पाल्पा, पाल्पाको शिक्षा, स्वास्थ्य तथा बालबालिकाको क्षेत्रमा जीवन सर्मपित गरेकी समाजसेवी राधा भारतीको ९६ बर्षको उमेरमा निधन भएको छ । तानसेन नगरपालिका–३ बसन्तपुर निवासी भारतीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । तानसेनमा विरामी भएपछि समाजसेवी भारतीलाई तीन हप्ता अघि उपचारको लागि काठमाडौं लगिएको थियो ।
उनले आँखाको उपचारबाट कोही पनि बञ्चित हुन नपरोस् भन्दै पाल्पा लायन्स लाकौल आँखा अस्पताल निर्माण देखी, विभिन्न अक्षयकोष स्थापना, जनता माध्यमिक विद्यालयमा विभिन्न किसिमको छात्रबृत्ति अक्षयकोष, विभिन्न साहित्य क्षेत्रमा कलम चलाउनेहरुको लागि साहित्य अक्षयकोष, जिल्ला संगठनको लामो समयसम्म अध्यक्ष भई बालबालिकाको हकहितको क्षेत्रमा उल्लेखनिय योगदान गरेकी थिइन् । यस्तै भारतीले जनता विद्यालय स्थापना गर्न श्रीमान् इन्द्रलाल भारतीसँग काधमा काध मिलाएर जग्गा व्यवस्थापन देखी विद्यालय सञ्चालन गर्न महत्वपुर्ण भुमिका खेलेकी थिईन । भारतीले बालबालिकाहरुलाई पठन–पाठन गराउनु पर्छ भनि बाग्लुङ्ग ,पाल्पा लगायतका जिल्लामा निःशुल्क रुपमा पढाउने काम समेत गर्दै आएकी थिईन । उनी भारती माष्टर्नीको नामले समेत परिचित थिईन् । पञ्चायती शासन विरुद्ध पनि महिलाहरुलाई संगठित गर्दै प्रजातन्त्र स्थापनको लागि महत्वपूूर्ण भुमिका भारतीको रहेको छ ।
खरो स्वभावकी भारती महिला अधिकार, महिला माथिको दमन थिचोमिचो विरुद्ध पनि आवाज उठाउने महिलाको रुपमा परिचित थिईन । पाल्पाको नेत्र ज्योती संघ, नेपाल रेडक्रस सोसाईटी, नेपाल बाल संगठन लगायतका संघ संस्थामा लामो समयसम्म नेतृत्वदायी भूमिकामा रही भारतीले काम गर्दै आएकी थिईन् । भारतीको निधनले पाल्पाको शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा क्षति पुगेको पाल्पालीहरुले बताएका छन् ।