिकका पाल्पा संवाददाता कृष्ण पोखरेल, लेखक दुर्गा अर्याल लगायतले जिल्लामा दैनिक प्रकाशन गर्नु चुनौतिको विषय भएकाले त्यसतर्फ सरकार र सम्बन्धित निकायले  ध्यान दिनुपर्ने बताए । मुख्य अधिकृत भूसाल सहित देवीबहादुर राना, हरीकृष्ण अधिकारी लगायतको टोलीले मिडियाको अनुगमन गरेको हो । उनीहरुले कैलाशनगरमा रहेको युनिक एफएमको समेत अनुगमन गरेका छन् ।  

  

पत्रकार महासंघका अध्यक्षसँग छलफल

यस्तै काउन्सिलका मुख्य अधिकृत भुसालले पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना र सचिव यज्ञमूर्ति तिमिल्सीनासँग  समेत छलफल गरेका छन् । उनले जिल्लाको पत्रकारिताका बारेमा छलफल गरेका हुन् । महासंघका अध्यक्ष रानाले जिल्लाका मिडिया र पत्रकारहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए ।  मुख्य अधिकृत भुसालले महिलाहरुको क्षमता अभिवृद्धिका लागि तालिमहरु सञ्चालन गर्ने र सूचना प्रविधिहरुलाई थप व्यवस्थित बनाएर लैजाने विषयमा काउन्सिलले काम अगाडि बढाएको बताए ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update