आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि दशमीसम्म दश दिन मनाउने नेपाली जनको महान चाड बडा दशैं यो वर्ष पनि नेपाली जनको घर आगनमा आईसकेको छ । राष्ट्रिय पर्वको रुपमा समेत लिईने यस पर्वले हिन्दु धर्मलाम्बी मात्रै नभएर सम्पूर्ण नेपालीजनमा हर्ष, उल्लास र आत्मियता थपिदिने गर्दछ । हुने खाने होस् वा हुँदा खाने नै किन नहोस् दुवै वर्गले आ–आफ्नो हैसियत अनुसार यस पर्वलाई मनाउने गर्दछन् । प्राकृतिक रुपमा पनि उपयुक्त मौसममा मनाईने यो पर्वको साँस्कृतिक महत्व मात्रै नभएर वैज्ञानिक महत्व पनि उत्तिकै रहेको सजिलै अनुमान लगाउन सकिन्छ । दसैं पर्व र यसैसँग सम्बन्धित आर्थिक, साँस्कृत्तिक तथा सामाजिक पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
आश्विन शुक्ल प्रतिपदा देखि नवमी सम्म नव दुर्गाको विभिन्न रुप र शक्ति पिठको आराधना गर्दै दसौं दिनको दिन मान्यजन तथा ठूला वडाबाट रातो टिका र जमरा लगाउने र सम्भव भएसम्म आफ्न्त, दाजुभाई, इष्ट मित्र नातागोता भेट्ने र आर्शिवाद लिने, मिठो मसिनो खाने, राम्रो लगाउने चलन परापूर्व कालदेखि चल्दै आएको पाईन्छ । केहि जाती विशेषमा सिमित रहेको पूर्णिमा सम्म नै टिका र आर्शिवाद लिने परम्परालाई पछिल्लो समय सबै जातिमा पुगेको देखिन्छ । पूर्णिमासम्म टिका लगाउने चलनलाई विस्तार गरिएता पनि दशमीको दिनको टिका र आर्शिवादको महत्व बेग्लै रहेको देखिन्छ । असत्य माथि सत्यको विजयको उत्सवको रुपमा लिईने यस पर्वमा नौ दिनसम्म विभिन्न शक्ति पिठहरु शैली पुत्री, बैहमाचारणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्ययिनी, कालरात्री, महागौरी, सिद्धिदात्रीका नाममा नव दुर्गा माताका विभिन्न रुपका पुजा अर्चना गर्ने परम्परा रहेको देखिन्छ । यो पर्व मनाउनको लागि सरकारका तर्फबाट लामो समयको सार्वजनिक विदा दिने चलनले झनै उल्लास थपिएको देखिन्छ ।
हाम्रा परम्परा, रितीथिती र चाडपर्व हाम्रा पहिचान र आस्थाको केन्द्र मात्रै होइन, हामीलाई खुशी र हाँसो थपिदिने माध्यम पनि हुन् । समय–समयमा आउने विभिन्न प्रकारका साँस्कृतिक परम्पराले हामीलाई अमेरिका र युरोपका नागरिकले जस्तो लाखौ खर्च गरेर क्षणिक खुसी र हाँसोको लागि क्लबहरुमा धाउनु परेको छैन । मेसिनले जस्तो जीवन बिताउनु पनि परेको छैन । हाम्रा पूर्खाले सिर्जना र परिकल्पना गरेका यस्ता मौलिक परम्पराले हामीलाई भाग्यमानी बनाई दिएको छ मात्रै हाम्रो कर्तव्य हो, यसको परम्परागत पक्षलाई जोगाउनु र विकृति प्रवेशमा रोक लगाउनु । हाम्रा हरेक चाड पर्व तथा रितीथितीहरु परम्परामा मात्रै सिमित नरहेर यसको गहिरो अध्ययन गर्ने हो भने भेटिन्छ वैज्ञानिक महत्व । चाडपर्वले एउटा छुट्टै किसिमको खुसी र हाँसो नेपालीहरुको मुहारमा थपिदिएको देखिन्छ तर पछिल्लो समय चाडपर्व मनाउने नाममा विभिन्न किसिमका विकृति र आधुनिकता थपिदा कतै यसको महत्वमा कमी आउने त होईन यसतर्फ भने चिन्ता थपिएको देखिन्छ । देखासिकी र फजुल खर्चले यस पर्वको परम्परागत महत्व र शैलीमा ह्रास आउने, अनावश्यक खर्चिलो बन्दै जाने, खानपान, भेषभुषा आदिमा आधुनिकता प्रवेश हुने डर पनि रहेको देखिन्छ । हाम्रै बानी ब्यवहारका कारण आयो दशै ढोल बजाई, गयो दशैं ऋण बोकाई भन्ने उखानलाई चरित्रार्थ बनाउने पक्षबाट जोगिन आ–आफ्नो तर्फबाट सजग हुन जरुरी भने देखिन्छ भने यसका लागि नेपाली समाजमा चलेको उखान घाटी हेरेर हाड निल्नु भन्ने भनाईलाई आत्मसाथ गर्न जरुरी देखिन्छ ।
चाड पर्व नजिकिदै गर्दा नेपाली बजारमा वस्तु तथा सेवाको उत्पादन, बिक्री वितरणमा विभिन्न किसिमका अवरोध तथा समस्याहरु उत्पन्न भई आम उपभोक्ताको उपभोग्यवस्तु खरीदमा विभिन्न अपठ्यारो स्थिति सिर्जना हुने गरेको देखिन्छ । एकातिर उत्पादक तथा व्यापारीले चाडपर्वलाई लक्षित गरी कृतिम अभाव सिर्जना गर्ने, मनोमानी तरिकाले मूल्य निर्धारण गर्ने, कालाबजारी जस्ता कार्य गरि आम जनताको दैनिकीमा झनै अप्ठयारो स्थिती बनाउने । गुणस्तरहिन, मिसावट गरी उपभोक्ताको स्वास्थ्यमा असर पुर्याउने वस्तु बिक्री वितरण गर्ने गरेको देखिन्छ भने सरकारका निकायहरु यसको नियन्त्रणमा र यसलाई व्यवस्थित बनाउने पक्षमा बेखबर जस्तै देखिने गरेको र तामझामका साथ बजार अनुगमनमा निस्कने गरेको आरोप लाग्ने गरेको देखिन्छ ।
चाडपर्व लक्षित सरकारी तवरबाट खोलिएका पसलहरुमा सबै स्थानका सर्वसाधरण जनताको पहुँच नपुग्ने र केहि सिमित हुने वर्गले मात्रै सुविधा लिने गरेको र जसको कारण सरकारको यो कार्य कर्मकाण्डी जस्तै बनेको देखिन्छ । दसैंमा आधुनिकताको नाममा पछिल्लो समय विकृतिले प्रवेश गरेको देखिन्छ । यसले दसैं पर्वको परम्परागत महत्वलाई नै संकटमा पुर्याउने प्रयास भैरहेको अनुमान लगाउन सकिन्छ । दसैं भन्ने वित्तिकै युवा लगाएत सबैं उमेरका मानिसहरु जुवा तास खेल्ने, यसलाई मनोरञ्जनमा मात्रै सिमित नराखेर यसबाट ठूलो धनराशीकै लेनदेन गर्ने, सम्पत्ति नै समाप्त पार्ने, घर परिवारमा पिडा दिने, सुकुम्बासी बन्ने गरेको देखिन्छ भने मादक पदार्थ खाएर सामाजिक वातावरणलाई अशान्त बनाउने, झै झगडा गर्ने, लडाई काटमार गरी अपराधका घटना घटाउने गरेको पाईन्छ । साथै ऋण गरेरै घिउ खानुपर्दछ भनेझै चर्को ब्याज तिर्ने गरी आफ्नो हैसियत बिर्सेर देखासिकीमै फजुल खर्च गर्ने, खसी बोका काट्नै पर्ने , दानदक्षिणा आफ्नो हैसियत माथि उठेर दिनुपर्ने, अनावश्यक भोजभतेर गर्ने यस्ता क्रियाकलापलाई हटाई देखासिकी हैन आफ्नो गक्ष अनुसार पर्व मनाउने प्रयास गर्नु पर्ने देखिन्छ ।
हाम्रा परम्परा, रितीथिती र चाडपर्वलाई बचाई राखी हामी पछिका पुस्तालाई हस्तान्तरण गर्नु हामी सबैको कर्तव्य हो, हाम्रो बानी व्यवहारलाई सुधार गर्न सक्ने हो भने यो सम्भव पनि देखिने गर्दछ । आफ्नो व्यवहार सुधार नगर्ने तर दोष परम्परालाई दिने छुट हामी कसैलाई पनि छैन् । चाडपर्वमा रहेका परम्परा पक्षलाई बचाई कम खर्चिलो, विकृति र विसंगति मुक्त, सदभाव, एकता र भातृत्वको पक्षलाई महत्व दिनुपर्दछ । यसलाई समृद्धि र भाईचाराको पर्वको रुपमा विकसित गराउँदै लैजानु पर्दछ । हुने र हुँदा खानेबिच असमानताको खाडल बढाउने होईन समानता कायम गर्ने पर्वको रुपमा यसलाई रुपान्तरण गर्नु पर्दछ । साँस्कृतिक पक्षलाई जोगाउँदै जनताको जीवनस्तर र समृद्धिका बाटाहरु खुल्ने गरी यो पर्वलाई राष्ट्रिय एकताको रुप दिनुपर्दछ । आयो दसैं ढोल बजाई गयो दसैं ऋण बोकाई भन्ने उखानको अब अन्त्य हुनुपर्दछ । दसैंलाई दशा हैन लाभ हासिल गर्ने पर्वको रुपमा विकसित गर्दै लैजानु पर्दछ, दसैंले उल्लासमंय बनाउन हामी सबै लाग्नु पर्दछ । वडा दसैं २०८० को उपलक्ष्यमा सम्पूर्ण देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीजनमा सुख, शान्ति, समृद्धि र स्वस्थ जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)