Shittalpati
पाल्पामा नयाँ नोट लिन सर्वसाधारणलाई सास्ती

पाल्पा, दसैँका लागि नयाँ नोट साट्न राष्ट्रिय वाणिज्य बैंक तानसेनस्थित शाखामा पुगेका तानसेन–५ कैलाशनगरका दिपक अधिकारीले ३ घण्टा कुरेर नयाँ नोट पाए । बिहीबार बिहान बैंक पुगेका उनले नयाँ नोट साट्न विहानभर लाइन बस्नुपर्‍यो । ‘बिहान १० बजेदेखि लाइन बस्दा दिउँसो १ बजे मात्र नोट हात पर्‍यो,’ उनले भने, ‘सास्ती खेपेरै भए पनि नयाँ नोट हात पर्‍यो, त्यसैमा खुसी छु, अन्य बैंकमा जाँदा नयाँ नोट नपाएर यहाँ आएका हुँ, यस पटक नयाँ नोट पाइँदैन कि भन्ने चिन्ता थियो तर पाए खुसी छु ।’ तानसेनकै मिना खत्रीले पनि नोट साट्नको लागि अत्यासलाग्दो भिडभाड लाइन लागेरै नयाँ नोट पाइन् । ‘नयाँ नोट पाउने आशामा  तीन घण्टा लाइन लागे, निकै कठिन भयो, पहिले पहिले त यस्तो हुँदैन थियो, अहिले पाउनु दुख पाइयो’ खत्रीले भनिन् ।

अधिकारी र खत्रीले मात्र होइन नयाँ नोट लिन पुग्ने अधिकांसले  सास्ती भोग्नु परेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुबाट मात्र नयाँ नोट साट्ने व्यवस्था गरेकाले सर्वसाधारणलाई नोट साट्न सास्ती भएको हो । यस पटक अन्य बैंकहरुले नोट साट्न नपाएपछि एउटै बैंकबाट लिनुपर्दा सर्वसाधारण नागरिकको अत्याधिक भिड लागेको छ । राष्ट्रिय वाणिज्य बैंकले बुधबारदेखि मात्र नोट सटाईको काम थालेको हो । जहाँ बिहानैदेखि नयाँ नोट साट्न सर्वसाधारणको बाक्लो भीड  लाग्ने गरेको छ । लामो लाइनमा बसेका सर्वसाधारणलाई नयाँ नोटका लागि घण्टौं कुर्नुपर्दा सास्ती भोग्नु परेको छ । दसैँको बेला टीका लगाउँदा दक्षिणा आदान–प्रदान गर्न नयाँ नोट प्रयोग गर्ने चलन छ । जसका कारण प्रत्येक दशैंमा नोट साट्नेहरुको ठूलो भीड लाग्ने गर्छ । नेपाल राष्ट्र बैकले घटस्थापनाको दिनदेखि नै सर्वसाधारणको लागि १८ हजार ५ सयका दरले नयाँ नोट दिने भनिए पनि पाल्पामा कार्तिक १ गते देखि वाणिज्य बैंकबाट मात्र नयाँ नोट वितरण गरेपछि नयाँ नोट नपाएको भन्दै सर्वसाधारण आक्रोसित समेत हुने गरेका छन् । नेपाल राष्ट्र बैकले एक महिना अघिदेखि नै सार्वजनिक रुपमा सञ्चार माध्यमबाट १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गर्ने जानकारी गराए पनि जिल्लामा भने पर्याप्त नोट नपठाउँदा जनताले सास्ती भोग्नु परेको छ । पाँच÷छ घण्ट देखि लामो लाईन बस्दा समेत कतियले  नयाँ नोट नपाउँदा दुःखी भएका छन् । ‘नयाँ नोटको लागि कार्तिक १ गते चार घण्टा लाइन बसियो, आज सकियो भोलि आउनुस् भन्नुभयो, दोस्रो दिन पनि नयाँ नोटको लागि विहान ८ बजेदेखि लाईनमा बसेको तर पर्याप्त मात्रमा नयाँ नोट नपाएर रित्तो हात फर्किनु पर्‍यो’ तानसेन ४ का बोधराज ढुंङ्गानाले भने । गाउँ–गाउँबाट मानिसहरु नयाँ नोटको लागि सदरमुकाम धाउँदा समेत नपाएको बगनासकाली–९ की शोभादेवी बस्यालले बताइन् ।

सबैलाई नयाँ नोट भए खुसी हुन्छन्, केटाकेटीदेखि बुढा बुढीसम्मको रोजाइ नै नयाँ नोट हुने गरेको रैनादेवी छहरा गाउँपालिका–६ का सुमन थापाले बताए । नयाँ नोटको लागि लाईन लागे पनि बैकबाट सकियो भनेपछि रित्तो हात फर्किएको थापाले बताए । राष्ट्रिय वाणिज्य बैक पाल्पाका शाखा प्रमुख माधव पौडेलले भने जनतालाई रित्तो हात्त फर्किन नपरोस् भनि व्यवस्थित रुपमा नोट वितरण गर्दै आएको बताए । उनले भने ‘हामीसँग भएको सिमित कर्मचारीको बापजुत पनि बैंकमा आउने ग्राहकलाई नोट दिएर पठाउने गरेका छौं ।’ राती ११ बजे सम्म कर्मचारी बसेर नोटहरु मिलाएर पाँच÷पाँच हजारका प्याकेट बनाएर सर्वसाधारणहरुलाई वितरण गरिदै आइएको प्रमुख पौडेलले बताए । नयाँ नोट जनताले प्रशस्त नपाए पनि सुकिलो मुकिलो नोट भने चाहे अनुसार वितरण गरिएको उनको भनाई छ ।

राष्ट्र बैकले नयाँ नोट, सुकिला मुकिला नोटहरु प्रशस्त मात्रामा बैंकहरुमा पठाएको दावी गरेको छ । नयाँ नोटसँगै सुकिला मुकिला नोटहरुको पनि प्रयोग बढाउन विगतका बर्षहरुमा भन्दा यो बर्ष वितरण प्रणाली परिवर्तन गरिएको नेपाल राष्ट्रबैकले जनाएको छ । नयाँ नोट राष्ट्रिय वाणिज्य बैंकबाट र सुकिला नोट सबै बैकबाट वितरणको व्यबस्था मिलाएको नेपाल राष्ट्र बंैक भैरहवाका सहायक निर्देशक रमेश न्यौपानेले बताए । नयाँ नोट छाप्दा धेरै रकम विदेशिने, सुकिला नोट प्रयोगमा नआाउने समस्या बढेकाले गतबर्षहरुमा भन्दा नोट सटही प्रणाली परिवर्तन गरिएको उनको भनाई छ । राष्ट्र बैंक नोटको कारोवार घटाउदै जाने र डिजिटल कारोवारमा सर्वसाधारणलाई प्रोत्साहन गर्नेतर्फ अग्रसर भएको न्यौपानेले बताए । सर्बसाधारण तथा सरोकारवाला व्यक्ति तथा समाजका अर्थविद्हरुले राष्ट्र «बैंकले दसैँ कुरेर नयाँ नोट बजारमा पठाउने नीति गलत भएको बताएका छन् । जनतालाई दिन दशैंमा प्रयाप्त नयाँ नोट दिने भनेर प्रचार गर्ने अर्काे तर्फ नोट छाप्दा खर्च बढ्ने भन्दै सटहीमा नियन्त्रण गर्ने राष्ट्र बैंक दोहोरो नीतिका कारण सर्वसाधारण जनताहरु मर्कामा परेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update