Shittalpati
गाउँघरमा देखिन छाडे पिङ

पाल्पा, दसैं भन्ने बित्तिकै सबैलाई पिङको सम्झना आउँछ, तर चाडपर्वको रौनक बढाउने लिंगे पिङ पछिल्लो समय विस्तारै हराउँदै गएको छ । चचहुइय्य भन्दै दसैं–तिहारसम्मै खेलिने पिङ देखिन छाडेका छन् । केही समय अघिसम्म दसैंको नवदुर्गा सुरु भएपछि गाउँदेखि सहरसम्म पिङको माहोल देखिन्थ्यो । खासमा दसैं र तिहार भनेपछि गाउँमा पिङकै बढी महत्व हुन्थ्यो । तर, आजभोलि भने त्यो उत्साह गाउँघरमा देखिँदैन ।

केही समय अघि सम्म पनि गाउँ घर तथा टोल–टोलमा समेत बन्ने गरेका पिङ यति बेला कमै मात्र बन्ने गरेका छन् । पछिल्ला दिनहरुमा आएर बढदो आधुनिक्तासंगै मनोरञ्जनका लागि थुप्रै साधन थपिंदै जानु र स्थान, समय र आवश्यक कच्चा पदार्थहरुको समेत अभाव हुन थालेपछि गाउँ घर तिर कमै मात्र लिे पिङ बनाउन थालिएको हो । दशैंको सुरुवातदेखि थापेको पिङ तिहार सम्मै राखिन्थ्यो ।

८/१० वर्ष अघिसम्म पाल्पा र गुल्मीका गाउँ–टोलमा दसैंको घटस्थापनादेखि रोटे र लिगे पिङ हालेर गाउँले रमाउने गर्थे तर, आजभोलि यस्ता पिङ निक्कै कम देखिन्छन् । रोटे पिङ त देख्नै छाडिएको छ । कतैकतै लिंगे पिङमात्रै देखिन्छ । दसैंसँग धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्ध बोकेको लिंगे पिङ यस वर्ष पाल्पा र गुल्मीका थोरै ठाउँमा मात्र देखिए । पिङ खेल्दा हुने आनन्द अविस्मरणी हुन्छ । दुःख, कष्ट र पीडा एकछिन भए पनि भुलिन्छ तर अहिले समय फेरियो । पिङ संस्कृतिलाई नयाँ पुस्ताले भुल्दै गएको पुराना पुस्ताहरु बताउँछन् । ‘पहिले–पहिले पिङ नहाली दसैं नै आउँदैन थियो । पिङ बाट्न सबैले घरबाट एक–एक मुठ्ठा बाबियो ल्याउँथे । सबै मिलेर पिङ खेल्थ्यौं तर अहिले भने त्यस्तो छैन्’ गुल्मी इस्माका देवबहादुर पाण्डे बताउँछन् । बढ्दो आधुनिकीकरण, युवा पुस्ताहरू सहर, बजार र विदेशिएका कारण गाउँघरमा पिङ संस्कृति हराउँदै गएको उनी बताउँछन् । ‘अहिलेका पुस्ताको खाने, लाउनेतिर मात्र ध्यान छ ।

चाडपर्व संस्कार, संस्कृतिप्रति ध्यानै छैन’उनले भने । दसैँमा भूँइ छाड्नुपर्छ भन्ने मान्यताले पनि पिङको महत्व रहेको छ । गाउँमा दसैँ सुरु हुनु महिना अघिदेखि चर्खेपिङ बनाउनेको निकै उत्साह हुने भए पनि पछिल्लो पुस्ताको बेवास्ता र बढ्दो युवा पलायनका कारण चर्खेपिङ लोप हुन थालेको हो । झण्डै दुई दशकअघि गाउँ–गाउँमा हुने मेला पर्वमा चर्खेपिङ अनिवार्य जस्तै थियो । तर अहिले यस्ता पिङको संख्या निकै कम भएको हस्तिचौरका शिव महतको भनाइ छ । केही वर्ष अघिसम्म दसैं आउँदा पाल्पाका गाउँ र चोक–चोकमा देख्न पाइने पिङ अहिले भने त्यति देख्न पाइँएनन् । दसैंको बेला पिङमा मच्चिएर खेल्ने पुरानो परम्परा अहिले यहाँका ग्रामीण क्षेत्रमा विरलै मात्र देख्न सकिन्छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update