Shittalpati
महान पर्व बडा दसैँ : दशा होइन, उत्सव बनोस्

जगन्नाथ पन्त

दसैँ र तिहारको बारेमा नबुझेका नेपाली को पो छौं र । त्यसमा पनि हिन्दू नेपालीले जन्मजात यी चाडवर्पको महत्व बुझेकै छौं । दसैँ सबैले मनाउँदै आइएको भएता पनि पहिले र अहिलेकोमा धेरै फरक पाइन्छ । पर्वको आफ्नै महत्व रहेको छ । ठाउँ, परिवेश अनुसार पर्व मनाउने तरिका फरक भएपनि त्यसले दिने सन्देश र महत्व एउटै हुन्छ । गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान भेगमा मनाइने पर्वको रितीरिवाजका बारेमा जानकारी दिने र बाल्यकालका सम्झनाहरुलाई यहाँ चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ ।  

दसैँंको धार्मिक पक्षः  
सुरम्य छन् हाम्रा पर्वहरु । नेपालमा मनाइने सबै चाड र पर्वहरुले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सबल बनाउँदै आएका छन् । त्यसमा पनि शरद ऋतुको याममा पर्ने दसैैं, तिहार र छठ पर्वको विशेष महत्व रहेको छ । पन्ध्र दिन सम्म मनाइने दसैँलाई सबै भन्दा ठूलो पर्वको रुपमा मनाइँदै आइरहेको छ । हिन्दूहरुको महान पर्व भनिने दसैँको पहिलो दिन कोट (कोत), मन्दिर र घर–घरमा देवी भगवतीको  विशेष आराधना सहित घटस्थापना गरी शुभसाइतमा जमरा राखिने र नौ दिनसम्म नित्य पुजा गरिने भएकाले नवरात्रि  पनि भनिन्छ । शक्ति स्वरुपा भगवती देवीलाई प्रथमं शैलपुत्री द्वितीयं ब्रम्हचारिणी तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् । पञ्चमं स्कन्दमातेति षष्ठमं कात्यायनीति च । सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् । नवमं सिध्दिदात्री च  नवदुर्गा  प्रकृतिता । उत्तान्येतानि नामानि ब्रह्मणैव महात्वमना । भनेर नबौ दिन सम्म आराधना गरिन्छ ।  त्यसै गरी ॐ जयन्ती, मंगलाकाली भद्रकाली  कपालीनी । दुर्गा क्षमा  शिवा धात्री स्वाहा स्वधा नमो अस्तुते । जय त्वं देवि चामुण्ये जय भूतार्तिहारिणि । जय सर्वगते देवि कालरात्रि नमो अस्तु ते । भनेर पुकारिने हुँदा प्रतिपदादेखि नवमि सम्मलाई  नवरात्रि वा नवदुर्गा भनि पुजा आराधना गरिन्छ । नवदुर्गाको  पुजाको प्रसादको रुपमा प्रतिपदा अर्थात् घटस्थापनामा  स्थापना गरेको घडा वा कलशको जल शेचन गरेर उक्त दिन राखेको जौ गहुँ मकैको जमरा र टिका  दशमीका दिन मान्यजनबाट ग्रहण गरी आशिर्वाद लिईन्छ । प्रसाद आशिर्वाद लिने, दिने क्रम ठाउँ र चलन अनुसार पूर्णिमा सम्म रहन्छ ।

 सप्तमीका दिनलाई  फूलपात्री पनि भनिन्छ । कोतुमन्दिर र घर–घरघरमा नवपत्रिका अर्थात् दारिम, अदुवा, फूलपाती सहितका नौ थरिका फूल तथा पातहरु पुजास्थलमा प्रवेश गराइने र उक्त दिन अस्त्र शस्त्रहरुको पुजन समेत गरिन्छ । निशान (पल्टन विशेषका प्रतिक) खुडा तरवारु हसिया बन्दुक आदि हातहतियारको सरसफाइ गरि पुजा गरिन्छ । दुर्गा भवानीले विभिन्न रुप धारण गरी नौ दिन सम्म युद्ध गरेर असुरहरुको नास गरेको र दशौ दिन भगवान तथा देवताहरुले विजय उत्सव मनाएको संझनामा दशमीका दिनलाई विजया दशमीको रुपमा मनाइने गरिएको हो भन्ने मान्यता छ । भगवान श्रीरामचन्द्रले  नवमीका दिन रावण बध गरेको खुसियालीमा दशमीका दिनलाई विजय उत्सव वा श्रीरामको जन्म नवमिमा भएकाले दशमीलाई  खुसियाली उत्सवको दिन मानिएको पाईन्छ । पूर्णिमालाई कोजाग्रत अर्थात् रातभरी जो ननिदाई उपासना गरेर जागा रहन्छ, त्यसलाई लक्ष्मीले चियो गरेर धनधान्यले पूर्ण गरी दिन्छन् भन्ने मान्यता छ । द्वितीयाका दिन उदाउँदो धर्सो आकारको  चन्द्रमाको दर्शन गर्नाले पर्दोष नलाग्ने विश्वास रहेको छ । निस्कङ्क कलाधार ‘बाल चन्द्र नमस्तुते भनेर  प्राथना गर्नु पर्दछ ।

दसैँ र बलि प्रथा

पशु बलीको पक्षमा जीव जीवश्य जीवन । अर्थात् एउटा जीवको जिउ अर्को जीवको बाच्ने आहार हो भन्ने शास्त्रमा छ भन्ने मत पनि छ । भगवती देवीको साथमा रहने डाकिनी, साकिनी, चर्तुसष्टि योगिनी, विषमज्वर आदिलाई खुसी पार्न पशुबली दिनै पर्छ  पनि  भनिन्छ ।  भगवती देवी फूल, अक्षता, चन्दन, अविर, जल, पत्र, धुप, दिप  नैवेद्य, रोट बाटै प्रसन्न हुन्छिन् । देवीले पशुवली ग्रहण गर्दिनन् । गैह्र शाकाहारीले देवीका आसेपासेलाई भने पशुबलीले खुसी पार्न सक्छन् भन्ने तर्क पनि छन् । बली भनेको त्याग हो मानिसमा रहेको लोभ मोहकाम, क्रोध, इष्र्या मादु मात्सर्यको त्याग गर्न सके  नवरात्रको देवी उपासना सार्थक रहन्छ भन्ने मत पनि छ । सात्विकहरुले कुभिण्डो, चिचिण्डो, घिरौला आदिको बली दिदा पुग्ने भन्ने मत पनि पाइन्छ । कोत र दुर्गा देवी मन्दिरहरुमा अष्टमी र नवमीका दिन बोकारागा, भेडा, कुखुरा, हास, आदि पञ्चबली वा कुनै एक पशु बली दिने र रगत चढाइ मासु भने प्रसादको रुपमा खाने चलन नै छ । कुनै कुनै कोत वा कोटमा पू्र्णिमाका दिन पनि बलि दिइन्छ । पूर्णिमालाई साक्यो ट्याक्यो अर्थात् बलि काटमार समापन भनेर पात्रोमा लेखिएको पाइन्छ । कोट र शक्तिपिठहरुमा पशुबली दिदा उक्त पशुले पशुजुनीबाट मुक्ति पाउने हुँदा बलि चढाइने पशुको हितका लागि पशुबलि राम्रो  हो भन्ने मत पनि छ । पशु अधिकारकर्मी  र सात्विकीहरुले  पशुबलीको घनघोर विरोध पनि गर्दछन्  ।

दसैँको वातावरणीय पक्ष

कतिपय अहिले सम्म पनि र पहिले ढुंगा माटाले निर्मित घर हुने हुँदा दसैँमा घर लिपपोत गरिन्थ्यो ।  अहिले पनि गरिन्छ । घरको पेटी वा पिडि भन्दा एक हात माथि सम्म सेमिको पातको रस वा हरियो रंगले सिगार्ने भित्तालाई रातो माटोले वा गेरुले पोत्ने, छानोमुनिको भित्तामा एक हात जति कमेरो माटोले वा पहेलो माटोले लिपपोत गर्ने । छानामा डिजाइनका लागि बनाएका बुर्चामा सेतो कमेरोले लिप्ने, थाम (पिलर) र झ्याल ढोकामा रोगन (अलकत्रा) लगाएर वा इनामेल लगाएर वर्षको एक पटक चिठिक्क पारिन्थ्यो । जसले घरको मर्मत संहार हुने र गाउँघर सुन्दर देखिदा साच्चिकै दसैँ आएको मानिन्थ्यो । आ–आफ्नो घरको आगन डोर, तगालो (प्रवेश मार्ग र गेट) सम्म झारपात सफा गरेर  दसैँलाई स्वागत गरिन्थ्यो । द्वितीयाका  दिन एक घर एक जना झारा गएर सार्वजिक बाटोमा काडा, झारपात  सफा गर्ने, बाटोका खाडल सम्माउने गर्नाले गाउँघर सफा सुग्घर  हुन्थ्ये ।  

 दसैँको साँस्कृतिक पक्ष

धार्मिक चाडका साथै दसैँ सांस्कृतिक पर्व पनि हो । सप्तमीका दिन फूलपाति भित्राउँदा नौमति बाजागाजाका साथ बन्दुक पड्काएर भित्र्याइन्छ । कोटघरदेखि नजिकको दुरीमा रहेका जलासय विशेष गरी पोखरी नजिक मानिसहरु हातहातमा घरबाट फूलका  गुच्छा पाति, दारिम, उखु, बेलपत्र आदि लिएर जम्मा हुन्छन् । सन्ध्या कालको गोधलीमा  लिपपोत गरेको भुइँमा रेखी हालि पुजा गरिन्छ । अनि कुभिण्डोलाई सिंगारी कुभिण्डोको बलि दिइन्छ । नौमती बाजाको तालमा नाचगान गरिन्छ । डोलामा सबैले फूलपाति राखेर सकेपछि बाजागाजा गर्दै कोट घर सम्म पुर्याइन्छ । डोला बोक्ने खालि खुट्टा र शुद्ध बस्त्र धारण गर्दछन् । कोटमा पुर्‍याएपछि  डोलाको पुजा गरी विधिपुर्वक फूलपाति भित्र्याइन्छ । हुन त सप्तसति चण्डिमा सप्तमम् कालारात्री भनिएको छ, तर कालारात्री भनेर अष्टमीका  राती चन्द्रमा आधा अस्त भएको साइतमा बोकाको बलि दिइन्छ । कोटमा जम्मा भएकाहरुले प्रसादको रुपमा बलि दिएको बोका पकाएर भागशान्ति खाने चलन छ । साना–साना दुई तीन चोक्टाका भागका लागि  राति अवेर सम्म बस्दा चुड्किला भन्ने हसाउने चलन पनि छ । केहि कोटघर र जिम्माल मुखियाको घरसँगै हुने ठाउँमा कालारात्रिका रात तिरो बुझाउनेहरुले ओलक लैजाने चलन थियो । सरकारको तर्फबाट जग्गाको मालपोत (तिरो) उठाउने जिम्मा पाएका व्यक्तिलाई जिम्माल मुखिया भनिन्थ्यो । खेतको तिरो उठाउनेलाई जिम्माल र पाखा बारीको तिरो उठाउनेलाई मुखिया भनिन्थ्यो । ओलकमा केरा कुराउनी र यस्तै मिठा चिजबिज हुन्थ्ये जुन जिम्माल, मुखियाले कोसेलीको रुपमा खाने गर्दथे । नवमीका दिन कोटमा धुप, धजा, फूलु रोट चढाइन्थ्यो । कसैले भाकल गरेको रहेछ वा कुल बढाई गरेको रहेछ भने पञ्चबलि वा एकल बलि चढाउथे । पाडा बोका, कुखुरा मार हानेको हेर्ने जात्रा नै हुन्थ्यो । काटिएको कुखुरा उफ्रेको हेरेर रमाइलो मान्थ्ये । बलि सकिए पछि पुजारिले धुपहाले पछि नवमीको पुजा सकिन्थ्यो । अनि सबैले आ– आफ्ना टाउका विनाका बली लिएर घर–घरमा जान्छन् । टाउका भने पुजारी मार हान्ने र जिम्माल मुखियाको हुँन्थो । आजकल टाउका विक्रि गरेर कोटको आम्दानी गरिन्छ । जग्गा नापि पछि जिम्माल मुखिया पनि हटे । दशमीका दिन जमरा मठमन्दिरमा चढाएर साइत पारेर मान्यजनबाट टिका  र जमरा थापि आशिर्वाद लिइन्छ । एका खलकका जति सबैभन्दा नातमा जेष्ठको घरमा जम्मा भएर टिकाको कार्यक्रम हुन्थ्यो । एउटै घरमा जम्मा भएर दसैँ मनाउँदा मंहगो परेकाले आजकल पहिले आफ्नै घरमा टिका लगाई फुर्सत मिलाएर अन्य  मान्यजनमा  टिका थाप्न जाने चलन छ । चामलको अक्षतालाई दहीमा मुछेर, अविरले रंङ्याएर निधारभरी हुने गरी टिका लगाउँदा र जमरा कान, टोपि, कपालमा सिउँरिदा जो कोहि पनि आन्नदित हुन्छन् । आयू द्रोण‘जयन्ति‘ स्वस्तुस्थिते ‘आदि उच्चारणले उर्जा मिलेको महशुस हुन्छ । सरकारी सिन्दुर लगाएस, सन्तानले डाँडाकाँडा ढाकुन फलानो क्या बात भन्ने भएस् भनेर आशिस पाउँदा मख्ख परिन्थ्यो । टिका थाप्न जानेले रोटि, फलफूल कोसेली लैजानेु दक्षिणा पनि दिने चलन नै हो । ज्वाइ छोरी नातिनी र कन्यालाई भाञ्जा भाञ्जी छोरिपट्टिका नातिलाई भने टिका लगाई दिनेले नै दक्षिणा दिने चलन छ । उस्तै उमेरका छोरा पट्टिका केटाहरुले दक्षिणा नपाउँदा अन्याय महशुस गर्थे । आजकल सबैलाई दिने चलन पनि छ ।

दशमीका दिन मात्र टिका लगाउने चलन भएकालाई ससुराली र माईती मावली जान हम्मे हम्मे हुन्थ्यो । एक दिनभरिको बाटो हिड्नु पर्नेलाई कष्ट नै हुन्थ्यो । विवाह गरेको पहिलो दसैँ ससुरालीमा ज्वाई छोरी जाँदा विशेष हुन्थ्यो । गाउँ भरिबाट दुध जम्मा गरेरु दुई/तीन दिन  लगाएर कुराउनी घोटेर, घरिका घरि केरा ताजा तरकारी आदि कोसेली दसैँका दिनंसँगै वा एक, दुई दिन पहिले भरिया लगाएर कोसेली लैजान पथ्यो । कसैले खसी, बोका घरपालुपा मदिरा लैजान्थ्ये । पहिलो पटक ससुराली टिका थाप्न जाँदा विशेष कोसेली लैजाने चलन यद्यपी छदै छ । केरा कुराउनीको मुल्य दक्षिणामा ससुरालीले कति दिए भनेर समीक्षा नै हुन्थ्यो ।केहि दक्षिणा बाहेक अरु रकम फर्केर घर आउना साथ  अभिभावकलाई दिनु अनिवार्य थियो । दसैँका दिन लगाएको टिका र जमरा अर्को दिन बिहानै उठ्ना साथ निधारमा भए निधारबाट झिकेर र नभए ओछ्यान बाटै भए पनि जम्मा गरेर पोको पारेर राखिन्थ्यो र दसैँ  सकिए पछि देश प्रदेश जाँदासँगै लगे साइत पर्छ भन्ने विश्वास थियो । अहिले समय अनुसार चलन भने  बदलिएका छन् तर किन हो कुन्नी पहिले जस्तो दसैँ रमाईलो  कम लाग्छ ।

दसैँको समयमा मात्र  गरिने सराय नाँचले  जोस र उमङ्ग जाग्रित गराउँद छ । मुख्यतयाः गुल्मी, अर्घाखांची, पाल्पा र प्युठानमा सराय नाँच गरिन्छ । सप्तमिका दिन भित्र्याइएको फूलपाती सराय नाँच गर्दै नजिकको जलासयमा सेलाउने गरिन्छ । बाजे बराजुका पालामा पानी भल संगाली भू तथा जलाधार संरक्षण गर्न बनाइएका पोखरी अहिले मासिएका कारण फूलपाति सेलाउने जलासय एकाध मात्र बाँकी होलान् । कुनै कोटमा दशमीका दिन, कुनैमा त्रयोदशीका दिन र कुनैमा पूर्णिमाका  दिन फूलपाति सेलाइन्छ । फूलपाति सेलाउने दिन नौमति बाजाको विशेष तालमा खुडा, तरबार, खुकुरी र ढाल  नचाउँदै  लय मिलाएर समूहमा कलात्मक रुपमा गरिने नाँच नै सराय नाँच हो । खेलौ भाई हो वाख्खै, हो भन्दै शुरुमा विस्तारै एक अर्का बिच खुडा, तरबार, खुकुरी जुधाएझै गरी खुट्टाको समेत ताल मिलाई नाचिन्छ । एक छिन पछि  बाजा र नाँचको गति वढाउदै लगिन्छ र सबैले गोलबद्ध भै आ–आफ्ना हतियार ठोक्काउदै उफ्रिने गरिन्छ । उल्लेखित हतियारको साथै ढाल पनि नचाइन्छ । एउटा हातले हतियार र अर्को हातले ढाल समाइन्छ । कडा आवररणको गोलाकार र केहि चुच्चा काडा जस्तै आकारमा बनाइएको शत्रुको हतियार प्रहारलाई छेक्न प्रयोग हुने युद्धको साधन ढाल हो ।  सराय नाच भित्रै फरि पनि खेलिन्छ । फरि खेल्न विशेष तालिमको आवश्यकता हुन्छ । देखासिखीमा  फरि खेल्न सकिदैन । यसको लागि चैत्र दशै वा वडा दशैको नवरात्रको समयमा एकान्त स्थलमा कसैले नदेख्ने गरी गुरुको निर्देशनमा सिक्ने गरिन्छ । दुई जना वा चार जनाको समुहमा कलात्मक रुपमा नाँच्दै खुडा नचाउने, एकले अर्कालाई आक्रमण गर्ने र छेक्ने गरी यो नाँच गरिन्छ । फरि खेल्दा नचाइने खुडाको  एक अर्का बीचको दुरि  दुई  तीन इञ्ची जति मात्रै हुने हुँदा हेर्ने दर्शकको जीउ नै सिरिङ्ग हुन्छ । दुबै हातमा खुडा वा तरवार लिएर र कसै कसैले थप एक मुखले टोकेर एकल प्रस्तुति गरेर पनि फरि नाच गर्ने गर्दछन् ।  दुई  जनाको  बीचमा खेलिने फरिमा एकले अर्काको अंग अंग ताकेर खुडा, तरवार  प्रहार गरिने र प्रतिरक्षा गरिने हुँदा युद्ध कौसलताको अनुपम सीपका रुपमा लिन सकिन्छ  । सुदुर पश्चिमका जिल्लामा पनि झण्डै यस्तै  यस्तै गरि सराय नाँच जस्तै भुवा नाँच नाचिन्छ । तर यताको भेगमा नाचिने खेल धेरै छरितो र खतरनाक रुपमा नाचिन्छ । फरि नाँचमा घुमाइने तरवार वा खुडाको गति पंखा घुम्दा पंखाको पाताहरु नदेखिए जस्तै गतिका हुने गर्दछ । कोटघरका खुडा, तरवार कम वा हराएका कारण आजकल हलुका काठबाट बनाइएका खुडा, तरवार सराय र फरि नाचमा प्रयोग गर्न थालिएको छ ।  विजयको उत्सवको रुपमा सराय नाच हर्षोल्लास गरि मनाइएको हो भन्ने मान्यता रहेको पनि पाइन्छ ।

दसैँको सामाजिक पक्ष

दसैँ वर्षमा एक पटक परिवारजन मिलनको अवसर पनि हो । पेशा, व्यवसाय गर्न, अध्ययन गर्न  घर छोडेर  टाडा गएकाहरु दसैँमा घरमा जम्मा हुँदाको खुसियाली वर्णन नै गर्न सकिदैनथ्यो । अहिले जस्तो टेलिफोन, मोवाईल, भिडियो कलको सुविधा थिएन । घरबाट हिडेदेखि घर फिर्ता नपुग्दा सम्म अवस्था थाहा हुँदैनथ्यो । सम्पर्कको साधन भनेको चिठी मात्र थियो । चिठि पनि लामो अवधि पुग्दैनथ्यो । बहिरंग चिठी त लापत्ता पनि हुन्थ्यो । गाउँघर, साथी भाई, ईष्ट मित्रसँग मिलन हुने समय दसैँ नै भएकाले सामाजिक पुर्नमिलनका  हिसाबले दसैँको महत्व उच्च थियो । घर व्यवहार  मिलाउने, बाबु, आमा, छोरा छोरी, श्रीमान श्रीमति भेटघाट हुने पर्व दसैँ प्राधान्य हुँदा सामाजिक पक्ष अतुलनीय थियो । हुन त अहिले पनि दसैँमा आ–आफ्नो जन्म थलो वा घर जाने चलन यथावत नै  छ  । पहिले भन्दा जमघट, भेटघाट, राजनीतिक भेलाु शुभकामना आदान–प्रदान जस्ता पुनर्मिलनका कार्यक्रम  झन् दर्बिला हुन्छन् ।  तर सञ्चार सुविधाका कारणले परोक्ष भेटघाट र संपर्क  निरन्तर भैरहने हुदा अहिले भन्दा पहिले दसैँको भेटघाट विशेष अवसर हुन्थ्यो ।

विविध कारणले आफन्तहरुमै मतभेद, बोलचाल वन्द, आवतजावत बन्द भएकोमा पनि  लोकाचार नै सहि टिका थाप्न जानु पर्दा भेटघाट हुने, मनको मैलो पखालिने मौका पनि हो दसैँ । नबोलि नबोलि नै सहि निधार तेर्साउँदा र मान्यजनको हातले स्पर्श हुँदा बोलचाल हुने, आशिर्वचनले मन फर्किने हुँदा दसैँले सामाजिक र पारिवारीक पुर्नसम्वन्ध स्थापित गर्दछ । बाबु आमाको सहमति विनै विवाह गरेर भेटघाट नभएका छोरी बच्चा बोकेर माईत जादा वाबु आमाको मन पग्लिने पर्व पनि हो दसैँ । सपरिवार स्वादिष्ट भोजन  धेरै दिनसम्म्म सँगै रमेर खाने पर्व पनि हो दसैँ ।

दशा र विकृति नबनोस् दसैँ 

हामी धेरै अभाव र कम सुविधामा पनि रमाएर जिउन सकेकै चाडपर्वले हो । कैयन ठूला विपत्तिमा पनि हासि खुसि रहन  सकेको पर्वहरुले हो । सामाजिक सद्भाव र सहिष्णुता हाम्रो धर्ममा निहीत छन् । अहिले जस्तो खेत बारी बाझा हुँदैनथे । मकै, गहुँ कोदो आदिका खाद्यान्नले जिविकोपार्जन हुन्थ्यो । धान प्रशस्त हुनेले पनि चाडपर्वमा मात्र र पाहुँना आएका बखत मात्र भात पकाउँदथे । सुत्केरी र बिरामी हुँदा बाहेक भात देख्न पाउदैनथे । धान सजिलै बिक्रि हुने हुँदा मट्टितेल, नुन, फिस तिर्न, ओखतिमुलो गर्न धान बेच्ने चलन थियो । सक्नेले दसैँमा खसी बोका ढाल्दथे नसक्नेले समुहमा एक/दुई बिलाले सन्तोष गर्दथे । आजकल जस्तो तागाधारीले कुखुरा र मदिरा खादैनथे । तर पनि दसैँ भनेपछि  मिठो मसिनो खाने, राम्रो लगाउने चलन थियो । अहिले तीजमा अरली काडैलेमा छाडा नाँचे झै दसैँ विकृत नबनोस् । चिनीको भाऊ, अनाज र तरकारीको अचकाली भाऊले, सडकको दुरावस्थाले, यतायातका साधनको कोचाकोचले दसैँ पक्कै पनि दशा बनेको छ । तर घाटि हेरि हाड निल्न त आफैले सिक्नु पर्दछ । महान पर्व हो, यसमा नरमाए कहिले रमाउने । दसैँको धार्मिक, सांस्कृतिक, सामाजिक महत्व र मौलिकता कम हुन नदिऔं । बडा दसैँको हार्दिक  मंगलमय शुभकामना ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update