Shittalpati
आयात बढ्यो, निर्यात बढेन

पाल्पा, नेपालमा आयात बढ्दा निर्यात बढ्न सकेको छैन । साउनदेखि असोज महिना मसान्तसम्मको तथ्याङ्क हेर्दा आयात अध्याधिक बढेको छ भने निर्यात घटेको छ ।  

चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले  चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चार खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको छ । गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात एक दशमलव ६९ प्रतिशतले बढेको हो । तीन महिनाको अवधिमा नेपालको निर्यात भने दुई दशमलव २६ प्रतिशतले ओरालो लागेको छ । सो अवधिमा नेपालबाट  ४० अर्ब ८७ करोड ४८ लाख बराबरको माल वस्तु निर्यात भएको छ । गत वर्षको तीन महिनाको अवधिमा ४१ अर्ब ८२ करोड बराबरको निर्यात भएको थियो । आयात १.६९ प्रतिशतले बढे पनि निर्यात भने २.२६ प्रतिशतले घटेको हो । चालु आर्थिक वर्षको तीन महिनामा सबैभन्दा बढी २९ अर्ब रुपैयाँको डिजेल, १७ अर्बको पेट्रोल, ११ अर्बको एलपीजी ग्यास आयात भएको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा सबैभन्दा बढी २ अर्बको गलैंचा, १ अर्बको फलामजन्य वस्तु, १ अर्बको अलैंची निर्यात भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा व्यापार घाटा ३ खर्ब ६६ अर्ब पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update