गुल्मी, गुल्मीमा मानव अधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझाएका छन् । सोमबार मुलुकमा विद्यमान कहालीलाग्दो दण्डहीनताको अन्त्य गरी सुशासनको प्रत्याभूति गर्दै लोकतान्त्रिक गणतन्त्रको आदर्शलाई आत्मसात गर्न भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
मानव अधिकार तथा शान्ति समाज गुल्मीले दश बुँदे माग सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको जनाएको छ । उसले चुलिदो भ्रष्टाचार, दण्डहीनता र बढ्दो महंगीका कारण नागरिकहरुमा वितृष्णा बढ्दै गएकाले कुनै पनि बेला विष्फोट हुन सक्ने खतरातर्फ ध्यानाकर्षण गराउँदै सुशासनको प्रत्याभूति गर्न र दण्डहीनता अन्त्य गरी शान्तिको अनुभूति दिलाउन सरकार समक्ष आग्रह गरेको छ ।
मानवअधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि विभिन्न नारा लेखिएका प्लेकार्ड सहित कुशासन र दण्डहीनता विरुद्ध प्रर्दशन गरेका थिए ।
विरोध प्रर्दशनमा सभापति ढुण्डीराज पोखरेलसँगै उपसभापति डोरविक्रम श्रीस्, नेपाल नागरिक समाजका अध्यक्ष गुणानिधि शर्मा, सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डे, विनोद पाण्डे लगायतको सहभागिता रहेको थियो । विरोध प्रर्दशन कार्यक्रमको सञ्चालन समाजका सचिव गणेश अधिकारीले गरेका थिए ।