दसैँ नेपाली हिन्दुहरुको घर आगनमा आइपुगेको छ । आज दसैंको छैंठौ दिन हो । खास गरी दसैँ भन्ना साथै मनोरञ्जन र खानपान सँगसँगै जोडिने गर्छ । चाडपर्व मनाउने निहुँमा आफ्नो स्वास्थ्य बिग्रने खालका खाद्यवस्तु खानु हुँदैन । मिठो–मिठो खाने नाउमा विभिन्न विषादी हालेका तरकारी र फलफूल र अधिक मात्रमा मासु खानाले स्वास्थ्यमा नराम्रो असर गर्दछ । चाडबाड आयो कि जतिसक्यो बढी खाने भन्ने चलन नेपाली समाजमा छ । धेरै नखानु भन्ने सुझाव कसैले दियो भने पनि जवाफ आउँछ– ‘दसैँ हो दसैँ दसैँमा नखाए कहिले खाने ?’ तर ख्याल गरौं जथाभावी खाँदा समस्यामा परिएला । दसैँका बेला मासुका परिकार र बढी चिल्लो भएका खाद्यवस्तुहरु खाने गरिन्छ । यस्तो खाँदा अझ बढी ख्याल गरौं । स्वास्थ्यको ख्याल नै नगरी मासुजन्य पदार्थ तथा चिल्लो पदार्थ बढी भएका परिकार सेवन गर्दा हृदयाघात, मस्तिष्कघात जस्ता रोग निम्तिन सक्ने खतरा रहन्छ । यसकारण खानपानमा विशेष सजगता अपनाउन आवश्यक छ ।
मासुमा चिल्लो र कोलेस्ट्रोलको मात्रा बढी हुने भएकाले मुटु तथा मिर्गाैला रोगीहरूले खान नहुने चिकित्सकहरू बताउँछन् । छालामा कोलेस्ट्रोल र चिल्लोको मात्रा बढी हुने हुँदा सामान्य व्यक्तिले पनि छाला खान नहुने चिकित्सकहरूको सुझाव छ । उनीहरूका अनुसार आन्द्राभुँडी टाउकोको सेवन पनि हानिकार हुन्छ । मासु सेवन गरिसकेपछि सागसब्जी,फलफूल गेडागुडी, कागतीको सर्वतलगायत फाइबरयुक्त खानेकुरा खान सुझाब छ। खानपानसँग यस पर्वको विशेष प्रकारको सम्बन्ध हुनाले पनि अरुभन्दा यो चाडलाई फरकरुपमा हेरिन्छ । वर्षमा सबैभन्दा धेरै खर्च हुने चाडसमेत दसैँ हो । यो चाडमा मीठो–मीठो खान पर्ने, राम्रो–राम्रो लगाउन पर्ने प्रचलन झन्झन् बढ्दै गएको छ । खाने, लाउने सन्दर्भमा मात्रै
नभएर भेटघाट र भ्रमणमा समेत दसैँलाई प्रयोग गर्ने संस्कारसमेत पछिल्ला दिनहरुमा विकसित भएको देख्न सकिन्छ । खानपानकै कारण स्वास्थ्यमा शीघ्र तथा दीर्घ असरहरु पर्ने भएकाले दसैँको अवधिभरि खानपिनमा विशेष ध्यान दिऔं ।