Shittalpati
विश्व शहरीकरण दिवसको सन्दर्भ

विश्व शहरीकरण दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्रसंघले अक्टोबर ३१ लाई विश्व शहरीकरण दिवस मनाउने निर्णय गरेअनुसार नेपालले पनि हरेक वर्ष यो दिवस र यससँग सम्बन्धित विविध गतिविधि गर्दै आएको छ । साधारणतया ग्रामीण र शहरी भनेर मानिसले बसोबास गर्ने क्षेत्रलाई विभाजन गर्ने प्रचलन छ । तुलनात्मक रूपमा भौतिक सुविधा प्राप्त हुने क्षेत्र शहर हो भने त्यसको विहीनता ग्रामीण क्षेत्र हो । सुरुमा सारा विश्व गाउँ थियो भने अहिले विश्वको शहरीकरण हुँदैछ । नेपालमा पनि शहरीकरणको प्रभाव र परिणाम तीव्ररूपमा देखिन थालेका छन् । २००७ को परिवर्तनपछि शहरीकरणले आकार लिएको भएपनि पछिल्ला दशकमा यसले तीव्रगति लिएको छ ।

संयुक्त राष्ट्रसँगका अनुसार ग्रामीण क्षेत्रको जनमानस शहरमा गएर बस्नु र काम गर्नु पनि शहरीकरण हो । व्यवस्थित शहरीकरण नै विकासको मार्ग हो । विगत केही वर्ष नियाल्ने हो भने नेपालको जनसंख्यामा तिब्र वृद्धि भएको पाइन्छ । शहरमा मानिसको आर्कषण बढी देखिन्छ । सरकारी तथ्याङ्क अनुसार शिक्षा, रोजगारी, सुविधा र सरल जीवनको खोजिमा लाखौं नेपाली गाउँबाट शहर भित्रने गरेका छन् । उचित व्यवस्थापन, असल नीति र परिवर्तनशील योजनाहरु नहुँदा यसले शहरी भेगमा वतावरणीय असर र अब्यवस्थित बसोवास फैलन थालेको छ । ग्रामीण परिवेशबाट बाहिर निस्की रहेको विश्वले अब भने गम्भीर भएर सोच्नै पर्ने भएको छ । कार्वन उत्सर्जनले विकराल रुप लिइ रहेको समयमा जलवायु परिवर्तनका साथै जीव चक्रमा पनि नकरात्मक असर पर्दै गएको छ । ग्रामीण परिवेशहरु एकादेशको कथा जस्तै बन्न थालेको वर्तमान अवस्थामा अव्यवस्थित शहरीकरणले पनि निकै नै समस्या सिर्जना गरे कै छ । सही र सन्तुलित तथा व्यवस्थित शहरी विकासलाई भने नकारात्मक मान्न सकिँदैन । योजनावद्ध र व्यवस्थित शहरीकरणको प्रक्रियाबाट विकासका आयामहरु थपिन्छन् । औद्योगिकीकरणको प्रक्रिया अगाडि बढ्छ भने सामाजिक अन्तक्र्रिया र अन्तरसम्बन्धको दायरा पनि व्यापक बन्दै जान्छ । जसका लागि शहरीकरण गर्नु अगाडि पर्याप्त पूर्वाधारको विकास र शहर बनेपछि आउने समस्याको समुचित व्यवस्थापन गर्न सके मात्र विश्व शहरीकरण दिवस मनाउनुले सार्थकता प्राप्त गर्न सक्छ । तसर्थ यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update