करीब १,४७,५१६ वर्ग किमि क्षेत्रफलमा फैलिएको नेपाल विश्वको नमुना देश हो । हिमाल, पहाड र तराईमा विभाजित राज्य जुन प्राकृतिक, साँस्कृतिक, भौगोलिक विविधताले भरीपूर्ण रहेको छ । विविध किसिमका वातावरणले धनि छ । यसको यथोचित व्यवस्थापन र समुचित प्रयोग गर्न सके हाम्रो देश नेपाल समृद्ध बन्न सक्ने छ । विश्वमा पाईने सबै किसिमको हावापानी नेपालमै पाईन्छ । त्यसमा पनि वास्तविक पर्यटकिय आकर्षणको केन्द्रविन्दु पाल्पा तानसेन र आसपासका क्षेत्र छन् । सन् १८१६ मार्च ३ भन्दा अगाडि नेपालका क्षेत्रफल भित्र पर्ने हाल भारतको उत्तराखण्डमा पर्ने दार्जिलिङ र उत्तराञ्चलमा पर्ने नैनि ताल क्षेत्र आज भारत नेपालको मात्र होइन विश्वको आकर्षणको केन्द्र बनेको छ । ति क्षेत्रले त्यहाँका स्थानीयको जीवनस्तर उकासेका छन् । युवालाई रोजगार र्सिजना गरेका छन् । देश भित्र युवा राख्न सफल भएका छन् । समान सामुन्द्रिक उचाईमा रहेको, समान किसिमका भौगलिक बनावट रहेको पाल्पा तानसेन भने ओझेलमा परेको छ ।
पर्यटनलाई मन पराउने जो कोही जब दार्जिलिङ, सिक्किम र नैनी ताल पुग्छन् झट्ट पाल्पाको तानसेनलाई सम्झन पुग्छन् । व्यवस्थापन र प्रचार–प्रसारको कारणले विश्वका धेरै ठाउँको स्तरोन्नती भएको देखिन्छ । कतिपय ठाउँ त कृत्रिम तरीकाले बनाइएका छन् सिंगारिएका छन् र पनि अगाडि छन् । वास्तवमै प्रकृतिको अलौकिक वरदान पाएको पाल्पा तानसेन भने ओझेलमा परेको छ । यो ठाउँ प्रचार–प्रसार र लगानीको अभावमा स्तरीकृत हुन सकेको छैन । तानसेनको दरबार, बजार अनि श्रीनगर, तानसेनबाट करीब ११ किमि उत्तरमा रहेको रानीमहल, ७ किमि पश्चिममा रहेको भैरवस्थान मन्दिर, तानसेनबाट ३ किमि पूर्वमा रहेको बगनासडाँडा लगायत सँग–सँगै रहेका महामृत्युञ्जय मन्दिर, शिवालय मन्दिर, दर्लमकाली मन्दिर, सिद्ध गुफा र मन्दिर राम्दी करीडोरकै बाटोबाट सरर कालीगण्डकी किनारबाट दौडिएको करिडोर रिडि रिषिकेश मन्दिर र तिनमुखे पुल सम्मको क्षेत्र समेटेर पर्यटन प्याकेजको अवधारणा विस्तार अनि लगानी तथा व्यवस्थापन गरे पाल्पाको आकर्षण निकै बढेर जानेछ ।
यसै पनि यो एतिहासिक क्षेत्र हो । यस ठाउँका अनेकौं उपनाम समेत रहेका छन् । कुनै समयमा मिनि दार्जिलिङ भनेर चिनिन्थ्यो । जात्रै जात्राको ठाउँ भएकाले काठमाडौंको भाइ पनि भनिन्छ । नेपालको बनारस भनेर चिनिने रिडिको क्षेत्र पनि यही पर्दछ । नेपालको ताजमहल भनेर चिनिएको खड्ग शम्शेरले बनाएको प्रेमको प्रतिक रानीमहल समेत यही पर्दछ । गतवर्ष ढाकाको राजधानी समेत घोषणा भईसकेको यो क्षेत्र विगत समयमा शक्तिशाली राज्यको समेत पहिचान बनाएको थियो । रुपन्देहीको बुटवल क्षेत्रबाट प्रवेश गरे पछि झुम्सासम्म चेनेजका रुपमा सुरुङ मार्ग अनि सुधारिएको सिद्धार्थ राजमार्गले बर्तुङ क्षेत्रमा तानसेन कोर एरियामा प्रवेश गराउने र ठूला गाडीबाट ओर्लिइ साना गाडीमा सररर प्याकेजको रुपमा तानसेन घुमाउने व्यवस्थापन गर्न सके पर्यटन क्षेत्रको कायापलट सम्भव छ । पाल्पाका अन्य स्थानीय निकाय पनि पर्यटनका लागि कम भने छैनन् । पूर्वमा रहेको निस्दी काउले डाँडा, जुरे गुफा सँगै रामुपरमा रहेको सिता कुण्डसम्म जोड्ने बृहत योजना पनि बिस्तारै अगाडि बढ्ला ।
विशेषगरी तानसेनलाई पर्यटनमैत्री बनाउन रात्रिकालिन होटल व्यवसाय, यात्राका लागि सहज र सरल मार्ग अनि यातायातका साधनको व्यवस्था, अर्गानिक र प्राकृतिक गाँस बाँस र ढाकाको कपडाबाट सु–सज्जित बनावटको यथोचित प्रयोग, करुवा र करुवा बनावटका सर सामग्रीका प्रयोग घरदेखि होटल व्यवसायसँग जोड्न सके पाल्पाको भिन्नै पहिचान बन्ने थियो । यसले पहिचान सँगसँगै थुप्रै अवसरको बहार समेत ल्याउने थियो । पछिल्लो समयमा युवाले अवसर अनि भविष्यको खोजिमा देश छोडिरहँदा पाल्पा र आसपासका युवाहरुलाई आम्दानीका लागि अवसर बन्ने थियो । हजारौंको संख्यामा रोजगारीका अवसर उपलब्ध हुने थियो । सयौं होटल व्यावसायी, निजी तथा सार्वजनिक यातायतका साधन पर्यटक पथ प्रर्दशक, ढाकाका कपडा उद्योग, करुवा उद्योग, तानसेन र आसपासमा उत्पादन भएका कृषि उपजले हजारौंको लागि रोजगार सिर्जना हुने थियो । पहाडी क्षेत्र उद्योगमैत्री बन्न नसकिरहेको बेला पर्यटन व्यवसायी मैत्री बन्ने थियो । पर्यटनका लागि पहल नभएका होइनन्, लगानी नै नगरिएको पनि होइन तर पर्याप्त लगानी गरिन नसक्नु र निजी क्षेत्रको पर्याप्त लगानीलाई आकर्षित गरिन नसकिनुले यथेष्ट मात्रामा प्रगति भएको छैन् । यो खालका कार्य गर्न छोटो समयमा सम्भव छैन र थोरै रकमले पनि सम्भव छैन ।
नेपालमा पर्याप्त श्रोतको अभाव रहेको विधितै छ । यसका लागि टुक्रे र खण्डे विकास भन्दा पनि पर्यटन गुरुयोजना तयार गरि दीर्घकालीन रुपमा लाभलिने गरी अगाडि बढ्न आवश्यक छ । स्थानीय तहसँग यो मोडलमा विकास गर्न पर्याप्त पुँजी नहुने हुनाले संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्नु आवश्यक छ । क्षेत्रफलका हिसाबले धेरै क्षेत्र समेत जोडिने भएकाले नजिकसँगै जोडिएका स्थानीय तहहरुसँग सहकार्य र साझेदारीमा समेत कार्य अगाडि बढाउनु उत्तम हुनेछ । पर्याप्त पुँजी र प्राविधिक ज्ञानको आवश्यकता पर्ने हुनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउनु पनि बुद्धिमता देखिएला । चाहे भागिनी सम्बन्ध कायम गरेर होस् वा अन्तराष्ट्रिय निकाय वा देशको सहयोगको प्रयोग गरेर होस् विस्तृत योजना कार्यान्वयन गर्नु आजको समयको माग हो । ठाउँ चिनाउने र देश बनाउने महान अभियानको रुपमा लिई राष्ट्रिय गौरवको आयोजना बनाउनु नै एक उत्तम विकल्प हो ।
(लेखक हाल बगनासकाली गाउँपालिका पाल्पामा कार्यरत छन् ।)