Shittalpati
आयात हैन निर्यात बढाऔं

नेपालमा अहिले निर्यात भन्दा पनि आयात बढ्दो छ । यो सकरात्मक पक्ष भने पक्कै हैन । साउनदेखि असोज मसान्तसम्मको तथ्याङ्क हेर्दा आयात अध्याधिक बढेको छ भने निर्यात घटेको छ । चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चार खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको थियो । गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात एक दशमलव ६९ प्रतिशतले बढेको हो । तीन महिनाको अवधिमा नेपालको निर्यात भने दुई दशमलव २६ प्रतिशतले ओरालो लागेको छ । सो अवधिमा नेपालबाट ४० अर्ब ८७ करोड ४८ लाख बराबरको माल वस्तु निर्यात भएको छ । गत वर्षको तीन महिनाको अवधिमा ४१ अर्ब ८२ करोड बराबरको निर्यात भएको थियो । आयात १.६९ प्रतिशतले बढे पनि निर्यात भने २.२६ प्रतिशतले घटेको हो ।

आयात बढ्नु कुनै पनि मुलुकका लागि राम्रो होइन । कस्ता वस्तु ल्याएका कारण आयात बढेको हो, त्यसलाई नहेरी आयात बढ्दैमा गर्व गर्नुको कुनै अर्थ रहँदैन । त्यसमा पनि उपभोग्य र विलासिताका वस्तुको आयात बढेको छ । यो झनै नराम्रो पक्ष हो । उपभोग्य र नचाहिँदा वस्तु आयात गर्दा सरकारको राजस्व त बढ्ला, केही व्यापारीहरूको कारोबारमा वृद्धि पनि होला, तर समग्र अर्थतन्त्रका लागि यो राम्रो भने पक्कै हैन । आयात बढे पनि निर्माणजन्य वस्तु अथवा औद्योगिक कच्चा पदार्थ, मेसनरी, पार्टपुर्जाजस्ता वस्तुको आयात बढेको भए मात्र मुलुकका लागि फाइदाजनक हुने थियो । जुन वस्तुले आन्तरिक उत्पादन बढाउन सहयोग पु¥याउँछ त्यस्ता वस्तुको आयात बढ्नुपर्छ । तर, अहिले चाडपर्व लक्षित उपभोग्य वस्तु र विलासिताका सामानहरूको आयात बढेको छ । यसले मुलुकको आन्तरिक उत्पादन बढाउन मद्दत पु¥याउँदैन । स्वदेशमा उत्पादित वस्तुुहरुलाई निर्यात गर्न सके मात्र देशको आन्तरिक आम्दानीमा वृद्धि हुन सक्छ । तसर्थ उत्पादित वस्तुुको निर्यात बढाउने कुरामा सरकार र सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update