Shittalpati
प्रकृति, संस्कृति र जीवन

जगन्नाथ पन्त
संस्कार र संस्कृति जीवनका आधार हुन् । ब्रम्हाण्ड प्रकृति हो । यो मानव निर्मित होइन । पहिले देखिनै बनि बनाउ छ । प्रकृति भित्र जल, तेज, वायू, आकाश, जमिन अवस्थित छन् । प्रकृतिमै अन्तरिक्ष निहित छ । प्रकृति ईश्वरको रचना हो । ऋतु, दिन, रात, पृथ्वी, सूर्य, चन्द्र, तारा, ग्रह, नक्षत्र सबै ठिक–ठिक लयमा अनुशासित रुपमा चल्दछन् । यीनै को गतिमा समय मापन छ । अर्थात् तिथी, मिति सहितको पञ्चा· गणना हुन्छ जुन सदियौदेखि अचुक छ । जसले प्रकृतिलाई अध्ययन गर्दछ, आविष्कार गर्दछ उ वैज्ञानिक वा ज्योतिषी वन्दछ । जसले प्रकृतिमा ईश्वर देख्दछ उसले शास्त्रमा उतार गर्दछ र महिर्षि, सन्त बन्दछ । प्रकृतिको रचना गर्ने सर्व शक्तिमान सत्ता ईश्वर हो । यहि नै सनातन हो । कालान्तरमा सनातनलाई देश, काल अनुसार खण्डिकृत अर्थ गर्नाले धर्म, सम्प्रदाय जन्मिए । सनातन रचना कुनै एक देश वा एक धर्मको मात्र होइन । वेद, उपनिषध, स्मृति पुराण सिर्जना हुँदै आए । यी र कुरान, बाइवल सबै पवित्र धार्मिक ग्रन्थहरुमा पात्र र उदाहरण फरक–फरक रुपमा प्राकट्य भएका छन् तर सारमा सर्वशक्तिमान सत्तालाई नै मानव सामु ईश्वर, अल्लाह, यशुखृष्ट नामले पुकार गरिएका हुन् । हिन्दू, इस्लाम, इसाई नामकरण गरी त्यसलाई फरक–फरक धर्मको रुपमा धारण गरियो । फरक–फरक धर्मको रुपमा अवलम्बन गरिदै जादा धर्म पालना गर्ने मूल्य मान्यता फरक हुँदै आए । धर्म पालनाका विधि र तौरतरिका फरक–फरक स्थापित हुँदै आए । समयकाल अनुसार भूमिकाका आधारमा अवतार, एन्जलस, सन्देष्टा मान्दै जादा कथा बन्दै जादा सम्प्रदाय पनि सिर्जित र थपिदै गए ।

देश र स्थान विशेष अनुसार रहन सहन फरक भए जस्तै, एउटै भाषा भित्र लवज, उच्चारण फरक भए जस्तै, समुदाय र जाति अनुसार एउटै देश र स्थानमा भाषा फरक भए जस्तै, भेषभुसा र संस्कार, भूगोल अनुसार लवाई, खवाई फरक भए जस्तै धर्म सम्प्रदाय फरक भए । यिनै विविधतामा अनुसरण गरिएका जीवनशैली अनुसार संस्कार पनि फरक–फरक अवलम्बन हुँदा र अभ्यास गर्दै जाँदा मानिस नै फरक हुन गए । फुजी, गोल्डेन, चक्लेटी आदि स्याउ फलको आकार र रङ्ग फरक भए पनि स्वाद र गुण एउटै छ । धान दानाका आकार र स्वाद फरक भए पनि भातको काम र गुण एउटै हो । फरक यत्ति हो कि उष्णता, सितलता, हावा, पानी आदि भूगोल अनुसार स्याउ र धान र यस्तै अरु उपजको आकार, प्रकार, स्वाद फरक हुन तर वस्तु त एउटै हो । स्याउ स्याउ नै हो धान धान नै हो । नर्सरीबाट भाण्टाको तीनवटा विरुवा किनेर करेसाबारीमा रोपेको दुईवटामा लाम्चो र एउटामा ठल्ले आकारमा फल्यो । दुईवटामा वैजनी रङ्ग र एउटामा सेतो रङ्गको फल फल्यो । तरकारी पकाउदा स्वाद र गुण एउटै रह्यो  । महिला र पुरुष दुई जात हुन् । हिन्दू, मुस्लिम, इसाईमा पनि हुने महिला र पुरुष हो । तेस्रो लिङ्ग वा ननजेण्डर पनि सबैमा उहि हो । कोही गोरा होलान्, कोही काला होलान्, कोही चुच्चे । कोही थेप्चे होलान्, कोही अग्ला कोही पुड्का होलान् । कोही पातला, कोही बाक्ला होलान् । फरक वर्ण, रंगका आधारमा, कामको सिप र बाँडफाँडका आधारमा धर्म वा जातको विभाजन जीनको पहिचान सम्मका लागि ठिकै होला तर मानिस मानिस नै फरक हो भनेर भेदभाव, युद्व, पक्ष, विपक्ष गर्नु मानवियता होइन । हिन्दू एउटै धर्म भित्र पनि शैब, बैष्णव, कृष्णप्रणामी हुँदाहुँदा गुरुहरुले आ–आफ्नो महत्वका लागि एउटै सम्प्रदाय भित्र पनि धर्म नै फरक हो भन्ने जस्तो गरि फरक–फरक मार्ग, फरक–फरक ढंगले प्रचार गरी एउटै धर्म सम्प्रदायलाई पनि टुक्रा टुक्रा पारेर मानिसलाई यति विभक्त गेरका छन् कि धर्मको परिपालनामा आफुलाई उत्सर्ग गरेका छन् वा कलहको सिर्जनाकार बनेका छन् विभाजन देख्दा माथिङ्गल नै खलबलिन्छ । बैष्णव भित्रै, कसैले बिष्णु भगवान हुन र अरु बिष्णुका अवतार हुन् भन्छन् कृष्ण प्रणामीले कृष्ण नै भगवान हुन्, हरि, नारायण गोविन्द, बिष्णु, सहस्रनाम सबै कृष्णकै पर्यायवाची हुन् भन्दछन् । कृ्ष्ण भगवानकै शक्ति पाएर ब्रम्हा, विष्णु, महेश्वर त्रिदेव चल्छन भन्छन् । राधा कृष्णकी शक्ति हुन र राधा र कृष्ण एउटै रुप हुन् भन्दै राधे राधे भन्दछन् । सत्यसाई, ओमशन्ति, सतसाहेव, राम राम अनेकादीले यहि मात्र ठिक अरु वेठिक भन्दै अभिवादन समेतमा यिनै नाम उच्चारण गर्दछन् । शैवले शिव नै ठूला भगवान् भन्छन् । पुरुष भगवान र देवताका महिला जोडी भगवान वा देवी छन् । सति, पार्वती, लक्ष्मी आदि । कोहि पुत्री पुत्र वा एकरुपबाट अनेक रुप धारणका छन् । गणेश, कुमार, सरस्वती, दुर्गा, नवदुर्गा । कोहि भक्तदेव छन् हनुमान, प्रल्हाद । तेतिस प्रकारका देवि देवताका अनेक नाम र रुप छन्, तेत्तीस कोटी । बुद्ध, जैन, किरात, शिख धर्म पनि हिन्दूसंग मिल्दाजुल्दा छन् । एउटा बवुरो कर्मकाण्डी हिन्दूले कसकसलाई मान्नु, पुकार्नु, पुजा गर्नु, विधि पुर्‍याउनु । कुन कुन तिर्थ, ब्रत गर्नु भन्ने लाग्न सक्दछ ।

नित्य पुजा गर्दा सबैलाई स्मरण गर्न सकिन्छ । जस्तै पाञ्चायन पुजा । नैमित्य पुजा गर्दा जुन काम अनुसार गरिन्छ, सोहि अनुसार आह्वान गरिपुजा, यज्ञादी गरिन्छ । जस्तै गर्भाधान, नामाकरण, कर्णभेद, शिक्षारम्भ, वर्तवन्ध, विबाह, मृत्यु संस्कार आदि १६ संस्कार । त्यसै गरी कुनै विशेष कामना राखेर गरिने पुजालाई काम्य पुजा भनिन्छ । जस्तै कि हरिवंश पुजा । सन्तान प्रप्तिका लागि गरिने पुजा वा यज्ञ,जुन प्रकृतिमा निहित रहेको र सो अनुसारको फल प्राप्तिका लागि काम्य पुजा गरिन्छ । आयुर्वेदमा पञ्चकर्म भनेर वमन, विरेचन, वस्ति–अनुवासन, वस्ति–आस्थापन र नस्यलाई भनिन्छ । पूर्व कर्ममा स्नेहन र स्वेदन २ विधि छन् । स्नेहन पनि आभ्यान्तर र बाह्य छन् । यो शरिर मालिस विधिसँग सम्बन्धित छ । स्वेदन अर्थात् शरीरबाट पसिना निकालेर विकार निकाल्ने प्रक्रिया यसमा पनि अङ्ग विशेषको स्वेदन र सर्बंङ्ग स्वेदन २ विधि छन् । कर्मलाई नित्य, नैमित्य, काम्य, निश्काम्य, संचित र निषिध्द गरी ६ वर्गिकरण पनि गरिएको छ । धार्मिक हिसावले कर्मयोग, ज्ञानयोग र भत्तियोग गरी वेदले ३ पथ वर्णन गरेको छ । गीतामा कर्मयोग, भत्तियोग, राजयोग र ज्ञानयोग वताइएको छ । कर्मकाण्यादि पुजा, जप, तप कर्मको फल जन्मजात मिल्ने र क्षणिक सुख र झण्झटै झण्झटको जन्म मरणको जंजाल चाहनु भन्दा मनुष्यले भक्ति सहितको कर्म गरे मात्र कर्मयोग हुन्छ भनेर गीतामा यसलाई तन जगमा मन हरिमा समर्पण गरिने कार्य कर्मयोग हुने नत्र कर्मकाण्डी हुने भनिएको छ । निष्काम भावले जसले कर्मयोगलाई भक्तियोगसंग मिलाएर कर्म गर्दछ, त्यो गृहस्त भए पनि सच्चा योगी हुन्छ । वास्तविक भगवान भक्त सन्तको वाह्य रुप अरु जस्तै इन्द्रिय चालित देखिए पनि उ मनले हरदम भगवानमा समर्पित हुन्छ । तर अरु व्यक्ति मन संसारिक क्षणिक विषय वस्तुमा र इन्द्रियले पुजा गर्दछ । ईश्वरलाई मनको समर्पण ग्राह छ । यं ब्रम्हा वरुणेन्द्र भन्ने श्लोक धेरैलाई कण्ठ छ तर अर्थमा ध्यान कमैले दिन्छन् । स्वयं ब्रम्हा, रुद्र, वरुण, ईन्द्रादि देवता जसलाई स्तुति गर्छन्, वेद, सांख्यका ऋचाहरुले जसको सधैँ गुणगान गर्छन्, ध्यानमा मग्न भएका योगिहरुलको मनले जसलाई देख्न सक्छन्, जसलाई देवता वा असुरहरु पनि देख्न सक्दैनन् । अर्थात् तिर्थ ब्रतको शारीरिक मार्चपास, हातले फूल, टिका, प्रसाद चढाउँदैमा, मन्त्र जप्दैमा, आँखाले मन्दिरका मूर्ति हेर्दैमा भगवान देखिदैनन् । त्यसैले भौतिकवादिले भगवान कसले देखेको छ ? भन्दछौ । भिष्म, कृपाचार्य र विदुर वाहेकले विराटरुप प्रककट हुँदा त देख्न सकेनन् भने सकाम इच्छाले गरिने पुजा पाठले मात्र भगवान के पाइएला र ? प्राप्त धन, पद, सम्पतिको लालच नगरी, आफ्ना नाता, निकटका लागि दुरुपयोग नगरि सर्बहीतमा उपयोग गर्ने नै सच्चा कर्मयोगि हुन सक्दछ । कर्मकाण्ड पुरा गरे भनि धर्म मान्नेको प्रभुत्वले गर्दा उच निच जाति पाति भेदभाव गरिएको हो । प्रकृति वा ईश्वरले सबै मानवलाई जीवन समान रुपमा दिएका छन् । दुष्कर्म जसले गर्छ ईश्वरको नजरमा त्यो पापी हो चाहे उच्च पदवाला वा जाति वा धनवान होस् ।

सबै धर्ममा सम्प्रदाय बनाइएका छन् । इस्लाम भित्र पनि सिया र सुन्नि । कोहि कट्टर कोहि लिवरल । इशाईमा पनि क्याथोलिक र प्रोटेस्टेन्ट । ताओ, सान्तो आदि चाइनिज क्षेत्रका धर्मका विषयमा त छेउ टुप्पो थाहा छैन् हामीलाई । जुन धर्म सम्प्रदाय, जात वा देशका भए पनि प्रकृतिका नजरमा सबै समान छन् । राज्यहरु र सभ्यताको विकास संगै संस्कृति र संस्कार भिन्न हुन गएका हुन् । प्रकृतिले मानिसमा भेदभाव गरेको भए त अन्तर देशीय, जाततिय,  धार्मिक सम्प्रदाय बीचका महिला, पुरुषका विबाहवाट बच्चा नजन्मनु पर्ने नि । नश्ल फरक पर्ला तर जीब त फरक पर्दैन नि । प्राईमिनष्टर, प्रधानमन्त्री, बजिरेआलम जे भने नि सरकार प्रमुख भनेर बुझे जस्तै ईश्वर, अल्लाह, जिसस तेरे नाम भनेर पारस्परिक सम्मान, सह अस्तित्व स्वीकार्नु प्रकृति प्रेमी हो । प्रकृति लोक हो । युनिभर्स हो । प्रकृतिलाई जैविक वातवरणमा मात्र संकुचित गर्नु उचित छैन । लोकमा कैयौ सौर्य मण्डल होलान्, त्यस भित्र अनगिन्ती चराचर प्राणी, वनस्पति होलान्, ति सबैको अस्तित्व स्वीकार गर्नु नै प्रकृतिको हिमायति हो र ईश्वर, अल्लाह, जिससको सच्चा पुजा प्रार्थना हो । आस्था, संस्कृति र संस्कार फरक भए पनि मानव बीचमा हुने भेदभाव परमेश्वरलाई किमार्थ सह्य नहोला । 
    नेपाल सनातन धर्म मान्ने हिन्दू समुदाय अत्यधिक बाहुल्य मुलुक हो । यहाँ अल्पसंख्यक मुस्लिम र बाहुल्य हिन्दूको संस्कृति पारस्पारिक छ । ईद, मोह्वरम, ताजिया, दसैं, तिहारमा एकले अर्काको पर्व मनाएर सांस्कृतिक सहिष्णुताको  प्रवर्धन गर्दै आएका छन्। छठ पर्वसंगै मनाउदछन् । यि दुबैलाई द्वन्द्व गराउन तेस्रो धारको दुष्शाहसबाट सचेत हुन जरुरी भइसकेको छ । संस्कृति धर्म भन्दा माथि छ । यो समुदायको बनोट र अवस्थिति अनुसार हुन्छ । तर संस्कार भने धर्म, सम्प्रदाय अनुसार फरक हुन्छ । गोरखा दरवारको पुजारी मगर छन् । बाहुनले मन्दिरको पेटीमा बसेर चण्डी पाठ गर्छन् । मगरले बाहुनलाई मन्दिरको टिका लगाइ दिन्छन् । अलि माथि रहेको भैरव मन्दिरमा मगरले सुगुरको वली दिन्छन् र बाहुनले मन्त्र पढ्द छन् । त्रेता युगमा बनबासी भएका रामकि भार्या रावणले हरण गरे । रावणसंग युद्व गर्नु पूर्व रामले विजय यज्ञ गर्न शिव भक्त भएको तर बैष्णव पुरोहित खोज्न जाम्वतलाइ आग्रह गरेछन् । राम पनि शिवका भक्त र बैष्णव थिए । शिव रामका भक्त थिए । कुलले पुलस्त ऋषिको सन्तान बैष्णव र शिव भक्त रावणलाई जाम्वतले रामको विजय यज्ञको पुरोहित वनिदिन आग्रह गरेर ल्याउने वचन दिए । जाम्ववत पुलस्तका साथि थिए । जाम्ववतको आग्रह रावणले सहजै स्वीकार गरे ।

वनमा पुजा सामाग्री नहोला पुजाका सबै सामाग्री पुरोहितले नै बन्दोवस्त गर्नु पर्ने भनि रावणले जुराएको पुजाको साइत सुनेर जाम्वत रामकहा फिर्ता भए । पत्नी पनि यज्ञमा संगै हुनु पर्ने नियम अनुसार रावणले रामको लंका विजय यज्ञमा तिमी पनि सहभागी हुनुपर्छ तर पुजा सकिए पछि जुन विमानमा लगिन्छ त्यसैमा फर्केर यहि बृक्षमा आउन पर्छ, तिमीलाई ईन्द्रजीतले लैजाने र ल्याउने प्रवन्ध गर्नेछ भनि सीतालाई सुनाई पुजा गराउन गएछन् । पुजा सकिए पछि पुरोहित रावणले राम र लक्ष्मणलाई विजयको आशिर्वाद दिई फर्कन लाग्दा रामले गुरु दक्षिणा के लिनुहुन्छ भनेर सोधेछन् । रावण भन्छन् हे राम त्रिलोक विजयी, स्वर्ग समेत कब्जा गर्ने सामर्थ, कुवेरलाई अधिनमा राखेको, शनिलाई पैताला मुनि र नवग्रहलाई खुट्टामा राखेको जसको तिमी राम जस्ता दश जनाको वुद्दि र एकै पटक दश विषय बुझ्न सक्दछ यस्तो दशानन लंकेशलाई के को दक्षिणा चाहियो । तर पनि तिमी जजमानको यज्ञ पुरा गर्न दक्षिणा लिनै पर्यो । मेरो प्राणको अन्तिम समयमा तिमीहरु सामुन्नेमा हुनु, त्यही दक्षिणा भयो भनि लंका फर्के छन् । युद्धमा रावण मारिए, राम विजयी भए । परम सुन्दरी पञ्च कण्याको रुपमा पुजित रावण पत्नी मन्दोधरी विलापबाट उठेर रावण वध गर्ने शक्तिशालीलाई एक पटक हेर्ने इच्छाले रामको नजिक गइछन् । युद्वमा मारिएका जीव सम्झेर राम चिन्तित बनेर बसेको ठाउँमा अचानक एक परस्त्रीको छाया देख्ने बित्तिकै उठेर प्रणाम गरेछन् । पिरमा होलिन् भनेर रामले रावण वध गर्नु परेको कारण सुनाउन खोज्दा मन्दोधरीले भनिछन्, हे राम तिमी किन विजयी भयौ, मैले बुझिसके । तिमी एउटी परस्त्रीको परछाँया महशुस गर्ने वित्तिकै मर्यादित भयौ, मेरा पति रावणले म जस्ती सुन्दर पत्नी हुँदा हुँदै सीता माताको हरण गरे, तिमीले मनुष्यताको शासन गर्यौ, रावणले मनुष्य र देव माथि शासन गरे । त्यसैले तिमी विजयी भयौ । तिमी मर्यादा पुरुषोत्तम रहेछौ । विराट रुपदर्शन सहन गर्न नसकेर ढलेका कौरब कृष्णको शान्ति सन्देश नमानेर निमिट्याण्य भए, रावण रामको विजयी यज्ञको पुरोहित बने । हामी भने यि र यस्तै उपदेशात्मक उदाहरणलाई कथा सम्झेर रमाउछौ । सत्ता, पद, धन र नाता पक्ष पोषणमै र गुम्दा शोकमा रन्थनिन्छौ । रामायण, महाभारतमा प्रकृतिले वा ईश्वरले दिएका दृष्टान्तको सहि अर्थ बुझ्न सक्यौ भने पो सुसंस्कृत्य र सुसंस्कारी भइएला, जीवनको सार्थकता होला ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update