Shittalpati
‘भोकमरी’ (कथा)

भावना खनाल
जल्पा–२, पूर्वखोला, पाल्पा

साँझ झमक्क परिसकेको थियो । चारो खोज्न निस्केको पंक्षी मेलो सकेर फर्केका ज्यामी झैं आ–आफ्ना गुँडमा फर्कने क्रममा थिए । खै किन हो सधै झैं दलिनमा आफ्ना पङ्ख फिजाउँदै पोथीको वरिपरी घुम्ने भाले परेवाको माक्मा घुर–घुर केही दिनदेखि बन्द छ । चकमन्न वातावरणलाई चुनौति दिए झैं गुँडमा परेवाका बचराहरुको खलबल भने आज अलि बढी नै थियो । हुन पनि चार (चारवटा बचराहरु छन् त्यसैमाथि ठूलै पंक्षी बैठक जस्तो चुच्चोमा चुच्चो जोडेर आफ्ना गुनासाहरु पोख्दैछन् । सबैभन्दा सानो बचेरो भोकले ओँठमुख सुकेर बोल्नै नसक्ने अवश्थामा पुगिसकेको थियो ।

अरु बचराहरुसँग भन्दै थियो, आज पनि हाम्रा बा आमा रित्तै फर्किए भने ? एक/एक महिना भैसक्यो हामीले दानापानी खान नपाएको है ! उसको बोलीमा मुन्टो हल्लाउँदै अर्काे बचेरोले भन्छ, झन् त हामी उडेर जान सक्छौं, न त आफै चारो खोजेर खान सक्छौं, कस्तो विवशता है ! पङ्ख छन् उड्न नसक्ने, खुट्टा छन् हिड्न नसक्ने । यत्तिकैमा तेस्रो बचरोले भन्छ, बाआमा पनि त १/१ महिनादेखि भोकभोकै भौतारिईरहेका छन् । डुलिरहेछन् हाम्रा निम्ति केही खानेकुरा पाईन्छ कि भनेर खोजिरहेका छन् तर के गर्नु, हाम्रो दुःख कस्ले देखोस् भन्दै सुँक्कसुँक्क रोईरहेको छ । यत्तिकैमा साना बचेराहरुलाई सान्त्वना दिदै सबैभन्दा ठूलो बचेरोले भन्यो, पर्ख न पर्ख ! बा आमा आउँदै होलान्, चारो नपाएर खोज्दै होलान् । के गर्नु हामीजस्तो कमजोर र निरीह भएपछि सहनुको विकल्प नै के रहेछ र ! न त हामी उडेर बाहिरी दुनियामा जान सक्छौँ, न त खानेकुरा खोजेर नै खान सक्छौं । न त बाहिर उड्ने तागत छ, न त बाँच्ने साहस नै ! न त मागेर खान सक्छौँ, न त खोसेर नै । यति भन्दै गर्दा उसका आँखा रसाएका छन् । साना बचेराहरु भोकले निकै छट्पटाईरहेको, कराईरहेको र रोईरहेको निरीह बनेर हेरिरहेको छ । कतै बा आमा नआईपुग्दै खानै नपाएर भोकभोकै गुँडभित्रै कसैले थाहा नै नपाउने गरी मर्ने अवस्था हुने होकि भनेर भित्रभित्रै डर र भोकले छट्पटाईरहेको छ । यसैबीच फेरि अलिकति आशाको त्यान्द्रो बाँकी राखेर बा आमाले चारो ल्याउने र खाने पर्खाईमा छ ।

यत्तिकैमा युद्व हारेका सिपाही झैं निरास मुद्रामा जोडी परेवा गुँडमा आईपुगे । यतिञ्जेलसम्म सबैभन्दा सानो बचेरो मरिसकेको थियो । अरु बचेराहरु चिँचिँ गर्दै जीवन मरणको दोसाँधमा थिए । रित्तै फर्किएका बाआमालाई देखेर निरास हुँदै भने, आमा ¤ आज पनि खानेकुरा ल्याउनुभएन ? हामी भोकतिर्खाले अत्यन्तै छट्पटाएका छौं । अब हामी भोकभोकै मरिने भयो है आमा ¤ आफ्नो सानो बचेरो मरिसकेको र अरु पनि अन्तिम अवस्थामा पुगेको देखेर आफ्ना अबोध, निर्दाेष बचराको मलिन अनुहार हेर्दै बरबर आँसु खसाल्दै परेवीले भन्छे, हे भगवान ¤ हामी आफ्नै गुँडभित्र भोकभोकै मर्नुपरेको सत्यता बाहिरी संसारलाई के थाहा !, सबैले स्वच्छन्द आकाशमा भुरुरु उडेको र रमाएको मात्र देख्छन्, गुँडभित्रका यथार्थता कस्लाई के थाहा ! महिनौ सम्म जताततै चाहारे तर कतै केही खानेकुरा पाउन सकिन । बाहिर कतै पनि गेडागुडी, जुठोपुरो पोखिएको छैन । गाउँ, घर, बजार जताततै सुनसान छ । खेतबारी सुख्खा छ । बाहिर कहीँ कतै पनि मान्छेहरु देखिदैनन् ।

अहो ! यी मान्छेहरु पनि कति स्वार्थी रहेछन् । आफूहरु भित्रभित्रै बसेर रमाईरहेछन् । को भन्दा को कम भने झैं अनेक व्यञ्जन परिकार बनाएर खाईरहेका छन् । नत आफूहरु बाहिर निस्कन्छन्, नत अन्नका गेडागुडी नै फाल्छन् बाहिर । हामीजस्ता अशक्त, अबोध र निरीह प्राणीको अकालमै भोकमरीले ज्यान जाने भयो, त्यो पनि गुँडभित्रै । नत बचेराहरु बचाँउन सकेँ, न त आफू नै बाँच्न सक्छु अब, भन्दै अश्रुधारा बगाईरहेकी थिई । मायालु र ममतारुपी आँखाले एक टक लाएर मन अघाउञ्जेल हेरिरही, हेर्दाहेर्दै अरु दुई बचेराले पनि प्राण त्याग गरे । यौटा ठूलो बचेरो मात्र ज्यूदो थियो, उसले मात्र आमाका कुरा सुनिरहेको थियो । मरिने पक्का भएपछि ऊ पनि आमाको काखमा लुटपुटियो । दुवैले झोक्राएर भुँईमा मुन्टो गाडिरहे । उता भाले परेवा नजिकै बसेर धुरुधुरु रोईरहेको थियो । ऊ पनि निकै कमजोर भैसकेको थियो त्यसैले उडेर कतै जाने हिम्मत गर्न सकेन । मनमनै भन्दै थियो, मानवीयता गुमाएका यी मानवहरु मानव नभएर दानव हुन् ।

आफूहरु अनेक वाहनामा भित्रभित्रै बसेर डकारुञ्जेल खाईरहेछन्, रमाईरहेछन् । बाहिरी दुनियाको यिनलाई चासो पनि छैन, अरुका दुःख, दर्द, मर्म र पिडाहरु बुझ्न सक्दैनन् यिनीहरु । मान्छेका यस्ता स्वार्थीपनले गर्दा हामीजस्ता निरीह र कमजोर प्राणीको ज्यानै जाने भो, त्यो पनि गुँडभित्रै, एकान्तमा, कसैले थाहा नै नपाउने गरी । न त आफू बाँच्न सकेँ, न त परिवार नै बचाउन सकें । हे भगवान् अर्काे जन्ममा यस्तो निरीह प्राणी भएर जन्मिनु नपरोस् ! जसले आफ्ना बालबच्चाहरु खानै नपाएर आफ्नै अगाडि प्याक प्याक मुख बाएर भोकले छट्पटाउँदै मरेको आफ्नै आँखाले देख्न नपरोस्, सहन नपरोस् । ठूला–ठूला दरबारभित्र ऐस आराम र मोजमस्तिमा एक्लै रमाउने मान्छे भएर जन्मिन पाऊँ ताकि भोक र शोकले मर्नु नपरोस् ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update