पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पाले ६८ औं प्रहरी दिवस तथा पुर्नमिलन कार्यक्रम गरेको छ । प्रहरीले विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस तथा पुर्नमिलन कार्यक्रम गरेको हो ।
नेपाल प्रहरीले असोज ३० गतेलाई प्रहरी दिवसको रुपमा मनाउँदै आएको छ । नेपाल प्रहरीको स्थापना २०१२ साल असोज ३० गते भएको हो । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पाल्पाले उत्कृष्ट काम गर्ने प्रहरीहरुलाई नगद सहित प्रमाणपत्रबाट पुरस्कृत गरेको छ । विभिन्न किसिमबाट प्रहरीलाई सहयोग गर्ने विभिन्न निकाय संघ संस्थाहरुलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले सम्मान गरेको हो । दिवसको अवसरमा विभिन्न समयमा सेवामा खटिदा विरगती प्राप्त गरेका अमर प्रहरीका परिवारहरुलाई दोषल्ला ओढाएर सम्मान गरिएको थियो ।
अमर प्रहरी प्रति प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्मा, प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठ लगायतले अमर प्रहरी प्रति पुष्पगुच्छा अर्पण गर्दै माल्यापर्ण गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बास्तोलाले सिंहदरबारदेखी जनताको घरदैलोसम्म पुग्ने जनताको हरेक दुःख सुखमा साथ दिने एक मात्र संस्था नेपाल प्रहरी भएको बताए । जनताको हरेक विपद्का घटनादेखी जस्तो सुकै काममा प्रहरीको अहम भूमिका भएको प्रजिअ बास्तोलाले बताए । प्रहरीलाई प्रविधी मैत्री बनाउन सके अझै गुणस्तरीय सेवा प्रदान गर्न सकिने भएकाले राज्यका हरेक निकायले प्रहरीलाई साधन, स्रोतयुक्त बनाउनु पर्नेमा प्रजिअ बास्तोलाले बताए ।
कार्यक्रममा प्रहरी प्रमुख शर्माले नेपाल सरकारको कानुन कार्यान्वयन देखी हरेक जनताको पिरमर्कामा प्रहरीको सक्रिय भूमिका रहेको बताए । अग्रज प्रहरी र अमर प्रहरीको मार्ग दर्शन र नेपालको कानुन अनुसार प्रहरी परिचालन हुँदै आएको प्रहरी प्रमुख शर्माले बताए । प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठको स्वागत प्रहरी सहायक निरिक्षक गणेश विकको सञ्चालनमा कार्यक्रम भएको थियो ।