Shittalpati
दर्पुकमा युवकले गरे छिमेकी माथि कुटपिट

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका–६ दर्पुकमा एक युवकले छिमेकी माथि कुटपिट गरेका छन् । पानीको विषयलाई लिएर शिवप्रसाद अधिकारीले छिमेकी ६३ वर्षीय मोहनीलाल पराजुली र उनको श्रीमति ५० वर्षीया पूर्णकला पराजुलीलाई कुटपिट गरेका हुन् ।

गत शनिबार घरमै बसिरहेको अवस्थामा अधिकारीले केही व्यक्तिहरुको समूह लिएर आफुहरु माथि कुटपिट गरेको पीडित महोनीलाल पराजुलीले बताए । उनले भने ‘हामी बूढाबूढी घरभित्रै बसिरहेका थियौं, त्यत्तिकैमा आएर मलाई भित्रबाट थुतेर बाहिर ल्याएर जथाभावी कुटे ।’ मलाई जोगाउन आएकी श्रीमतिलाई समेत कुटेर घाइते गराएको पीडित पराजुलीले बताए । ति युवकको कुटपिटबाट पूर्णकलाको आँखामा चोट लागेको छ भने उनका श्रीमान मोहनीलालको हातमा गम्भीर असर पुगेको छ । पूर्णकलाको पाल्पा आँखा अस्पातलमा उपचारपछि घर ल्याइएको श्रीमान मोहनले बताए । चिकित्सकले पराजुलीको टाउँकामा समेत असर परेको हुन सक्ने भएकाले उपचार गर्न तत्काल सुविधायुक्त अस्पताल लैजान सुझाव दिएको उनले बताए । श्रीमान पराजुलीका अनुसार श्रीमितको आँखामा चोट लागेको र टाउँको समेत दुखेको छ ।

धडेना खोलाको पानी १८ घर परिवारलाई ल्याउने भनिए पनि अहिले ४ घरपरिवारले मात्र उपभोग गर्दै आएकाले पराजुलीले पानी ल्याउने भए सबै घरपरिवारलाई ल्याउनुपर्ने नभए पानी खोलामै बग्न दिनुपर्ने भन्दा आफुमाथि पटक–पटक आक्रमणको प्रयास हुँदै आएको बताए । अधिकारीले यस अघि पनि आफुमाथि आक्रमण गर्न खोजे पनि सफल नभएको तर दोस्रो पटकमा भने कुटपिट गरेरै छाडेको पीडित पराजुलीको भनाई छ । उनले आफुहरुले न्याय पाउनुपर्ने र दोषीलाई तत्काल कारवाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएका छन् । पराजुलीले भने ‘घरमै बसिरहेको अवस्थामा आएर कुटपिट गर्नेले भोली ज्यानै लिन सक्छ, हामी अन्यायमा पर्‍यौं, छिटो भन्दा छिटो सुरक्षाको प्रत्याभूति दिने गरी दोषीलाई कारवाही हुनुपर्छ ।’ कुटपिट गर्ने अधिकारीले भने श्रीमान माथि हातपात गरेको स्वीकार गरे पनि श्रीमतिमाथि भने आफुले कुटपिट नगरेको दावी गरेका छन् । उनले आफुमाथि बुवाले पटक–पटक गाली गलौज र अपशब्द प्रयोग गर्ने गरेकाले सहन नसकेर सामान्य हातपात गरेको शित्तलपाटीसँगको कुराकानीमा बताए ।

अधिकारीले भने ‘म र मेरो परिवारलाई सधैँ गाली गर्ने, पानीको पाइप समेत थुतेर फालि दिने जस्ता गतिविधि गर्दै आएकाले बुवा माथि हातपात गरेको हुँ, तर आमालाई भने मैले हातपात नै गरेको हैन ।’ बुवालाई जोगाउन आउँदा घरको पिल्लरमा ठोक्किन पुग्दा आमालाई चोट लागेको उनले दावी गरे । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले भने अभद्र व्यवहार सम्बन्धी जाहेरी दर्ता भएकाले अनुसन्धानपछि मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update