Shittalpati
संयुक्त राष्ट्रसंघका महासचिव लुम्बिनी आउँदै , तयारी तीव्र 

लुम्बिनी, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी भ्रमणमा आउने भएका छन् । नेपाल र संयुक्त राष्ट्रसंघबीचको गहिरो मित्रतालाई थप मजबुत बनाउने उद्देश्यले नेपाल भ्रमणमा रहेका गुटेरेस मंगलबार लुम्बिनी भ्रमणमा आउन लागेका हुुन् । 

महासचिव गुटेरेसको भ्रमणबाट लुम्बिनीको विकासका कोषेढुङ्गा सावित हुने लुम्बिनी विकास कोषले विश्वास लिएको छ । महासचिव गुटेरेसको भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ समेत लुम्बिनी आउने कार्यक्रम तय भएको छ ।

 कार्यक्रमको तयारी तीव्र पारिएको छ । सडक कालोपत्र गर्दै हतारहतारमा तयारी थालिएको हो । ४ नम्बर गेटदेखि शान्तिदीपसम्म ६ सय ५० मिटर बाटो कालोपत्र गरिँदैछ । दुई÷तीन दिनदेखि रातदिन २४ सैं घण्टा काम गरेर बाटो कालोपत्रे गरिँदैछ । बाटोका खल्टाखुल्टी पुरिएको छ । अन्य बाटो पनि पानी हालेर धुलो नउड्ने बनाइएको छ । ४ वटा हेलिप्याडको सरसफाइ गरेर रंगरोगन गरिएको छ । 

त्यस्तै ५ नम्बर गेटमा निर्मार्णाधीन द्वारको काम पनि सम्पन्न गरेर सञ्चालनको तयारी गरिएको छ । भ्रमणले नेपालमा अहिले देखिएको आर्थिक संकटलगायत समस्या समाधान गर्न, लुम्बिनीलाई धार्मिक पर्यटकीय हिसाबले विकास गर्न, बृहत्तर लुम्बिनीको पर्यटन प्रवद्र्धनबारे विश्वभर  प्रचार–प्रसार गर्न र संसारका सम्पूर्ण मानवको शान्तिका लागि सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

महासचिव गुटेरेस शान्तिदीप हुँदै मायादेवी मन्दिरमा पुगेर प्रार्थना गर्नाका साथै र त्यहाँको वातावरण अवलोकन गर्नुहुने कोषले जनाएको छ । उनी शान्तिदीपबाट मायादेवी मन्दिरसम्म पैदलै जाने र त्यसक्रममा स्थानीय आमा समूह, लुम्बिनीस्थित विभिन्न भिक्षु भिक्षुणीले स्थानीय कलासंस्कृतिसहित स्वागत गर्ने कार्यक्रम छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update