पाल्पा,आश्विन शुक्ल सप्तमीका दिन आज घर–घरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व शनिबार शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतिक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतिकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यसदिन देशभरका प्रमुख शक्तिपिठ, देवी मन्दिर, नेपाली सेना तथा प्रहरीका तल्लोदेखि उपल्लो तहका अड्डामा बढाईंसाथ फूलपाती भित्र्याइँने चलन छ । फूलपाती भित्र्याउने साइतअनुसार नेपाली सेनाले फूलपातीको बढाईं जात्रा प्रस्तुत गर्ने गर्छन् । नेपाली सेनाको टुकडीले तोप पड्काउँदै हर्ष बढाईं गर्ने प्रचलन परम्परादेखि नै चल्दै आएको छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आजै नै फूलपातीका दिन कालरात्रि देवीको पूजा गरिँदै छ । कालो वर्ण भएकी कालरात्रि देवीको वाहन गधा हो भने देवीले क्रोधमा आगो निकाल्छिन् । चार हात भएकी देवीको चारै हातमा तरबार, मसाल र वरमुद्रा लिएकी हुन्छिन् । यिनै देवीले भुइँमा झरेको हरेक थोपा रगतबाट पुनर्जीवन पाउने ‘रक्तबिज’ नामक दैत्यको संहार गरेकी हुन् । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र हुन्छ । नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटे पिङले दशैँको रौनकलाई अझ बढाउँछ । फूलपातीको साइत बिहान ८ः२४ बजे रहेको छ भने टीकाको साइत कात्तिक ७ गते बिहान ११ः२ मिनेटमा रहेको छ ।
नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका दशमीका दिन लगाउने प्रचलन छ । पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा सो दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाई आशीर्वाद थापिन्छ । टिकाका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ । शरद ऋतुको घमाइलो वातावरणले पनि दसैँको आनन्द अझ बढ्ने गर्छ । अझ गाउँघरका फाँटमा भरिभराउ पहेँलो धानले पनि समृद्धिका रुपमा दसैँलाई स्वागत गरिहेको हुन्छ ।