सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरे पनि लगानीको आधारमा प्रतिफल निकै कमजोर देखिएको छ । पछिल्लो समय कृषिमा लगानी बढे पनि उत्पादन वृद्धिदर भने जस्ताको तस्तै छ । कृषिले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदान पनि निरन्तर ओरालो लागेको छ । यसले कृषि क्षेत्रमा गरिएको लगानी ‘बालुवामा पानी’ खनाएजस्तै भएको छ । सरकारी अनुदान कृषि उत्पादनमा वृद्धि र विकासमा केन्द्रित छ । तर, यति ठूलो लगानीको प्रतिफल भने ज्यादै न्यून देखिन्छ । पछिल्ला वर्षमा अनुदान रकम बढाउँदै लगिएको छ, उत्पादन भने बढ्न सकेको छैन । लगानी रकम दुरुपयोग भइरहेकाले प्रतिफल प्राप्त हुन नसकेको हो । अनुदान र सहयोग जति नै बढाए पनि उत्पादन बढ्न नसक्नु अत्यन्त दुःखको कुरा हो । सरकारले यस्तो नीतिमा अब पुनर्विचार गर्नुपर्दछ । कृषि क्षेत्रमा उत्पादन बढ्न नसक्दा ठूलो मात्रामा कृषिवस्तुको आयात बढ्दो छ ।
लगानी बढाएरमात्र हुँदैन मलखाद, बिउ, उपकरण, प्रविधि तथा कीटनासक विषादी जस्ता कृषिका लागि आवश्यक सामग्री समयमै सहज र सरल किसिमले उपलब्ध गराउन सक्नुपर्छ । साथै किसान निरुत्साहित हुनुहुँदैन । उनीहरूले आफ्नो उत्पादनमा सरकारको प्रत्याभूति पाउनुपर्छ । उत्पादनले उचित मूल्य पाउनुपर्छ, पाएन भने स्वतः किसान निरुत्साहित बन्न पुग्छन् । तरकरी र फलपूmल खेतीका साथै नगदे बालीले मात्र प्रोत्साहन पाएर पुग्दैन, मुख्य रूपमा त खाद्यान्न बाली वा अन्न बाली धान, मकै, गहुँ, कोदोलगायत दलहन तेलहनको उत्पादनमा जोड दिन सकियो भने आत्मनिर्भरता बढ्नुका साथै परनिर्भिरता कम हुनपुग्छ । त्यतिमात्र होइन किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरण पनि गरिनु अहिलेको आवश्यकता हो । यसतर्फ सरकारले बेलैमा सोच्न आवश्यक छ । अन्यथा कृषि क्षेत्रमा गरेको लगानी सधैं बालुवामा पानी सरह बन्ने छ ।