संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणमा रहेका छन् । उनी आइतबारदेखि चार दिने भ्रमणमा छन् । गुटेरेसले सगरमाथा, पोखरा, लुम्बिनी क्षेत्रको भ्रमण गरेका छन् । यस्तो उच्चस्तरीय भ्रमणले सम्पूर्ण नेपालीका लागि उत्साहित बनाएको छ । यस्ता शीर्ष व्यक्तित्वले सबै सदस्य देशको भ्रमण गर्न भ्याउँदैनन् तर नेपाल भने यस अर्थमा भाग्यमानी छ कि गुटेरेस अघि नै संयुक्त राष्ट्रसंघका ६ जना महासचिवले यहाँको भ्रमण गरिसकेका छन् । महासचिवको अहिलेको भ्रमण निकै कोणबाट अर्थपूर्ण मानिएको छ । पहिलो कुरा त अहिलेको विश्वव्यापी जल्दोबल्दो समस्याका रूपमा झांगिदै गएको जलवायु परिवर्तनबाट नेपाल जस्तो हिमाली मुलुकमा परेको प्रभाव उनले आफ्नै आँखाले नियालेका छन् ।
गुटेरेसले सगरमाथा क्षेत्र पुगेर जलवायु परिवर्तन बारे विश्वको ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाएका छन्। जलवायु परिवर्तनका कारक मुलुकहरूले हरितगृह ग्यास उत्सर्जन न्यूनिकरण र प्रभावित मुलुकहरूका लागि क्षतिपूर्ति प्रबन्धमा उति चासो नदिइरहेका बेला राष्ट्रसंघका महासचिवले हिमाली मुलुकमै आएर प्रवाह गरेको सन्देश अमूल्य छ । यस्तो अवस्थामा गुटेरेसको भ्रमण कोसे ढुंगा सावित हुने अपेक्षा गरिएको छ । नेपाल बुद्ध जन्मेको पवित्र भूमि हो । गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी पुगेर विश्व शान्तिको सन्देश प्रवाह भएको छ । त्यसैगरी प्रसिद्ध पर्यटकीय क्षेत्र पोखराको भ्रमणले समेत पर्यटन व्यवसायमा पनि सकरात्मक सन्देश प्रवाह गरेको छ । यसर्थ पनि उनको भ्रमण नेपालका लागि निकै लाभदायक हुने अपेक्षा गरिएको छ । यो मुलुक र मुलुकवासीका लागि एक ठूलो अवसर पनि हो । तर, यस अवसरको सदुपयोग गर्न सरकार र सम्बन्धित निकायले बुद्धि पुर्याउनै पर्छ । यसर्थ नेपालले यही मौकामा आफ्नो तत्परता देखाउनु जरूरी छ ।