Shittalpati
दसैँको मुखमा छोइनसक्नु महँगी

पाल्पा, दसैँ नजिकिँदै गर्दा महँगी अचाक्ली बढेको छ । दसैँको मुखमा चामल, हरियो तरकारी, खाने तेल, लत्ताकपडा र जुत्ताको मूल्य  अत्याधिक बढेको हो । बजारमा दसैँको किनमेल सुरु भएको छ । तर बजारभाउ महँगो हुँदा उपभोक्ता दसैँको सरसामान कसरी जुटाउने भन्ने अन्योलमा छन् ।

सरकारले बजेट र मौद्रिक नीतिमार्फत मुद्रास्फीति ६.५ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ । तर, नेपालमा सुरुवाती महिनाबाटै चर्को मल्यवृद्धिको सामना गर्नु परेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको देखिएको छ । तथ्यांक अनुसार अघिल्लो वर्ष यसै अवधिमा मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष पनि खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति धेरै रहेको छ । यसले भान्सा महँगो बनाइरहेको छ । उपभोग्य वस्तुको बजार मूल्य आकासिए पनि अनुगमन गरी बजारलाई नियमन गर्नेतर्फ सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न सकेका छैन । जसको मारमा आम उपभोक्ता परेका छन् । 

एक महिना अघिसम्म एक सय ९० रूपैयाँ किलो पाइने  अडहरको दाल अहिले २ सय ४० पुगेको छ । मुसुरीको दाल अहिले एक सय ६० रूपैयाँ किलो पुगेको छ । त्यस्तै किलोको ९० देखि एक सय पर्ने चिनी अहिले एक सय २० देखि ३० सम्म विक्री भइरहेको छ । एक सय रूपैयाँमा पाईने चना अहिले किलोको एक सय ६० पुगेको छ । चामलको मूल्य पनि उस्तै छ । दुई महिना अघि एक हजार ९ सयमा पाइने २५ किलोको जिरा मसिनो चामल अहिले २ हजार ३ सय पुगेको छ । सोयाविन, सूर्यमुखी र तोरी तेलको मूल्य पनि बढेको छ । अहिले सोयाविन २ सय, तोरी र  सूर्यमुखी २ सय १५ देखि २० सम्म पर्ने गरेको छ ।

खाद्यान्न मात्र होइन होटल तथा रेष्टुरेन्टका सामग्री, मरमसला, ग्याँस, कपडा, भाडा वर्तन, विद्युतीय सामग्री लगायतका हरेक वस्तुको मूल्य बढेको छ । बजारभाउ महँगो हुँदा उपभोक्ता दसैँको सरसामान कसरी जुटाउने भन्ने सकसमा छन् । तानसेन–३ भगवती टोलकी नारायणी गाहाले चिनी, दाल, कपडा सबैको मूल्य बढ्दा आफु जस्ता सामन्य आए भएकाहरु मारमा परेको बताइन् । उनले भनिन् ‘साउनदेखि यता मूल्य एकदमै बढेको छ । सबै खाद्यन्नको मूल्य बढ्दा गाह्रो भएको छ । आयआर्जन छैन ।’ लत्ताकपडा पनि महँगो उस्तै छ ।  दसैँका लागि भनेर तानसेन तेस्रो सडकमा कपडा किन्न पुगेका बगनासकाली गाउँपालिकाका रोहित गाहा अघिल्लो वर्ष एक हजार २ सयमा किनेको जिन्स पाइन्ट अहिले दुई हजार पर्दा छक्क परे । उनी भन्छन् ‘अघिल्लो वर्ष दसैँमा १० रुपैयाँमा पनि पाइन्ट नबिकेर व्यापारीहरुको आउला भनेर हेरेर बसेका हुन्थे । अहिले त दसैँको मुखमा २ हजार भन्छन्, १५ सय रुपैयाँको जुत्तालाई अहिले दुई हजार रुपैयाँमा घट्नै मान्दैनन् व्यापारी ।’ मूल्य वृद्धिले दसैँ, तिहार कसरी मनाउने भनेर उपभोक्ता चिन्तित छन् । सरकारले प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता समस्यामा परेका हुन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update